तानसेन नगरपालिकामा छोरी शिक्षा कार्यक्रम, विद्यालय जाने छात्रालाई वार्षिक १० हजार

पाल्पा । छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा छोरीको उज्ज्वल भविष्यका लागि ठूलो आशा पलाएको छ । छात्राले कक्षा छाड्ने तथा दोहोर्याउने समस्या बढ्दै गएपछि नगरपालिकाले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति कार्यक्रम ल्याएको हो । यस कार्यक्रमअन्तर्गत विद्यालय जाने छात्राले वार्षिक १० हजार सुविधा पाउने भएका छन् । नगरभित्रका दलित, जनजाति तथा जेहेन्दार छात्राको सिकाइ प्रभावकारी बनाउने र कक्षा ८ देखि १० सम्मको अध्ययन पूरा गराउने योजनाका साथ यो कार्यक्रम ल्याएको नगर शिक्षा शाखाका प्रमुख रेशमलाल न्यौपानले बताए । उच्च शिक्षा हासिल गराउने, छात्राको अध्ययनलाई सीपमूलक, प्राविधिउन्मुख बनाउने, नेतृत्व क्षमता विकास गरी सार्वजनिक रोजगारीका क्षेत्रमा पहुँच बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको उनको भनाइ छ । छोरीलाई शिक्षा, सुरक्षा र सशक्तीकरण प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रमुख न्यौपानेको भनाइ छ । उनले छोरीको शिक्षामा पहुँच बढाई उज्ज्वल भविष्य बनाउन, क्षमता अभिवृद्धि गर्न र उनीहरूको सुरक्षित भविष्यका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताए । छोरीलाई पढाएर मात्रै सुरक्षित बनाउन सकिने उल्लेख गर्दै उनले यस कार्यक्रममार्फत राज्य आम नागरिकसम्म पुगेको बताए । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउने योजनामा नगरपालिका रहेको प्रमुख न्यौपानेको भनाइ छ । प्रत्येक वडाबाट दलित दुई जना, जनजाति एक जना र अन्य दुई जना गरी पाँच जनाले छोरी शिक्षा कार्यक्रममा सहभागी हुन पाउने छन् । नगरपालिकाभित्र १४ वडाबाट कूल ७० छात्राले यो कार्यक्रमको सुविधा पाउने छन् । यो कार्यक्रम ल्याइसकेपछि नगरपालिकामा गरिब, पिछडिएका र दलित समुदायका घरपरिवार सबैभन्दा बढी खुसी भएका छन् । यस कार्यक्रमले छोरीमाथि हुने विभेद्मा पनि कमी ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । दलित अधिकारकर्मी तथा जनप्रिय माविका शिक्षक तीर्थप्रसाद गौतमले यस कार्यक्रमले विपन्न परिवारका छोरीलाई पढाउनका लागि ठूलो सहयोग पुग्ने बताउँदै यो कार्यक्रमले आर्थिक अभावका कारण विपन्न तथा जेहेन्दार छात्रालाई विद्यालय शिक्षा बीचमा नै रोक्नुपर्ने बाध्यता अब हटेको छ भने । गरिबीका कारण सामाजिक तथा स्वास्थ्यकै कारण पनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था छ । तानसेन नगरपालिकाभित्रकै ग्रामीण क्षेत्रमा किशोरी अध्ययन छाडेर बालविवाह गर्दा विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ । यता रिब्दीकोट गाउँपालिकाले दलित छात्राका लागि प्राविधिक शिक्षामा आकर्षण बढाउन ल्याएको छात्रवृत्ति कार्यक्रम प्रभावकारी हुन सकेको छैन् । फलस्वरुप यहाँका दलित बालबालिका विद्यालय अध्ययनबाट बाहिरै रहेका छन् । छोरा र छोरीमा विभेद नहोस्, छोरीले पनि छोरा समान पढ्न लेख्न पाउन् भन्ने उद्देश्यले सो गाउँपालिकाले आफ्नै स्रोतमा छोरी छात्रवृत्ति कार्यक्रम ल्याएको बताइएको छ । छोरीलाई पढाइमा सहयोग पु¥याउन छात्रवृत्ति कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । रासस

मेलम्ची नगरपालिकाकाे ३४ घर पहिराको जोखिममा

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूवर्गविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए । रासस

दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावप्रति एमाले र राप्रपा असहमत

दमक । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् । राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए । राप्रपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटकपटक बेवास्तासमेत गरिएको तर अहिले आएर फेरि उपमहानगरपालिका बनाउने प्रस्ताव कसरी आयो ?’ यसैगरी एमालेले पनि कमललाई एकतर्फी रुपमा दमकमा समावेश गरीे उपमहानगरपालिका बनाउने प्रस्तावप्रति आपत्ति जनाएको छ । नगरपालिकाले सहअस्तित्वमा रहेको स्थानीय सरकार र पार्टीलाईसमेत थाहै नदिइ गरेको निर्णयप्रति दुःख व्यक्त गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीका गाउँ कमिटी अध्यक्ष भीमप्रसाद राई र सचिवहरि ढकालले संयुक्त विज्ञप्ति जारी गरी भनिएको छ, ‘दीर्घकालीन महत्वका विषयमा निर्णय लिन जाँदा समान र सहअस्तित्वको नीतिअङिकार गर्न आग्रह गर्दछौ ।’ नगरपालिकाले गत साउन २८ गते सम्पन्न ९६आँै बैठकबाट उक्त गाउँपालिका र नगरपालिकालाई समावेश गरी उपमहानगरपालिका बनाउने निर्णय गरेको थियो । त्यस निर्णयलाई थप कारवाहकीका लागि नगरपालिकाले सङ्घीय मन्त्रालयमा पत्रचारसमेत गरिसकेको जनाएको छ । रासस