ललितपुर महानगरले भोलि बजेट ल्याउने, साढे ५ अर्बको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबार (असार ३१ ) गते आगामी आर्थिक वर्ष २०७८/७९ बजेट ल्याउने भएको छ । यसअघि विवादका कारण रोकिएको बजेट महानगरले भोलि १० बजे ल्याउन लागेको हो । महानगरका प्रवक्ता राजु महर्जनले बिहीबार बिहान १० बजेबाट बजेट सार्वजनिक गर्ने बताए । उनका अनुसार महानगरले आगामी ५ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी भएको छ । कानुन अनुसार सबै स्थानीय तहले असार १० गतेभित्रमा बजेट सार्वजनिक गर्नै पर्छ । तर, महानगरको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेका कारण भोली बजेट ल्याउन लागेको हो । यसअघि नगरसभामा रहेका ९२ सदस्यहरूमध्ये ६६ जनाले महानगरको सभा बहिस्कार गरेका थिए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दियाे २ वर्षसम्मका बालबालिकालाई प्रोत्साहन भत्ता

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले २ वर्षमुनिका बालबालिकालाई १ हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरेको छ । गाउँपालिकाले शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत २ वर्ष मुनिका ४ सय ९१ बालबच्चालाई प्रोत्साहन भत्ता वितरण गरेको हो । बच्चा गर्भमा छँदा आमाले ४ पटक गर्भजाँच गरेको, जन्मिसकेपछि बालबच्चाले सबै खोपको मात्रा पूरा गरेको, नियमित स्वास्थ्य जाँच गराएको, जन्मदर्ता गराएको लगायत मापदण्ड पूरा गरेको आधारमा शिशु पोषण प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले भत्ता वितरण गरेको छ । गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई, सम्बन्धित वडाका स्वास्थ्यचौकी इन्चार्ज लगायतले बालबालिकाका अभिभावकलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । नियमित स्वास्थ्य जाँच गराएको उल्लेख गरेर स्वास्थ्य संस्थाले उपलब्ध गराएको प्रमाणका आधारमा गाउँपालिकाले २०७५ १३ वैशाख देखि प्रोत्साहन भत्ता वितरण सुरु गरेको हो । गाउँपालिकाले शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत रकम वितरण गर्न थालेपछि गर्भवती आमाले नियमित गर्भजाँच गराउन थालेको, जन्मिसकेका बालबच्चालाई पनि नियमित स्वास्थ्यजाँच तथा नियमित खोप लगाउने संख्यामा सुधार आएको छ ।

चितवनकाे खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख लालमणि चौधरीले बताए । हावाहुरी, असिनापानीका कारण प्रत्येक वर्षजसो क्षति बेहोर्दै आएका यहाँका किसानलाई राहतस्वरूप बीमा कार्यक्रम लागू गरिएको हो । प्रकृतिलाई कसैले रोक्न नसक्ने भन्दै प्रमुख चौधरीले भने, ‘आफ्नो बालीको बीमा गरे, त्यस्ता घटनाबाट हुने क्षतिमा राहत मिल्छ ।’ बीमाले जोखिमबाट किसान मुक्त हुने नगरप्रमुख चौधरीको विश्वास छ । दुई वर्षअघि असिनापानी र हावाहुरीका कारण सयौँ किसानको बालीमा क्षति पुगेपछि नगरपालिकाले मूल्याङ्कन गरेर राहत उपलब्ध गराएको थियो । बीमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ किसानले प्रिमियम रकम पाएका छन् । प्रिमियम रकम प्रदान गरेको थाहा पाएपछि थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन् । बाह्र किसानलाई बीमा गरेवापत रु ४५ हजार उपलब्ध गराइएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार तरकारी, फलफूल, खाद्यान्न आदि बालीमा बीमा गर्दा सङ्घीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकामा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा पनि अनुदान दिएर किसानले निःशुल्क बीमा गर्न सक्ने व्यवस्था मिलाएको हो । चालु आवमा प्रिमियम अनुदानमा चार लाख विनियोजन गरिएको थियो । सो बजेट आगामी आवका लागि वृद्धि गरी १० लाख यस कार्यक्रमलाई छुट्याइएको कृषि शाखा प्रमुख अर्यालले बताए । विभिन्न कारणबाट बालीमा हुने क्षति असरलाई न्यूनीकरण गर्ने तथा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने नगरपालिकाको योजना रहेको उनले जानकारी दिए ।