कीर्तिपुरमा मास्क बिना प्रवेश निषेध अभियान सुरु

काठमाडाैं । कीर्तिपुर नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने भएपछि कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो । आईतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोनाको संकटबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन जनचेतना जगाउनका लागि सो अभियान संचालनमा ल्याइएको बताए । त्यसका लागि मास्क उपलब्ध गराउन नगरपालिकाले ‘मास्क बैंक’को पनि स्थापना गरेकाे छ । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि मेयर महर्जनले जानकारी दिए । ‘कीतिपुरको हकमा मास्कको सुनिश्चितता शुभारम्भ गरेका छौं । यसलाई निरन्तरता दिँदै हामीले यहाँका विभिन्न सार्वजनिक स्थलहरुमा, कार्यस्थलहरुमा ‘मास्कविना प्रवेश निषेध’ भन्ने अभियानको प्रारम्भ गरेका छौं,’ उनले भने कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौं कीपूलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

चक्रपथमा स्मार्ट सडक बत्ती राख्दैछौंः उपमेयर सत्याल

ललितपुर महानगरपालिकाको उपप्रमुख हुन् गीता सत्याल । उनी उपप्रमुखको रुपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बीचमा उनले शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको बताएकी छन् । उपप्रमुख सत्यालसँग महानगरले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा केन्द्रीत रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन्ः चालु आर्थिक वर्षको बजेट ल्याइसक्नु भएको छ, यस पटकको बजेटमा मुख्य प्राथमिकता के-कस्ता छन् ? यस वर्षको बजेट असारको ३१ गते नगरसभाबाट पारित गर्यौं । ५ अर्ब ५५ करोड ५५ लाख ९५ हजार रुपैयाँ यस वर्षको बजेट छ । त्यसमा विशेषगरी टोल र वडाबाट आएका योजना र कार्यक्रमलाई नै प्राथमिकिकरण गरेर बजेट छुट्याउने काम गरेका छौं । तर, यस वर्ष जुन कुरा मैले व्यक्त गरेकी थिएँ, त्यो अनुरूप टोल भेला गर्न सकिएन । उक्त भेला गर्न नसकेको कारणले गर्दा वडाध्यक्षरूले आफ्नो वडामा जे जस्तो आवश्यकता महसुस गरेर योजना र कार्यक्रमहरु अघि सार्नुभएको छ, हामीले त्यसलाई नै मध्यनजर गरी बजेट विनियोजन गरेका छौं । बजेटमा नयाँ कार्यक्रमहरू कुनै समावेश गर्नु भएको छ ? विकास निर्माणको काम त यथावत रहिहाल्यो । अहिले जनताले देख्न सक्ने काम भनेको हामीले चक्रपथमा स्मार्ट स्ट्रिटलाइट जडान गर्दै छौं । जसका लागि यस वर्ष बजेट समेत विनियोजन भइसकेको छ । अर्काे नयाँ कार्यक्रम लगन खेलको राजदल व्यारेकमा रहेको पोखरीलाई महानगरपालिकाले व्यवस्थित गरी सर्वसाधारणको लागि पनि खुल्ला गर्न बजेट विनियोजन गरेका छौं । यी २ वटा कार्यक्रम जनताले हेर्दा देखिने र जनतालाई प्रत्यक्ष प्रभाव पार्ने कुरा भयो । स्मार्ट स्ट्रिट लाइट नहुँदा चक्रपथमा बेलुकाको समयमा धेरै घटनाहरू हुने गरेका छन् । उक्त ठाउँमा बत्ति जडान भयो भने अकालमा मृत्यु हुनु पर्दैन थियो भन्ने आधारमा पनि यसमा बजेट छुट्याएका छौं । बत्ति जडानको लागि ललितपुर महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत बजेटमा हामीले अहिले काम गर्दै छौं । चक्रपथमा बत्ति जडानको लागि महानगरको ६० प्रतिशतमा सडक डिभिजनले हामीलाई ३ करोड रुपैयाँ विनियोजन गरिदिएको छ । गत आर्थिक वर्षमा बजेटको कार्यान्वयन तथा खर्चको अवस्था कस्तो रह्यो ? हामीले जति रकमहरू विनियोजन गर्ने गरेका थियौं, गत वर्ष त्यसमा धेरै बजेट थिएन । महानगरले गत आर्थिक वर्षमा ४ अर्ब ४९ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । गत वर्षदेखिनै कोभिड पनि आयो । कोभिडको कारणले उठ्नु पर्ने राजश्व उठ्दैन कि भनेर हामीले आन्तरिक स्रोतबाट पनि १ अर्ब ३३ करोड रुपैयाँ राखेका थियौं । नेपाल सरकारबाट आउने बजेट पनि कम आयो र कम बजेट भएको कारणले नै त्यो अनुरूप सबै काम गर्न सकेनौं । कतिपय योजनाहरू वहुवर्षीय योजनामा पनि गएका छन् । वहुवर्षीय योजनामा भौतिक पूर्वाधार, संरचना निर्माण, वडा भवन बनाउने कुरामा बजेट विनियोजन गर्नुपर्ने हुन्छ । हामीले जति बजेट विनियोजन गरेका थियौं, त्यो अनुरुप काम भएको छ । एक दुई ओटा योजनाहरूका बजेट फ्रिज भएर पनि गएका छन् । सम्झौता गर्न नपाएर, कोभिडका कारणको समस्या आइसकेपछि थेरै रकमहरू फ्रिज भएको छ । तर, धेरै मात्रामा रकमहरू फ्रिज भएर गएको अवस्था छैन । ललितपुर महानगरपालिकालाई व्यवस्थित सहरका रूपमा विकास गर्ने के–कस्ता योजना छन् ? हामी महानगरपालिकालाई कसरी व्यवस्थित सहर बनाउन सकिन्छ भन्नेतर्फ लागेकै छौं । ललितपुर महानगरपालिका कला सांस्कृतिकको धनी सहर हो । यस सहरलाई प्राचीनकालदेखि हालसम्म विभिन्न नामले चिनिँदै आएको छ । ललितपुर महानगरका भौतिक सम्पदाको प्राचीनता बारे मल्लकालको पूर्वार्धमा बनेका सम्पदाहरू हालसम्म पनि जीवित नै छन् । ललितकलाले भरिपूर्ण सहर र यहाँ कष्टकला, ताम्राकला लगायतका धेरै कलाकारहरू पनि हुनुहुन्छ । यस्तो सहरलाई व्यवस्थित गर्नको लागि यहाँ भएका जति संरचनाहरू छन्, ती संरचनाहरूलाई बिगार्न हुँदैन । जहाँ अहिले नयाँ बस्ती बस्तै, छ त्यस ठाउँलाई कसरी व्यवस्थापन गर्ने र सबै कुराको व्यवस्थापन गरी वस्ती बसाल्ने भन्ने मात्र कुरा छ । हिजोको पाटन सहरलाई हामीले बाटो फराकिलो गरेर, यहाँका संस्कृति सम्पदालाई बिगार्न सक्दैनौं । त्यसलाई यथावत राखेर त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यतातिर जानु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । ललितपुर महानगरपालिकाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ? गत वर्ष नै मेट्रिक ठेगानाका सम्पूर्ण काम सकेका छौं । एक दुई वडाहरूमा विवाद भएको कारणले कामहरू रोकिएको छ । सम्भवत कोभिड नभएको भए सबै घर नम्बर र महानगरभित्रका टोलहरूको नामकरण गर्ने काम सकिसकेका हुन्थ्यौं । कोभिडले नै गर्दा यो काममा पनि असर पुर्याइरहेको छ । मलाई लाग्छ, यो काम हाल पनि सुचारूपले सञ्चालन भइरहेको छ । केही समय पश्चात पूर्णरूपले महानगरपालिकालाई मेट्रिक प्रणालीबाट घर नम्बर दिन सक्छौं । यो काम भइसकेको छ तर, पूर्ण रूपमा बाहिर नआएको मात्र हो । यो काम हरेका वडामा भइरहेको छ । घर वाहल करलाई वैज्ञानिक विधि लागू गर्ने, घटाउने सम्बन्धी केही योजना छ ? घर वाहल करलाई नेपाल सरकारले १२ प्रतिशत लिइरहेको थियो । हामी आएपछि घर वाहल करलाई २ प्रतिशतले घटाएर १० प्रतिशतमा पुर्याएका थियौं । हामीले उक्त करलाई नेपाल सरकारले तोकिदिएको नियम नै लागू गरेका छौं । घर वाहल करको बारेमा कुरा गर्दा मैले मेरो घरको भाडा तिरेको छ कि छैन, भन्ने कुराको आफैले घोषणा गर्ने र मैले यदि सटर लिएर राखेको छु भने सटरको मूल्य अनुसार आफैले घोषणा गरेर कर तिर्ने वातावरणको सिर्जना गरेका छौं । कोरोना महामारी छ, कोरोना रोकथाम गर्न ललितपुर महानगरले गरेको प्रयास के हुन् ? कोभिडको प्रभाव परेसँगै २०७६ चैत ११ गतेबाट लकडाउनको सुरु भयो । लकडाउन सुरु भएपछि हामीले एन्फाको भवनमा क्वारेन्टिनको व्यवस्थापन गर्यौं । त्यसको केही समयपछि कोभिडको संक्रमण घट्दै गयो र कोभिड पनि हट्यो भनेर हामी पनि मौन भएर बस्यौं । फेरि दोस्रो भेरियन्टको देखापर्याे । दोस्रो भेरियन्ट देखापरिसकेपछि यसको व्यवस्थापन गर्न केही समस्या पनि भयो । हामीले पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि एक करोड रुपैयाँ बजेट दिएका छौं । पहिलो कोभिडमा जति समस्या आयो, त्यस्तो समस्या दोस्रो लहरमा नहोस् भनेर हामीले पाटन अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री पनि दिएका छौं । दोस्रो लहर आइसकेपछि महानगरपालिकाले २ वटा आइसोलेसन सेन्टरको पनि स्थापना गरेको छ । हामीले यूथ फाउन्डेसन नेपालसँग मिलेर वडा नं. २६ मा आइसोलेसनको पनि स्थापना गरेका छौं । अर्काे, हामीले बागडोलस्थित ज्यापु समाजको भवनमा सुन्दर ढोका साथी सेवा संस्थासँग मिलेर उक्त ठाउँमा आइसोलेसन सञ्चालन गरिरहेका छौं । यूथ फाउन्डेसन र ज्यापु समाजको भवनमा अक्सिजन सहितको आइसोलेसन सेन्टर, स्वास्थ्यकर्मी, डाक्टर सहितको दरबन्दी पनि तयार पारेका छौं । अहिले पनि धेरै बिरामीहरू महानगरपालिकाले बनाएको आइसोलेसनमा बस्नु भएको छ । उँहाहरू यहाँबाट कोभिड जितेर जाँदा प्रशंसा नै गरेर जानु भएको छ । कोभिड रोकथाम र नियन्त्रणको लागि हाल पनि महानगरको प्रयास जारी छ । जनचेतनाका कार्यक्रमहरू पनि गर्दै आएका छौं । हामीले गत वर्ष र यस वर्ष पनि कोभिड कोषको स्थापना गरी बजेट विनियोजन गरेका छौं । हामीले गत वर्ष १९ करोड रुपैयाँको कोभिड कोष स्थापना गरेका थियौं भने यस वर्ष पनि उक्त कोषमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं । यसै कोष मार्फत सम्पूर्ण खर्चहरू गर्ने निर्णय गरियो र यही रकमबाट नै महामारी नियन्त्रण गर्नमा खर्च गर्दै आएका पनि छौं । स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ बाट संक्रमित भई उपचारको क्रममा निधन भएमा, आइसियु तथा भेन्टिलेटरमा उपचार गरेर निको भएका बिरामीहरूको लागि सहयोग प्रदान गर्ने भएका छौं । जस्तो कि कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख २० हजार रुपैयाँ सहयोग प्रदान गर्ने, आइसियु तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई ६० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकाहरूलाई ३० हजार रुपैयाँ प्रदान गरिने भएको छ । यस सम्बन्धि हाम्रो निर्देशिका पनि आइसकेको छ भने धमाधम निवेदन संकलन गरिसकेको अवस्था छ । हरेक वडामा गएर उनीहरूको परिवारलाई रकम वितरण गर्छौं । कोरोना रोकथाम गर्न ललितपुर महानगरले हालसम्म कत्ति खर्च गर्यौ ? गत वर्ष पनि महानगरले जीटुजी कार्यक्रम गरेका हुँदा त्यति धेरै बजेट खर्च भएको थिएन । अहिले हामीले २ ओटा आइसोलेसन चलाउँदै गर्दा एक करोड रुपैयाँ पनि बजेट खर्च गरेका छैनौं । किन भने यूथ फाउन्डेसन र सुन्दर ढोका साथी संस्थाले खानाको व्यवस्थापन गरिरहेको छ । जहाँ हामीले आइसोलेसन सेन्टर खोलेका छौं, त्यहाँ हामीले रकम तिर्नु पर्दैन । त्यसैले पनि कम रकम खर्च भएको छ । महानगरपालिकालाई विभिन्न संघ संस्थाबाट निःशुल्क स्वास्थ्य सामग्री सहयोग मिलेको कारणले पनि धेरै बजेट खर्च गर्नुपर्ने अवस्था रहेको छैन । केही मात्रामा महानगरले पनि स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । हामीले आइसोलेसन सेन्टरमा स्टोर बनाएका छौं । उक्त स्टारमा जिन्सी दाखिला गरेर मात्र दिने भएर हाम्रो महानगरपालिकालाई व्यय भार त्यति धेरै परेको छैन । ललितपुरमा कति प्रतिशत जनसंख्याले खोप लगाए ? मलाई लाग्छ हिजोसम्म पनि महानगरभित्र खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भदौ १३ गतेको तथ्याङ्क अनुसार महानगरमा ८५ हजार नागरिकलाई खोप लगाइसकेका छन् । अब न्यायिक क्षेत्रको प्रसंग जोडौं, न्यायिक क्षेत्रमा कस्तो काम गर्नुभएको छ ? न्यायिक क्षेत्रमा हामीले धेरै काम गर्दै आएका छौं । न्याय दिने भनेको आफैंमा चुनौतीपूर्ण काम पनि हो । घर–जग्गा, सम्बन्ध विच्छेद, लालनपालन, लेनदेन, घरायसी झै–झगडा, घरबहाल, सीमा विवाद लगायतका मुद्दा आउने गरेका छन् । महानगरमा आएका विभिन्न प्रकृतिका मुद्दाको प्रतिवेदन नगरसभामा दिन्छौं । अब न्यायिक समितिमा दर्ता भएका मुद्दाहरू ७० वटा छन् । हाम्रो कार्यअवधि लगभग अब ६ देखि ७ महिना मात्र हो । यो अवधिभित्र हिजोको दिनसम्म आएका ७० ओटा मुद्दा फछ्र्योट गर्नुपर्ने अवस्था छ । अघि नै भनिहाल्नु भयो, न्याय दिने भनेको आफैंमा चुनौतीपूर्ण काम हो, कत्तिको अप्ठ्याराहरू आउने गर्दछन् ? यो क्षेत्रमा काम गर्दा समस्याहरू धेरै आउँछन् । किनभने हामी इजलासमा बसिराखेको हुन्छौं, बादी प्रतिबादि त्यही झगडा गरी दिनु हुन्छ । हामी जनप्रतिनिधिहरू राजनैतिक पृष्ठभूमिबाट आएको हुनाले दलीय रूपमा फैसला हुन्छ कि भन्ने पनि गुनासोहरू आउने गर्दछन् । तर, हामीले न्यायिक मनले न्याय दिने हो भने पिडक र पीडितलाई हामी छुट्याउछौं । उनीहरूले आफ्ना कुरा राख्दा पनि पिडक र पीडित को हो भन्ने कुरा हामीलाई त्यति बेलै केही न केही ज्ञान भइसकेको हुन्छ । त्यसबाट नै कस्तो खाल्को निर्णय दिने भन्ने कुरा तयार पारिसकेका हुन्छौं । हामीले गरेको न्याय सम्पादन वास्तविक पीडितको न्याय हुनुपर्छ भनेर मैले काम गरेको छु । समग्र पीडितले न्याय पाउनु पर्याै, दोषिलाई सजाय हुने तरिकाले न्यायिक प्रणालीमा काम गरी रहेका छौं । ललितपुर महानगरका चुनौती के हुन् ? काम गर्दा चुनौती भएन भने अगाडि बढ्न सकिँदैन । चुनौती नै संघर्ष र विकासको एउटा पाइला हो । चुनौती भएन भने अगाडि बढ्नै सकिँदैन । चुनौती आयो भनेर विकराल रूप लिने पनि होइन । यहाँ चुनौतीहरु धेरै छन् । यो भनेको जनप्रतिनिधिमूलक संस्था भएकाले यहाँ, राजनैतिक विषय जस्ता अन्य विषय पनि आउन सक्छन् । चुनौती आयो भनेर दबाउने होइन, कसरी यसलाई समाधान गर्ने र सरलीकृत तरीकाले अगाडि बढ्ने हो । प्रदेश र संघ सरकारसँग के–कस्तो समन्वय भइरहेको छ ? संघ सरकारसँग केही सहकार्य भए पनि प्रदेशसँग त्यति समन्वय भएको मैले अहिलेसम्म पाएको छैन । तीन तहको सरकार छ । यो तीन तहको सरकार पनि आ–आफ्नै तरिकाले चलिरहेका छन् । त्यस कारणले पनि यो खालको समस्या आएको होला । अहिले पनि संघीयताको पूर्ण रूपले परिपालन नगरेर पनि यस्तो समस्या आएको होला । आगामी योजना के कस्ता छन् ? हामीले हिजो जनतासामु बोलेका कुरा पुरा गर्नु नै हाम्रो पहिलो योजना हो । तत्कालै देखिएका जनताका समस्याहरू समाधान गर्ने योजना पनि छ । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नि ? चुनाबी वाचा त लगभग पूरा गरिसकेका छौं । केही पूरा गर्न पनि बाँकी पनि छन् । पूरा गर्न बाँकी भएका कुराहरूको सम्भाव्यता अध्ययन भइसकेको छ । तर, सबै बोलेका कुरा पुरा गर्न सकिँदैन । हामीले सबै वडामा सडक कालोपत्रे गर्छौं भनेका थियौं तर, बजेटको अभावले त्यो सबै काम पूरा गर्न सकेका छैनौं । बलेका कुराहरू केही न केही मात्रमा पुरा भएका छन् ।

बैतडीकाे गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सुरु

बैतडी । बैतडी र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ । बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा आएको हो । सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरेर गोकुलेश्वर क्षेत्रमै पहिलोपटक कुमारी बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक निरज खरेलले जानकारी दिए । विगतमा डिलासैनी गाउँपालिका–५ हरिनगरमा रहेको कुमारी बैंक पछिल्लो समय वडा नं ६ चमेलिया मोटरेबल पुल नजिक सारिएको छ । सोही स्थानबाट एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकको सेवालाई ध्यानमा राखेर शाखा सारिएको र एटिएम सञ्चालन गरिएको हो । एटिएम सेवा सञ्चालनमा आएपछि बैंकमा चेक लगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताए । बनाएको एटिम कार्ड पनि प्रयोगविहीन भएको थियो । उनले भने, ‘अब एटिएम कार्ड पनि प्रयोगमा आयो, लाइन लाग्नुपर्ने बाध्यता पनि हट्यो, खुसी छौँ ।’