बिरुवाका हाँगा भाँचे हजार, जथाभावी कार रोके १० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरले जथाभावी सवारी साधन रोक्नेदेखि बिरुवाका हाँगा भाच्नेलाई कारवाही स्वरुप जरिवाना गर्ने भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०७८ जारी गर्दै कारवाही गर्ने भएको हो । महानगरले आर्थिक वर्ष २०७८/०७९ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनको लागि स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आयय संकलनको प्रशासनिक व्यवस्था गर्न उक्त ऐन जारी गरेको हो । उक्त ऐन साउन १ गतेदेखि लागु भइसकेको छ । उक्त ऐन अनुसार महानगरले अनाधिकृत स्थलमा सवारी साधन पार्किङ गरेको पाइएमा मोटरसाइकललाई १ हजार र तीन पाङग्रे सवारी साधनलाई २ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । यस्तै, १ हजार सीसीसम्मको सवारी साधनको २ हजार ५ सय, १ हजार सीसीदेखि १५०० सीसीसम्मका लागि ५ हजार, १५०० देखि २२०० सीसीसम्मका साधनका लागि ७ हजार र २२०० सीसीभन्दा माथिका सबै सवारी साधनलाई १० हजार जरिवाना गर्ने भएको छ । महानगरले रुख बिरुवाको हाँगा भाँच्ने वा काट्ने तथा फुल टिप्ने वा पात चुँड्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने भएको हो । सार्वजनिक सवारी साधन बिसौनी बाहेकका स्थानबाट यात्रु ओराल्ने वा चढाउने गरेमा र चालक तथा सहचालकले तोकिएको पोसाक नलगाएमा १००/१०० रुपैयाँ जरिवाना गर्नेछ । पिक एण्ड ड्रप पद्धति लागु भएका स्थानमा तोकिएको बाहेक सवारी साधनले यात्रु ओराल्ने वा चढाउने गरेमा ४ सय रुपैयाँ जरिवाना लिने उल्लेख गरिएको छ ।
नमोबुद्ध नगरपालिकामा ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने, ‘आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।” उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए । नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो । नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।’ नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ । रासस
गल्याङ नगरपालिकद्वारा किसानलाई १९ लाख अनुदान वितरण
स्याङ्जा । गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई १९ लाख ५७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको । नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ । ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर १५ का दरले ११ लाख ८६ हजार ५७५ वितरण गरिएको छ भने गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना किसानलाई जनही ७२ हजारका दरले सात लाख १४ हजार वितरण गरिएको छ । नगरप्रमुख भुपराज अधिकारीले नगरभित्रका किसान आत्मनिर्भर बन्दै गएको बताए । नगप्रमुख अधिकारीले भने, ‘नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेशाप्रति आकर्षित गरेको छ ।’ यसबाट किसान आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ । नगरप्रमुख अधिकारीले अनुदानको व्यवस्थाले किसान धेरै उत्साहित भएकोले पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत् राख्ने समेत बताए । कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्धन गर्ने कार्यमा किसान उत्साहित भएर लागेकोले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । किसान टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले जानकारी दिए । अर्यालका अनुसार रानाले प्रतिलिटर १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ पाएका छन् । यसैगरी रानाले गाई पकेटलागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरेबापत ४२ हजार अनुदान समेत प्राप्त गरेका छन् । नगरपालिकाको यो कार्यक्रमले कृषिमा लाग्ने किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुगेको छ । रासस