मेलम्ची नगरपालिकाका सम्पूर्ण शिक्षकलाई ल्यापटप वितरण
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक जनक अधिकारीले जानकारी दिए । शुक्रबार एक कार्यक्रमबीच ९ नम्बर वडाका वडाध्यक्ष कमलबहादुर खड्काले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् । प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी एक वर्षभित्र प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक अधिकारीले बताए । रासस
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषकले पाए हाते ट्याक्टर
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित गाउँपालिकाले किसानलाई हातेट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाले कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा १६ वटा हातेट्याक्टर वितरण गरेको हो । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित गाउँपालिकाले किसानलाई हातेट्याक्टर वितरण गरेको छ । गाउँमा परम्परागत खेती गर्दै आएका किसानलाई आधुनिक खेती प्रणालीतिर आकर्षित गर्न किसानलाई मिनी ट्रिलर (हातेट्र्याक्टर) वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी सुदर्शन पौडेलले जनाए । कृषकलाई ट्याक्टर वितरण गरेपछि किसान खेतीतर्फ उत्साहित भएका उनको भनाई छ । पौडेलका अनुसार गाउँपालिकाले निवेदन संकलन गरेको र त्यही निवेदनको आधारमा १६ जना कृषकलाई पालिकाले ट्याक्टर वितरण गरेको छ । प्रतिट्याक्टर १ लाख १५ हजार रुपैयाँ पर्ने उक्त ट्याक्टरमा कृषकले ५० प्रतिशत साझेदारी गरेका छन् । गाउँपालिकाले गत वर्ष पनि कृषकहरूलाई हाते ट्र्याक्टर वितरण गरेको पनि पौडेलले जनाए । जमिन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित छन् । कृषिको विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाले कृषि व्यवसायलाई समयानुकूल परिवर्तन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउने याेजना बताएकाे छ । साथै, रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धि गर्ने गाउँपालिकाकाे योजना छ । कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यवसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ ।
बर्दिवास नगरपालिकाद्वारा विद्यार्थीलाई साइकल वितरण
काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले पुञ्चधुरा माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरेको छ । नगरपालिकाले वडा नं. ५ मा रहेको पुञ्चधुरा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । नगरपालिकाले प्रदेशको सहयोगमा विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशका सांसद शारदा देवी थापाको उपस्थितिमा कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण भएको हो । विद्यालय जान आउन सहज होस् भन्दै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको नगरले जनाएको छ । नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै साइकल वितरण गरेको वडा नं. ५ का वडाध्यक्षले बताए । साइकल वितरण कार्यक्रममा बोल्दै सांसद थापाले गुणस्तरीय शिक्षाका साथै छोरीहरूको मनोवल बढाउन साइकल वितरणले बुलो सहयोग मिल्ने बताइन् । उनका अनुसार शिक्षा स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान पनि ल्याइएको छ ।