उपत्यकामा पहिलोपटक चन्द्रागिरिले सुरु गर्याे नागरिकताको अनलाइन सिफारिस सेवा
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुवात गरेको छ । काठमाडौं उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुवात गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ । नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको र विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने बताए । सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंका मुक्तिराम रिजालले काठमाडौं उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेको र यो सेवा काठमाडौंका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए । गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए ।
ललितपुर महानगरभित्रका थप तीन रुटमा ट्राफिक लाइट जडान हुने
काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विभिन्न स्थानमा थप ट्राफिक लाइट जडान हुने भएको छ । आइतबार महानगरद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले अर्को वर्ष नगरभित्रका विभिन्न रुटमा ट्राफिक लाइट जडान गरिने बताएका हुन् । प्रमुख महर्जनका अनुसार आउँदो वर्ष पुल्चोकबाट मंगलबार हुँदै ग्वार्कोसम्म, जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलखेलबाट एकान्तकुना, भैंसीपाटी हुँदै बुंगतीसम्म ट्राफिक लाइट जडान हुने भएको छ । महानगर प्रमुख महर्जनले ट्राफिक लाइट व्यवस्थापनलाई प्राथामिकताका साथ काम गरिरहेको बताए । उनले भने, ‘महानगरलाई स्मार्ट सिटी बनाउने भनेर हामी लागिपरेको छौं तर कसरी ? एकैचोटि महानगरलाई स्मार्ट सिटी बनाउन सकिँदैन । त्यसको लागि समय लाग्छ । हामीले त्यसअनुसार प्राथामिकताका साथ काम गरिरहेका छौं ।’ हाल सञ्चालनमा रहेका ट्राफिक लाइट राम्रोसँग चलिरहेको उल्लेख गर्दै प्रमुख महनर्जले आगामी दिनमा त्यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । महानगरले केही समयअघि मात्रै नेपालमै पहिलोपटक एआई ट्राफिक लाइटको सुरुवात गरिसकेको छ । यसकाे सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण काम भएको महनर्जले उल्लेख गरे । उनले सडकमा जडान गरिएका ट्राफिक लाइट सबैको लागि समान भएकाले एउटै सिस्टम हुनुपर्ने बताए । उनले बेलाबेला भिआइपी व्यक्तिको आगमन हुँदा लाइटको सिस्टम घढबढ हुने गरेको बताउँदै यो सिस्टममा एकरूपता हुनुपर्नेमा जाेड दिए । ‘कहिलेकाहीं भिभीआइपी मुभमेन्ट हुँदा यसमा लाइट एडजस्ट भइरहेको हुन्छ । ट्राफिक लाइटको समय घटिरहेको हुन्छ । भिआइपीको लागि भन्नदै सिस्टम बिगारेर हुँदैन, यो सबैको लागि समान हुनुपर्छ,’ उनले भने । सडक दुर्घटनाबाट अकालमा धेरै मान्छेको मृत्यु भइरहेको हुँदा त्यसको न्यूनीकरणको लागि आकाशे पुल निर्माणमा पनि महानगरले जोड दिँदै आएको प्रमुख महर्जनले बताए । उनका अनुसार कुसुन्तीमा अपांगता भएकाहरूलाई समेत मध्यनजर गरी पुल निर्माण हुँदैछ । त्यसैगरी, धोबिघाटमा पनि आकाशेमैत्री पुलको निर्माण हुँदैछ । पाटन अस्पताल नजिक पनि दुर्घटनायुक्त क्षेत्र भएकाले त्यहाँ पनि आकाशे पुल निर्माणको लागि सबै सरोकारवालासँग छलफल र सहमित पनि भइसकेको प्रमुख महर्जनको भनाइ छ । त्यहाँ पनि पुल निर्माण कार्य छिट्टै अघि बढ्ने जनाइएकाे छ । महानगरले आजबाट साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको सुरुवात गरेकाे छ । उक्त कार्यक्रमका विद्यार्थीहरूलाई पनि सहभागी गराइएको महनगरले जनाएको छ ।
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
फाइल फोटो चितवन । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए । आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास मावि बाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । वडामा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् । महानगरप्रमुख रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहनस्वरुप भत्ता दिएको बताइन् । यो सुविधाले पहाडी क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन हुनुका साथै शिक्षामा पनि सुधार हुने उनले विश्वास व्यक्त गरिन् । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि यसबाट समाधान हुने उनको भनाइ छ ।