घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक छ : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचिकृत गर्न आवश्यक रहेको बताएका छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसरको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जातजाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान व्यवहार गर्दै हातेमालो गर्दै अघि बढिरहेको उल्लेख गरिन् । उनले महानगरपालिकाले आदिवासीमा सूचीकृत गर्न ऐन कानुन हेरेर यहाँको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पहिचान र अधिकार प्राप्त गर्न एकजुट भई राज्यका विभिन्न निकायलाई ध्यानाकर्षण गर्नुपर्ने धारणा राखिन् । घले समाजका केन्द्रीय अध्यक्ष दिनेश कुमार घलेले पहिचानको मुद्धालाई अझ शसक्त बनाउनुपर्ने उल्लेख गरे । नेपालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान गठन भएपछि बिभिन्न आदिवासी जनजातिहरू सूचीकृत हुने क्रममा घलेहरूलाई छुटाइएको अध्यक्ष दिनेश घलेको दावी छ । घलेलाई गुरुङ नै भनेर धेरैले बुझे पनि आफूहरू गुरुङ नभएको अध्यक्ष घलेले बताए। घलेहरूको बसोबास पूर्वको संखुवासभादेखि पश्चिम बाग्लुङसम्म २५ जिल्लामा रहेको छ । नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करिब २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रूपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरूको माग छ ।
भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट
काठमाडौं । भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आइतबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरूको कार्यक्रम संशोधन तथा रकमान्तर भएको १४ करोड २८ लाख रुपैयाँ ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको बताए । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्याउन, साधन-स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको उनले बताए । चालु आर्थिक वर्षको अर्ध वार्षिक प्रगति स्थितिको विष्लेशणको आधारमा बजेट तथा कार्यक्रम संशोधन एवम् समायोजन गरिएको उनले बताए । महानगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५६ करोड १ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले नारायणी नदीको किनारमा २३ किलोमिटर तटबन्धको कार्य अन्तिम चरणमा रहेको उल्लेख गरिन् । उनले भरतपुर विमानस्थलको टर्मिनल भवन निर्माणधिन अवस्थामा रहेको र धावनमार्ग निर्माण प्रक्रिया सुरु भएको बताइन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको, एशियाली मापदण्डको सिक्स लेन सडक निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् । यस्तै, प्रमुख दाहालले ८८ किलोमिटर लामो रिङरोडसहित संघ, प्रदेश र महानगरपालिकाको लगानीमा १ हजार ३ किमि कालोपत्रे सडक निर्माण भएको बताइन् । महानगरको प्रशासकीय भवन, सिटी हल, जंगली जनावरबाट मानव तथा पशु वालीमा हुने क्षति न्युनीकरणको लागि फाउण्डेशनसहितको मेस जाली निर्माण भइरहेको उल्लेख गरिन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमले दूध उत्पादनमा उल्लेख्य वृद्धि भई आम कृषकको आर्थिक अवस्थामा सुधार आएको उनको भनाइ छ । उनले विभिन्न निकाय सँगको समन्वयमा ७ हजार ९ सय विगाहा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको, नारायणी लिफ्ट सिँचाइ आयोजनालाई १२ महिनै सञ्चालन गर्ने गरी काम अगाडि बढेको जानकारी दिइन् । संस्थागत विद्यालयबाट वितरण हुने कक्षा १२ सम्मका छात्रवृत्तिलाई लक्षित वर्ग केन्द्रित गरी १४५ जना युवा स्वयंसेवक शिक्षकहरूको व्यवस्था गरी सबै विद्यालयमा शिक्षक व्यवस्थापन गरिएको उल्लेख प्रमुख दाहालले उल्लेख गरिन् । महानगरका स्थायी बासिन्दा महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका ८ सय ९१ जना छोरीहरूको बालउमङ्ग जीवन बिमा गरिएको उनले बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिमा भरतपुर महानगरपालिकामा ११ लाख ६४ हजार आन्तरिक पर्यटक र २ लाख ८४ हजार वाह्य पर्यटकसहित जम्मा १४ लाख ४९ हजार जना पर्यटकले भरतपुर भ्रमण गरेका उनले जानकारी दिइन् । महानगरको फोहर व्यवस्थापनका लागि भ्याटबाहेक ७ करोड ६१ लाख रुपैयाँमा तीन वर्षे आय ठेक्का सम्झौता भई मंसिर १ गतेबाट फोहोरमैला संकलन र व्यवस्थापनको काम सुरु भएको उनले बताइन् । अति सीमान्तकृत र लोपोन्मुख ७९६ जना र दलित समुदायका ४हजार ९सय ७६ जना गरी सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययतरत लक्षित वर्गका सबै बालबालिकाहरूलाई शैक्षिक प्रोत्साहन कार्यक्रम अन्तरगत छात्रवृत्ति वितरण गरिएको उनको भनाइ थियो ।
ललितपुर महानगरको सहयोगमा पाटन अस्पतालको शवगृह स्तरोन्नति
काठमाडौं । ललितपुर महानगरपालिका र पाटन अस्पतालको संयुक्त सहकार्यमा अस्पातलमा रहेको शवगृहको स्तरोन्नति भएको छ । आइतबार अस्पतालमा एक कार्यक्रमबीच महानगर प्रमुख चिरीबाबु महर्जनले स्तरोन्नति शवगृहको उद्घाटन गरे । शवगृहको स्तरोन्नतिसँगै अब २४ शवलाई राख्न मिल्ने व्यवस्था भएको छ । यसभन्दा अघि शवगृहमा चार शवमात्रै राख्न मिल्ने क्षमता थियो । महानगर प्रमुख महर्जनले शवगृह स्तरोन्नतिका लागि अस्पताललाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । विगतमा पनि महानगरको तर्फबाट अस्पताललाई सहयोग गर्दै आइरहेको कुरा जानकारी दिँदै प्रमुख महर्जनले भने, ‘अस्पतालाई सहयोग गर्नुपर्ने अवस्थामा महनगर संधै तयारी अवस्थामा छ । कोभिडको समयमा अक्सिजन प्लान्ट सहयोग गरेका थियौं, यसले धेरै बिरामीलाई सहज पुग्यो । अहिले पनि हामीले शवगृहको लागि सहयोग गर्न पाउँदा खुसी महसुस गरेका छौं ।’ विगतमा पाटन अस्पतालको शवगृह शव राख्ने ठाउँ कम हुँदा लासमाथि लास खप्टेर राख्नुपर्ने अवस्था थियो । पहिचान नखुलेको शव लामो समय राख्नुपर्दा दुर्गन्धित भएर अस्पताल मात्रै नभएर अस्पताल परिसरमा पनि त्यसले नकारात्मक सन्देश प्रवाह भएको अस्पतालका डाइरेक्टर प्राध्यापक डा. रवि शाक्यले बताए । उनले भने, ‘शवगृहभित्रको स्थिति दर्दानात्मक थियो नै । साथै अस्पताल नजिकका छिमेकीहरुबाट दुर्गन्ध फैलियो भनेर गुनासो आइरहन्थ्यो ।’ शवगृहको स्तरोन्नतिसँगै अब शवको व्यवस्थापन गर्नमा अस्पतालाई सहयोग पुग्ने शाक्यले सुनाए । अस्पातलका फरेन्सिक विज्ञ सम्झना घिमिरेले शवगृहको स्तरोन्नति हुँदा लासको व्यवस्थापन गर्न सहज हुनुका साथै काम गर्न पनि सहज पुग्ने विश्वास व्यक्त गरिन् । लाशको फरेन्सिक परीक्षणबाट मृत्यु हुनुको कारण खुल्ने हुँदा यसले लाशले न्याय पाउने बताउँदै उनले भनिन्, ‘हामीले लाशलाई पनि सम्मान दिनु जरुरी छ, मृत्युपछि लासले सम्मान पाउने भनेको उहाँहरूको मृत्यु के कारणले भयो भनेर वास्तविक कुरा पत्ता लगाउनु हो । त्यो कुरा फरेन्सिक जाँचले सम्भव छ ।’ प्रमुख महर्जनले पहिचान नखुलेका शवहरूको व्यवस्थापनको जिम्मा महानगरको लिनेसमेत बताए । साथै उनले यस्ता शवहरूको व्यवस्थापन गर्ने संघसंस्थालाई पनि प्रोत्सहानस्वरूप सम्मान गर्दै आइरहेको जनाए । उनका अनुसार महानगरले वेवारिसे शव व्यवस्थापनमा प्रमुख भूमिका निर्वाह गर्दै आइरहेको विनय जंगको संस्थालाई एक लाख सहयोगसहित सम्मान गरेको छ ।