उत्पादन बढेपछि ८ स्थानीय तहमा ‘अलैँची जोन’

गलकोट । जिल्लाका आठ स्थानीय तहलाई समेटेर ‘अलैँची जोन’ बनाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकमा परियोजना बागलुङले तथ्यांक संकलन गर्न थालेको हो । साविकमा भएका ११ अलैँची पकेट र दुई अलैँची ब्लकलाई स्तरवृद्धि गरेर अलैँची जोन स्थापना गर्न सर्वेक्षण थालिएको हो । जिल्लामा अलैँचीको सम्भावना बढी भएकाले यहाँका किसानले ब्लक र पकेटमार्फत उत्पादन गरिरहेका परियोजनाका प्रमुख नारायण पौडेलले जानकारी दिए। ब्लक र पकेटलाई स्तरोन्नति गरी जोनमार्फत उत्पादन वृद्धि गर्ने उद्देश्यले सर्वेक्षण थालिएको उनले बताए । पकेट र ब्लक बाहेकका किसानले पछिल्लो समय अलैँची उत्पादन गर्न थालेको पाएपछि जोन स्थापनाको पहल थालिएको पौडेलले उल्लेख गरे। बागलुङका १० मध्ये आठ स्थानीय तहका केही वडालाई समेटेर तीन हजार हेक्टर क्षेत्रमा अलैँची खेती पुर्‍याउने उद्देश्य राखिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा अलैँची जोन स्थापनाका लागि रु एक करोड दुई लाख बजेटसमेत विनियोजन भएको छ । जिल्लाको ताराखोला, काठेखोला, बरेङ र बडिगाड तथा जैमिनी र गलकोट नगरपालिकाका साथै निसिखोला गाउँपालिका र बागलुङ नगरपालिकाका केही वडालाई समेटेर जोन स्थापना गरिने परियोजनाका प्रमुख पौडेलले बताए। जिल्लाको ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका बाहेकका आठ स्थानीय तहका ३० वडामा यो कार्यक्रम लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘साविकका ब्लक र पकेटलाई स्तरवृद्धि गर्दै नयाँ क्षेत्र विस्तार गर्नका लागि बागलुङमा तीन सय हेक्टरमा अलैँची जोन बनाउन थालिएको छ, क्षेत्रलाई बढाएर पाँच सय हेक्टर पुर्याउन पर्वतको केही क्षेत्र समेत विस्तार गर्न आवश्यक छ’, पौडेलले भने, ‘जोनले पुरानो अलैँची बगैँचा व्यवस्थित गर्ने, बिरुवा उत्पादन गर्ने र नयाँ क्षेत्र विस्तार गर्नेदेखि सिँचाइ सुविधा र उपकरण वितरण गर्नेछ ।’ अलैँचीको उत्पादन र बजारीकरणको अवस्था विस्तारै सुधार हुँदै गएकाले आलु जोन, बाख्रा जोनसँगै अलैँची जोन स्थापना गर्न लागिएको परियोजना कार्यालयले जनाएको छ । हाल जिल्लामा ४० मेट्रिक टन अलैँची उत्पादन भइरहेकामा उत्पादितमध्ये अधिकांश भारत निर्यात हुने गरेको छ । अलैँचीको बजार मूल्य भने एकनासको नभएको किसान बताउँछन् । अलैँचीमा डढेलो रोगको सङ्क्रमण बढिरहेको समयमा जोन कार्यक्रमले सहजता हुने ताराखोलाका अलैँची किसान कुलबहादुर घर्तीमगरले बताए । उनले अहिले ११ रोपनी जग्गामा अलैँचीखेती गरिरहेको जानकारी दिए । भारतीय व्यापारी अलैँची खरिद गर्न गाउँ आउने गरेका छन् । व्यापारीले प्रतिकेजी न्यूनतम रु एक हजार पाँच सयदेखि रु दुई हजार पाँच सयमा सुकेको अलैँची खरिद गरेर लैजाने गरेका किसान बताउँछन् । अलौची पर्याप्त उत्पादन गर्न सके बजारको चिन्ता नरहेको किसानको भनाइ छ । अलैँंचीको समस्या निराकरण गर्ने, बगैँचा विस्तार गर्ने, सिँचाइको व्यवस्था मिलाउने, दाना सुकाउन आधुनिक भट्टी निर्माणलगायत काम गर्ने लक्ष्य परियोजनाले राखेको छ ।

सिरहा : स्थानीय तहविरुद्ध दुई महिनामै २ सय ७० भ्रष्टाचारका उजुरी

  सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० उजुरी परेको जानकारी दिएको छ । बिहीबार सुखीपुर नगरपालिकाको सभाहलमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुुशासन प्रवर्द्धन’ विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया अख्तियारका सहायक प्रवक्ता तथा सूचना अधिकारी देवीप्रसाद थपलियाले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । प्रवक्ता थपलियाका अनुसार उजुरी परेकामध्ये २६ वटा मुद्दा फर्छ्याैट भइसकेको र बाँकी दुई सय ४४ प्रक्रियामा छन् । जिल्लाको १७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी औरही गाउँपालिकाका ४६ वटा रहेका छन् । जसमध्ये चारवटा मुद्दा फर्छ्याैट भइसकेका छन् भने ४२ वटा बाँकी छन् । लहान नगरपालिकाविरुद्धको १६ उजुरीमध्ये एक फर्छ्याैट भएको, सिरहा नगरपालिकाविरुद्धका २७ उजुरीमध्ये पाँचवटा फर्छ्याैट भएको, गोलबजार नगरपालिकाविरुद्धका २३ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, मिर्चैया नगरपालिकाविरुद्धको १३ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, भगवानपुर गाउँपालिका विरुद्धको १२ वटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको छ । त्यस्तै, विष्णपुर गाउँपालिकाविरुद्धको १८ मध्ये दुईवटा फर्छ्याैट भएको, नरहा गाउँपालिकाविरुद्धको सातवटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको, सखुवानन्कारकट्टी गाउँपालिकाविरुद्धको पाँचवटा उजुरीमध्ये एउटा फर्छ्याैट भएको छ । धनगढीमाई नगरपालिकाविरुद्ध १२ वटा, सुखीपुर नगरपालिकाविरुद्ध १५ वटा, बरियारपट्टी गाउँपालिकाविरुद्धकोे पाँच वटा, लक्ष्मीपुर पतारी गाउँपालिकाविरुद्धकोे तीन वटा, अर्नमा गाउँपालिकाविरुद्ध ११ वटा र नवराजपुर गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेको थियो । कार्यक्रममा सुखीपुर नगपालिकाका नगरप्रमुख रामअवतार यादवले दुश्मनी साँध्न र काम हुन नदिने मनसायका साथ उजुरी हाल्ने गरिएको दाबी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासले मधेस प्रदेशअन्तर्गत सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू तथा बागमती प्रदेशको सिन्धुली र रामेछाप गरी नौ वटा जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।

ऋषिङ गाउँपालिकाले सहकारीसँग मिलेर गर्न थाल्यो स्ट्रबेरीखेती

दमौली । ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५०स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो । तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उनले भने, ‘कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ ।’ ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ । अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उनले बताए ।