भरतपुरका होटलमा २५ प्रतिशतसम्म छुट पाइने

भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट दिने निर्णय गरिएको हो । त्यसअनुसार होटल व्यवसायीले खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशतसम्म छुट दिने छन् । छुटको अनुपात अझ बढ्न सक्ने व्यवसायीले बताएका छन् । महानगर प्रमुख दाहालले भरतपुरमा पर्यटकिय गतिविधि बढेको भन्दै यहाँ आउने पर्यटकलाई दिने सेवा सुविधामा कमी हुन नदिन आग्रह गरे । महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्व सुवेदीका अनुसार भ्रमण वर्ष घोषणापछि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका ५१ कार्यक्रममध्ये २० कार्यक्रम भरतपुरमा आयोजना भइसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका ठूला खेलकुद प्रतियोगिता, प्रदर्शनीले भरतपुरमा मानिसको चहलपहल बढेको विज्ञ सुवेदीले जानकारी दिए। उनले पर्यटन व्यवसायीले रात्रिकालीन घुमफिर गर्ने ठाउँको खोजी गरेको बताए । ‘व्यवसायीले होटल सञ्चालनको समय बढाउनुपर्ने माग गरेका छन्,’ उनले भने, ‘यसबारेमा छलफल गरी रात्रिकालीन घुमफिरको स्थल तय गरिनेछ ।’ मेघौली र जगतपुरका होटल व्यवसायीले आफूहरू महानगरको छुटको प्रस्तावमा सकारात्मक बने पनि महानगरले गरेका कार्यक्रम पनि विकेन्द्रीकृत गरेर जगतपुर र गोलाघाटतिर पनि गर्नुपर्ने प्रस्ताव गरेका छन् । होटल व्यवसायी सङ्घ मेघौलीका अध्यक्ष सन्देश चापागाईंले भ्रमण वर्षका कारणले पर्यटक अपेक्षितरुपमा बढ्न नसकेको बताए । उनले भने, ‘हामी महानगरलाई सहयोग गर्न तयार छौं, तर महानगरले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यशाला मेघौली र जगतपुरतिर हुनुपर्छ, नारायणगढ केन्द्रित हुनुहुँदैन, सबै निकायको यस कार्यमा समुचित सहयोग आवश्यक पर्छ ।’ भ्रमण वर्षका लागि सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू-बनोट आदिका आधारमा महानगरले आफ्ना प्रमुख गन्तव्य छुट्याएको छ । भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र छन् । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजारी ताल, नारायणी तट क्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्यस्थानका रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधि सञ्चालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जङ्गल सफारी र जङ्गली जनावर बाघ, गैँडालगायतको अवलोकन पनि हो । रासस

महानगरको सक्रियतामा ठूला आयोजना निर्माण सम्भव भएको हो : प्रमुख दाहाल

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठूला विकास निमाणका आयोजना अघि बढेको बताएकी छन् । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन् । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ । नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । ‘विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ’, उनले भनिन् । ‘रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ, काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ’, उनले भनिन्, ‘काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो, जनता जनार्दन हुन्छन्।’ भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो ।

निर्माण तथा परामर्श सेवाका लागि महानगर र पूर्वाधार निर्माण कम्पनीबीच समझदारी

काठमाडौं । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौं महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनीसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौं प्लाजामा सोमबार भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले हस्ताक्षर गरेका हुन् । महानगरपालिकाभित्रको पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक-सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी समन्वय र सहकार्यका गर्नु समझदारीको उद्देश्य हो । महानगरपालिकाका विभिन्न निर्माण तथा परामर्शका काम, मर्मत सम्भारका काम, आपतकालीन निर्माणका काम, सडक तथा पुलसँग सम्बन्धित निर्माण/मर्मतका काम, नियमित मर्मत सम्भार, भवन निर्माण र पुनः निर्माणका काम सहमतिअनुसार गरिने मुख्य कार्य क्षेत्र हुन् । यस्ता कामको प्राथमिकता क्रम महानगरपालिकाले निर्धारण गर्नेछ । यसको कार्यप्रणाली संयुक्त रुपमा तयार पारिनेछ । यसको वित्तीय दायित्व महानगरपालिकाले बहन गर्नेछ । यसरी गरिने काममा महानगरपालिकाको श्रम बैंकबाट कम्तीमा २० प्रतिशत जनशक्ति प्रयोगमा ल्याइनेछ । यसअन्तर्गत गरिने कामको संयोजनका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र कम्पनीकातर्फबाट प्राविधिक शाखाले गर्नेछ । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत परियारले पूर्वाधार निर्माणका लागि नयाँ कामको थालनी भएको बताए । नयाँ भएकोले यो सिकाइ पनि हो र सिकाइलाई पाठका रुपमा ग्रहण गरेर नतिजाका लागि काम हुने उनको भनाई थियो । सहकार्यबाट सहरी पूर्वाधार निर्माणमा देखिने काम हुने कम्पनीका कार्यकारी अधिकृत केसीको भनाइ छ । पूर्वाधार निर्माण कम्पनी नेपाल सरकारको स्वामित्व भएको संगठन हो ।