गाउँपालिकाले लिएको कक्षा ८ को परीक्षामा ५ जनामात्र पास
फुङ्लिङ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी एक सय ७८ विद्यार्थीमध्ये पाँच जना विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिकामा आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थी परीक्षामा सामेल थिए । जसमध्ये चार वटा विद्यालयका विद्यार्थी निल भएको मैवाखोला गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार ग्रेड वृद्धिका लागि परीक्षासमेत दिन नपाउने दुई वटा सामुदायिक विद्यालय रहेका छन् । दुई वटा विषयमा अनुत्तीर्ण हुने २५ जना विद्यार्थीले मात्र ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने भएका हुन् । आउँदो वैशाख १० गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्नपत्र बनाएर परीक्षा सञ्चालन गरिएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । उत्तरपुस्तिकासमेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ । ‘शिक्षा जस्तो संवेदनशील क्षेत्र तथा राज्यको ठूलो लगानी भएका क्षेत्रमा निराशाजनक परीक्षाफलले सिङ्गो सामुदायिक विद्यालयको अवस्था छर्लङ्ग पारेको छ’, अध्यक्ष वनेमले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण शिक्षाप्रेमी र नागरिक समाजले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।’ यो परिणामले सामुदायिक विद्यालयको वास्तविक अवस्था देखिएको र आगामी दिनका लागि योजना बनाउन मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ । रासस
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
टीकापुर । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो । किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत आठ लाख रुपैयाँ बराबरका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीले जानकारी दिए । कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा अन्नपूर्ण कृषक समूह कालिकापुरमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । मकैखेतीमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान प्रदान गरेको छ । किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर कृषि सामग्री वितरण गरिएको बाली विकास अधिकृत चौधरीले बताए । ‘किसानलाई कृषिमा थप आकर्षित गर्न र हौसला प्रदान गर्न सहयोग गरिएको हो,’ उनले भने, ‘सामग्री सहयोगले खेती गर्न र बजारीकरणमा सहयोग पुग्नेछ ।’ कालिकापुरमा १ सय १९ किसानले अहिले व्यावसायिक मकैखेती गर्दैआएका छन् । मकै उत्पादन गर्न राम्रो क्षेत्र रहेको र बजारीकरणमा समस्या नभएकाले धेरै किसानले मकैखेती गरेका अन्नपूर्ण कृषक समूहका अध्यक्ष पदमबहादुर विष्टले बताए । ‘समूहमार्फत खेती गर्दा सहज भएको छ । समूहमार्फत किसानले कृषियन्त्र प्राप्त गरेका छन्,’ उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष किसानले मकैखेती गर्ने जमिन बढाएका छन् ।
काठमाडौंं महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र आईतबारदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आईतबारदेखि सुरु गरिएको काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए । उनले भने, ‘बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार गणना सुरु भएको छ, महानगरपालिका भरी दुई सय नौ गणक खटिने छन् ।’ उनका अनुसार एक जना गणकले एक महिनामा कम्तीमा पनि दुई सय ५० घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको सो विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै गणक वडा नं १६ र ३२ मा २१/२१ जना खटाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र वितरण गरिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । काठमाडौं महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकाअनुसार गरिब तथ्याङ्क सङ्कलन २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो ।