१२ किलो २३० ग्राम गाँजासहित ३ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् । यसैगरी, भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने २२० फाइल ट्रामाडोलसहित सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।
राष्ट्र सङ्घमा नेपालको प्रस्ताव पारित, विश्वका विभिन्न मुलुकले लागू गर्ने
काठमाडौं । संयुक्त राष्ट्र सङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ । राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ । उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए ।
दाउन्नेमा ५ वटा सवारी एकापसमा ठोक्किए, ८ जना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किदा ८ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका-६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट-७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका-४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका-१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका-४ लिवाङका उदीराम विष्ट, धरान-१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका-२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका-५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका-७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छन् । घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।