खुलामञ्चमा सरकार र ठेकेदारको लुकामारी, मर्कामा साना व्यापारी

काठमाडौं । खुलामञ्चको भुइँ ढलान गरी ठेकेदारले ५१ वटा सटर बनाएर भाडामा लगाउँदा ३० दिनसम्म नदेख्ने सरकारले साना व्यापारीलाई सामान उठाउन ३० मिनेट पनि दिएन  । सामान जोगाउन बालबालिकाले समेत भागदौड गर्नुपर्यो  । खुला मञ्चमा बनाइएका ५१ वटा अवैध सटरमा शनिबार डोजर चलाइयो । सटर भत्काइएसँगै साना व्यापारीको झन्डै आठ करोड रुपैयाँ डुबेको छ । उनीहरूले व्यापार गर्ने ठाउँ लिएबापत ठेकेदार कम्पनीलाई प्रतिसटर १५ लाख रुपैयाँ सलामी बुझाएका थिए । सलामी रकम असुल्ने ठेकेदार हुन्, बसपार्कस्थित काठमाडौं टावर निर्माणको ठेक्का लिएको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवाल । बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेका अनुसार भेटवालले महानगरपालिकासँग स्वीकृति लिएरै सटर निर्माण गरिएको भ्रम दिएर व्यापारीसँग प्रतिसटर १५ लाख रुपैयाँ असुलेका थिए । खुलामञ्चको करिब ५१ सटरबाट मात्रै उनले व्यापारीसँग एकमुष्ट सात करोड ६५ लाख रुपैयाँ असुलेको व्यापार श्रमिक संघका अध्यक्ष पाण्डेले बताए । ‘सटर भत्किँदैन भनेर ठेकेदारले सबैसँग सलामी उठाए,’ उनी भन्छन्, तर, अहिले सटर भत्कियो । यसको क्षतिपूर्ति ठेकेदार कम्पनीले दिनुपर्छ ।’ सटर भत्किएपछि विह्वल देखिएका व्यापारी नारायण श्रेष्ठले आफ्नो १३ लाख रुपैयाँ डुबिसकेको बताए । ‘सहकारीबाट लिएको ऋण डुबेपछि अब के गर्ने थाहा छैन,’ उनले भने । भेटवाललाई रकम बुझाएको प्रमाण कुनै पनि व्यापारीसँग छैन । ठेकेदार कम्पनीका मालिक भेटवालले कागजपत्र बनाएर रकम बुझ्न नमानेपछि भरपाईविनै व्यापारीले उनलाई पैसा दिएका थिए । ‘व्यापारीहरू त कागज गरेरै रकम बुझाउन चाहन्थे । तर, भेटवाल त्यसरी रकम लिन मञ्जुर भएनन्,’ पाण्डे भन्छन्, ‘रकम बुझाएको प्रमाण कसैसँग छैन । यो ठेकेदारको षड्यन्त्र रहेछ भन्ने अहिले थाहा भयो ।’ भेटवालले चेकसमेत लिन नमानेको उनको भनाइ छ । अध्यक्ष पाण्डेका अनुसार आठ करोड रुपैयाँ त सलामी मात्रै हो । सटर निर्माण तथा डेकोरेसनसहितको मूल्य जोड्दा डुबेको रकम अझै धेरै हुन जान्छ । यसका लागि व्यापारीले कम्तीमा दुई लाख खर्च गरेका छन् । यस आधारमा डेकोरेसन र सटर निर्माणमा मात्रै जम्मा एक करोड दुई लाख रुपैयाँ खर्च भएको छ । ‘डुबेको यो रकम असुल्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘नत्र व्यापारीसँग रकम असुल्ने ठेकेदारले उन्मुक्ति पाउनेछन् । साना व्यापारीको घरखेत डुब्ने छ ।’ आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

राष्ट्र बैंकमा तीन भीआईपीको ‘टङस्लिप’, गभर्नरले अंक पढ्न जानेनन्, डेपुटीले बैंकर चिनेनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव समारोहमा गभर्नर, डेपुटी गभर्नर तथा नेपाल बैंकर्स एशोसिएशनका अध्यक्षको टङस्लिप हुँदा भाषणमा गम्भीर त्रुटी गरेका छन् । लिखित मन्तव्य दिएका राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालदेखि मौखिक रुपमै सम्बोधन गरेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले त्यस्तो गल्ती गरेका हुन् । गभर्नर नेपालले भाषणका क्रममा फागुन मसान्तमा नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेप ३ खर्ब ९ अर्ब र कर्जा लगानी २ खर्ब ७ अर्ब ४९ करोड रहेको बताएका हुन् । उनको लिखित भाषणमा भने फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु. ३००९ अर्ब तथा कर्जा लगानी २७४९ अर्ब लेखिएको थियो । त्यस्तै स्वागत मन्तव्यका क्रममा बोलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष प्रद्युम्न पोखरेल सम्बोधन गरेका छन् जबकी हालसम्म गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले एशोसिएसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् भने एशोसिएशनले यही बैशाख २७ गते १३औं साधारणसभा बोलाएको छ जसमा नयाँ अध्यक्ष तथा पदाधिकारीहरु निर्वाचित हुनेछन् । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सवलाई ६४ औं साधारणसभा भनेर सम्बोधन गरिदिएका छन् । भीआईपीहरुले बोल्दै गर्दा भएका यस्ता कमजोरीहरुको गल्तीलाई धेरैले त सामान्य रुपमा करेक्सन गरेर बुझ्लान् तर औपचारिक कार्यक्रमहरुमा बोलिएका यस्ता तथ्याङ्कहरुले कहिँकतै ठूलो अर्थ राख्न सक्छ । त्यति मात्रै होइन, यसले सहभागीहरुको वक्ताप्रतिको सम्मानमा समेत कमी ल्याउँछ भलै त्यस्तो भाव व्यवहारमा झल्कियोस् वा नझल्कियोस् ।

१२७ लाख काम गर्ने जनसंख्या होइन, ९ लाखमात्रै बेरोजगार: सरकार

काठमाडौं । नेपालमा ९ लाख जनसंख्या मात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा रोजगारी नपाएर ५० लाख भन्दा बढी नेपालीहरु विदेशिएको तथ्य बाहिर आउँदा संघीय सरकारको महत्वपूर्ण निकायको रुपमा रहेको श्रम मन्त्रालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार २ करोड ७ लाख व्यक्तिहरु काम गर्ने उमेर समूहका जनसंख्या छन् । जसमध्ये ७९ लाख ९४ हजार श्रमशक्ति र १ करोड २७ लाख ४० हजार श्रमशक्ति भन्दा बाहिरका जनसंख्या रहेको छ । श्रम शक्तिको रुपमा रहेको उक्त जनसंख्या मध्ये ११.४ प्रतिशतले हुने ९ लाख ८ हजार मात्रै बेरोजगार रहेको र बाँकी ७० लाख ८६ हजारले रोजगारी पाएको मन्त्रालयले उल्लेख गरेको हो । देशभर रहेका बेरोजगारहरुलाई रोजगारी दिने भन्दै प्रत्येक स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापनागरेको मन्त्रालयले करिब १ वर्षसम्म लगाएर उक्त अध्ययन गरेको जनाएको छ । अन्तराष्ट्रिय श्रम संगठनको श्रम तथ्याङ्कसम्बन्धी अवधारणअनुसार गरिएको उक्त सर्भेक्षणले सन्दर्भ अवधिमा कम्तीमा १ घण्टा तलब÷ज्याला पाउने काम गरेको वा नाफा/नोक्सान व्यहोर्नेगरी व्यवसायमा संलग्न भएको व्यक्तिलाई समेटेको छ ।