पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति
काठमाडौं । कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरेको छ । महासङ्घले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रता माथिको आक्रमण भएको जनाएको छ । रासस
यसरी फसे विद्युत चोरी गर्ने हेलम्बु गाउँपालिकाका ३ जना
काठमाडौं । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत् प्राधिकरणको कर्मचारीलाई दुव्र्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् । केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्मचारी अमृत ढकाललाई स्थानीय गोपाल तोलाङ, कृष्ण तामाङ, रामबहादुर नेपालीले दुव्र्यबहार गरेका थिए । हिजो वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाइ पठाइएको मेलम्ची हेलम्बु वितरण केन्द्रका प्रमुख बलराम नेपालले जानकारी दिए । आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले जानकारी दिए। विद्युत् चुवावट गर्ने गोपाल तोलाङ्ेबाट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट रु ११ हजार जरिवाना असुल उपर गरिएको छ ।
काठमाडौंलाई उच्च सुरक्षा प्रदान गर्न महानगरले १८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने
काठमाडौं । महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५०० भन्दा बढी क्यामेरा जडान गरेको छ । अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धुब्र काफ्लेले जानकरी दिए । जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ । यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ । त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो । सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ । सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ । उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत काम अघि बढाइने छ । दशैँअगावै काम शुरु गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दशैँलगत्तै प्रभावकारीरुपमा काम शुरु गरिने जानकारी गराइएको छ । रासस