२१ करोड लागतमा दिक्तेल–खानीडाँडा सडक कालोपत्रे हुँदै
काठमाडौं । तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो । आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभीले उक्त सडक जिम्मा लिएको छ । सडकको विस्तृत सर्भेक्षणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी जोडिने सडक कालोपत्रेका लागि प्रारम्भिक चरणको काम तिहारलगत्तै शुरु हुने निर्माण कम्पनीका निर्देशक कल्याण खत्रीले बताए । नाली, रिटेनिङ वालसहित छ दशमलव २५ मिटर चौडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे गर्ने गरी काम अघि बढाइएको हो । नगरपालिकासँगको सहकार्यमा पहिलो चरणमा दिक्तेलबाट आहालेसम्मको खण्ड मात्र कालोपत्रे गरिने एकाइले जनाएको छ । सो सडकलाई प्राधिकरणले प्राथमिकताको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए। गत असोज १ गते सम्झौता भएको सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही मार्ग खोलिए पनि बीचमा जोडिन बाँकी छ । मार्ग खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खुल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । सडक कालोपत्रे भएपछि सबैभन्दा बढी जिल्ला अस्पतालबाट सिफारिश भएका बिरामीलाई खानीडाँडा विमानस्थल पु¥याउन सहज हुनेछ । अहिले हिउँदमा मात्र सडक सञ्चालन हुँदा सिफारिश गरिएका बिरामीलाई स्ट्रेचरमार्फत खानीडाँडा विमानस्थल पु¥याउनुपर्ने बाध्यता रहेको आफन्तले बताएका छन् । सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ । फोक्सिङ्टारमा पक्की पुल बनेपछि उक्त सडक तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ ।
साझाको ५ वटा विद्युतीय बसले गौतम बुद्ध विमानस्थलमा यात्रु बोक्ने
काठमाडौं । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरकाे विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ । केही दिनभित्रै बस दर्ता भइसक्ने साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उनले भने, “दर्ता भएपछि नै कुन ठाउँमा आवश्यक छ हेरेर त्यो रुटमा चल्नेछ ।” काठमाडौँ उपत्यकाको नगर क्षेत्रमा बस चल्ने उनले बताए । एशियाली विकास बैंकले पाँच वटा बस लुम्बिनी क्षेत्र विकास कोषलाई अनुदान सहयोगमा दिएको हो । चिनियाँ निर्माण कम्पनी विवाइडीले बस निर्माण गरेको हो । यी बस केही समयका लागि मात्रै काठमाडौँ उपत्यकामा चल्नेछ । बस व्यवस्थापनको जिम्मेवारी साझा यातायातले लिएको छ । लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि बस लुम्बिनी लगिने उनले बताए । उनले भने, “काठमाडौँ उपत्यकामा हामीले नै यी बस सञ्चालन गर्नैछौँ ।” कुल २९ जना यात्रु क्षमता रहेको बस अपाङ्गतामैत्री समेत रहेको पाण्डेयले बताए। यो बसमा ‘लिफ्ट सिस्टम’ हुँदा ‘ह्विलचेयर’ सजिलै चढाउन र ओर्लन सकिने छ । उनले भने, “बस सबै यात्रुका लागि सजिलो खालको छ ।” विद्युतीय बसको प्रयोगले वातावरण सफा बनाउने हुँदा जनस्वास्थ्यमा समेत सकारात्मक असर गर्ने उनले बताए। विद्युतीय बससँगै अरु विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणसमेत लागेको छ । बीस ठाउँमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्न प्रक्रिया थालेको छ । रासस
वसन्तपुरमा घुम्ने पर्यटक बढे, एकै दिन १३ लाख आम्दानी
काठमाडौं । सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको सङ्ख्या बढेपछि एकै दिन करीब रु १३ लाख आम्दानी भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो । घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै रु १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिनुभयो । अन्य दिन सामान्यतयाः दैनिक रु १० लाख आम्दानी गर्दै आएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या ८२ अन्य देशबाट एक हजार २६९ जना पर्यटक घुम्न आएका थिए । यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन रु १२ लाख ८१ हजार ३०० जम्मा भएको हो । यहाँ विशेष गरी चिन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन् । यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कबापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । शुल्कबापत दैनिक सङ्कलन हुने रकमलाई पर्यटकको सङ्ख्या बढाएर रु १५ लाख सम्म पु¥याउने लक्ष्य सुनाउँदै कार्यक्रम प्रमुख पसखलले वसन्तपुर क्षेत्रका सांस्कृतिक संरचना पुनःनिर्माणमा तीव्रता दिइएकाले पर्यटकको सङ्ख्या बढेको बताए । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्मा गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ चरणमा पुगेको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । यस वर्ष अहिलेसम्मको अवधिमा सबैभन्दा बढी पर्यटक मङ्गलबार आएका हुन् । आन्तरिक पर्यटकको लागि भने शुल्क लिन व्यवस्था रहेको छैन । यस क्षेत्रमा पर्यटकको झण्डै तीन दर्जन सम्पदा रहेको छ । जसमा भूकम्पका कारण दश सम्पदाको वटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको बताए ।रासस