पाठ्यक्रममा गणित विषय हटाउन प्रयास असफल

काठमाडौंं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणित विषय हटाउने प्रयास असफल भएको छ । चौतर्फी दबाबपछि केन्द्रले गणित विषय नहटाउने निर्णय गरेको हो । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको केन्द्रका सूचना अधिकारी खुबिराम अधिकारीले बताए । निजी लगानीका विद्यालय र सरकारी विद्यालयहरुमा पाठ्क्रम लागू नगर्ने निर्णय गरेको पनि बताए । उनले भने अब सबैसँग बसेर छलफल हुन्छ, छलफल पछि आगामी शैक्षिकसत्रमा पाठ्यक्रम परिवर्त हुनेछ । निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले नयाँ गणित विषय हटाउने कुराको विरोध गरेका थिए ।  

चीन पुगेर ओलीले गरे यस्तो सम्झौता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका हुन् । सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ । सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ । यस्तै, पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ दोङग्युआनबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४६ मिलियन डलर लगानी गरिनेछ । यस्तै, १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसैगरी, ४.०२७ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीका प्रतिनिधिबीच इपिसिएफ मोडलमा आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या बीच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै, कूल ६०० मेगावाट क्षमताको मस्र्याङ्दी क्यास्केड जलविद्युत् परियोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ । बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाइईसीबीच सम्झौता भएको छ । यसैगरी, ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी परियोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र दोङ्फाङ इलेक्ट्रिक इन्टरनेशनल कम्पनीबीच सम्झौता भएको छ । रासस

मोरङको धनपाल गाउँपालिकामा सवा २ कराेड बराबरकाे ८० घर हस्तान्तरण

काठमाडौं । रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाइटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाउँपालिका–६ मा नवनिर्मित ८० वटा दुई कोठे पक्की घर हस्तान्तरण गरिएको छ । धनपाल गाँउपालिका– ६ स्थित उक्त टोलमा गरीब, पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु दुई करोड २६ लाखमा ८० वटा घर निर्माण गरी आज हस्तान्तरण गरिएको हो । सोही स्थानमा आठ कठ्ठामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल (मस्जिद) को समेत निर्माण गरिएको छ । दुई कोठे पक्की घरका साथै प्रत्येक घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन (गुल्जार)ले बताए । यसअघि उक्त संस्थाको सहयोगमा मोरङको सुनवर्षी गाउँपालिकामा ४० घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । संस्थाले २६ वर्षदेखि आयमुलुक कामका सामग्री र सीपमूलक तालीम समेत प्रदानगर्दै आइरहेको छ । उद्घाटनका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताका गास, बास र कपासको समस्याबाट अब नेपाली जनतामुक्त हुने बताएका । उनले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पूरा गरी गरिबी हटाउने समेत विश्वास दिलाए। मुख्यमन्त्री राईले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणबाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने बताउँदै निर्माण भएको संरचनाको संरक्षणसहित सदुपयोग गर्न आग्रह गरे। उनले ‘मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम’ का लागि प्रदेश सरकारले रु १ अर्ब रकम छुट्याएको बताउदै अब केही वर्षमा ग्रामीण क्षेत्रमा बाटोको कुनै समस्या नहुने धारणा व्यक्त गरे। पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले संसद् विकास कोषबाट प्राप्त हुने रु ४ करोड स्थानीयको छलफल एवं सहमतिबाट नदी नियन्त्रण, आयआर्जन, सीपमूलक तालीम लगायतमा खर्च गर्ने बताए । रहमा इन्टरनेशनल कुवेतका मुख्यदाता शेख वलिदले आगामी दिनमा मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता व्यक्त गरे । रासस