उद्योगमन्त्री यादवको ठाडो निर्देशनमा भकाभक समातिन थाले म्याद गुज्रेको समान बेच्ने व्यापारी
काठमाडौं । अनुगमनकारी निकाय बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले बिहीबार बजार अनुगमनका क्रममा २ थोक खाद्यन्न ब्यापारीलाई पक्राउ गरेको छ । मिति गुज्रिएका र उपभोग्य मिति नभएका खाद्यन्न बिक्रीका लागि राखेको फेला पारेपछि विभागले बानेश्वरस्थित फुड एण्ड इलाइट स्टोरका सञ्चालक सुवास मैनाली र कलंकींस्थित माँ माया ट्रेडर्सका सञ्चालक अभिशेक जयसवाललाई पक्राउ गरिएको हो । पक्राउ गरिएका उक्त व्यवसायीहरुलाई सम्बन्धित प्रहरी प्रशासनमा जिम्मा लगाएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवको निर्देशनपछि विभागले बुधबारबाट आक्रमक अनुगमन थालेको छ । बुधबार मिति गुज्रिएका सामान बेच्ने, मूल्यसूची नराख्ने ७ व्यवसायीलाई विभागमा उपस्थित गराई प्रहरीको जिम्मा लगाइएको थियो ।
आइएमई र ग्राण्डी अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता, कार्डवाहकलाई ७.५ प्रतिशत छुट
काठमाडौं । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७.५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ । सम्झौतापत्रमा आइएमईका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुखप्रति कतिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता यहि मिति २०७५ सालअसार ११ गतेदेखि एक वर्षसम्मका लागिलागु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परिक्षण सेवाका लागि जम्मा एक हजार पाँच सय रुपैयाँमा स्वास्थ्य परिक्षण प्याकेज समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
३ लाख लगानी गरिएको केराकाे बिरुवाबाट १० लाख आम्दानी
काठमाडौं । बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिएका छन् । नर्सरीमा रु तीन लाख लगानी गरेर रानाले बिरुवा बिक्री गरी रु १० लाख आम्दानी गरेका छन् । उनले नौ जातका ४० हजार केराका बिरुवा उत्पादन गरेका छन् । छ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आएका हुन् । नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रति बिरुवा रु ४० का दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न रु ४० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताए । शाखाको रु ४० हजार तथा किसानको रु ४३ हजार लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ । रासस