ब्रिटिश गोर्खा सैनिकको कोटा ५० हजार पुर्याउने बेलायत सरकारको तयारी

काठमाडौ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्याउन सकिने नेपालको लागि वेलायती राजदुत रिचार्ड मोरिसले बताएका छन् । उनले मंलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिहंदरबारमा भएको भेटवार्तामा ब्रिटिस गोर्खा सैनिकलाई थप गर्न सकिने बताएका हुन् । ‘आगामी पाँच वर्षभित्र बेलायतबाट नेपालमा ५० हजार संख्या पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ‘त्यस्तै ५० हजारकै संख्यामा गोर्खाली सैनिक बेलायत लान सकिन्छ ।’ त्यसका लागि दुई देशबीच साझेदारीको आवश्यकता रहनु पर्ने उनले बताए । त्यस्तै मन्त्री यादवले उक्त भेटमा नेपालमा वैदेशीक लागानीको वातावरण बनेकाे राजदुत माेरिसलार्इ जानकारी गराए । साेही अवसरमा उनले नेपालमा रहेको बेरोजगारी समस्याकाे लागि सीपमूलक तालिम सञ्चालनमा सहयाेग पुर्याउन समेत राजदुतलाई अनुरोध गरेका छन् ।  

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब, नमूना सहर बनाइने

काठमाडाै‌ं । भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५/०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार रु १ अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालू आर्थिक वर्षका लागि गतवर्ष रु १ अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा केही पुरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक्रम समावेश गरिएका छन् । आगामी आवका लागि आन्तरिक आम्दानी रु १२ करोड २७ लाख प्रस्ताव गरिएको छ । वित्तीय समानीकरणबाट रु २५ करोड ५६ लाख, सशर्त अनुदान रु ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट रु १४ करोड ३३ लाख, सामाजिक सुरक्षातर्फ रु १८ करोड, लागत सहभागितातर्फ रु एक करोड, क्षेत्रीय शहरी विकास आयोजना रु चार करोड ३५ लाख, सडक बोर्ड रु ७२ लाख र सीमाक्षेत्र विकास कार्यक्रमबाट रु ४५ लाख आम्दानी अनुमान गरिएको छ । आन्तरिक आम्दानीको रु छ करोड ४९ लाख साधारणतर्फ रु १८ लाख पूँजीगत, म्याचिङ फण्ड रु ७५ लाख, आय फिर्ता रु एक करोड २५ लाख र रु ५८ लाख विभिन्न कोषका लागि विनियोजन गरिएको छ । वित्तीय समानीकरणको बजेट वडा कार्यालयका लागि रु एक करोड ४८ लाख, नगरपालिका कार्यालयका लागि रु नौ करोड र पूँजीगतमा रु १४ करोड ५६ लाख विनियोजन गरिएको छ । राजश्व बाँडफाँडको अनुमानित आम्दानीलाई पूँजीगत खर्चमा विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुशीलाचन्द सिंहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । बजेटमा नगर सभासद्ले आफ्नो धारणा राखेपछि नगर सभाबाट पारित गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए। नगरपालिकाका प्रमुख विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा स्थानीय स्रोतसाधनको प्रयोग र जनशक्ति परिचालनबाट नगरपालिकालाई प्रदेश नं ७ को नमूना र व्यवस्थित शहर बनाउने नीतिसहित अल्पकालीन र दीर्घकालीन योजनासहित आगामी वर्षको नीति तथा कार्यक्रम बजेट ल्याइएको बताए । ‘सबै नगरवासीको सहयोगमा यो बजेट कार्यान्वयन गर्न चाहन्छाै‌ँ,’ नगर प्रमुख विष्टले भने  ‘यसमा सबैको साथ र सहयोग हुने आशा गरेका छाै‌ं ।’ रासस

३ जनाको ज्यान लिने टिपर चालक जेल चलान

काठमाडौं । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौँ तर्फ आइरहेको बा ३ ख ६६७४ नं को टिपरले सोही दिशाबाट आइरहेको बा ५६ प १२२७ नं को स्कुटरलाई ठक्कँर दिँदा स्कुटर चालक हरिबहादुर कटुवाल तथा पछाडि यात्रा गर्ने सविता घिमिरे र अरविन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको थियो । सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले चालक सुचिकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) बमोजिम लापरर्बाहीपूर्वक सवारी चलाइ ज्यान लिएकोमा सोही नं बमोजिम सजायको माग दाबीसहित जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको थियो । सरकारवादी सो मुद्दामा पीडितको पक्षबाट जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्ले र अधिवक्ता किरण न्यौपाने तथा प्रतिवादी सुचिकारका तर्फबाट अधिवक्ता कुमारप्रसाद आचार्यले बहश गरेका थिए ।