बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु, पहिलो दिनमै ४१ जनाले पाए

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । बिहीबार कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी-१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गरेकी छिन् । कार्यालयका पहिलो सेवाग्राही बर्दिवास-१ का दीननाथ पोखरेललाई प्रदेशसभा सदस्य थापाले स्मार्ट लाइसेन्स प्रदान गरेर थप सेवा शुरु गरिएको हो । कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले पनि सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गरेका थिए । कार्यालयबाट स्मार्ट लाइसेन्ससहित सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) हराएको प्रतिलिपि र सवारी चालक अनुमतिपत्रको नवीकरणसमेत आजबाट थप सेवा प्रवाह शुरु गरिएको छ । यसअघि कार्यालयले वार्षिक सवारी कर संकलन, सवारी दर्ता प्रमाणपत्रको नवीकरण, बाटो इजाजत नवीकरण, सवारी जाँचपास र अस्थायी रुट इजाजतपत्र (पटके) सेवामात्र प्रदान गर्दै आएको थियो । बिहीबार थप सेवा शुरु गरिएको समारोहमा ४१ जना सेवाग्राहीले स्मार्ट लाइसेन्स प्राप्त गरेका कार्यालयका निमित्त प्रमुख पोषण थापाले जानकारी दिएका थिए । विसं २०७१ मंसिर १७ गते स्थापना भएको यो कार्यालयले अहिलेसम्म २१ करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेको समारोहमा जानकारी दिइएको छ । थप गरिएका सेवा लिन यसअघि जनकपुरस्थित यातायात व्यवस्था कार्यालय जानु पर्थ्यो । अब यी सेवा बर्दिवासबाटै शुरु गरिएपछि महोत्तरी, धनुषाको उत्तरी क्षेत्र, सिन्धुली र सर्लाही जिल्लाका सेवाग्राहीलाई सजिलो भएको छ । आँफू अर्कै प्रदेश (प्रदेश नं ३) को बासिन्दा भए पनि भौगोलिक निकटताले बर्दिवासस्थित कार्यालयबाट थप सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-५ का सेवाग्राही मदनकुमार श्रेष्ठले प्रतिक्रिया दिए । रासस

गृहमन्त्री रामबहादुर थापाको १०० दिन : सिन्डिकेट, सुन काण्ड, ठेकदार लाइनमा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय पुगेको छ । थापाले १ सय दिनमा सुन काण्ड, यातायातको सिन्डिकेट र काम नगर्ने ठेकेदारलाई लाइनमा ल्याउन सफल भएको बताएका छन् । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यातायात यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानविन तथा ठेकेदारहरुलाई ठेगान लगाउने काम भएको बताएका हुन् । निर्माणका कार्यमा ढिला सुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदाहरुलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका नियकाहरुसँगको समन्वयमा कारवाही अघि बढाईएको उनले बताए । जतिसुकै शक्तिशाली ठेकेदार भएपनि उसलाई कारवाहीको दायरामा ल्याएर छोड्ने गृहमन्त्रीको भनाई छ । यस्तै सुन तस्करी प्रकरणमा अब ठुला कारोबारी पनि पक्राउ पर्ने संकेत गर्दै उनले भने ‘ सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन, अब ठुला माछा पनि पक्राउ पर्दैछन् । ’  

नारायणगढ-मुग्लिन यात्रा ३५ मिनेटमै छोटियो, ४ लेनको सडकमा अब २४ सै घण्टा गाडी

काठमाडौं । नारायणगढ–मुग्लिन सडक यात्रा अब ३५ मिनेटमै छोटिएको छ । ४ लेनको सडकमा ६० किलोमिटर प्रतिघण्टा गुड्ने गाडीले ३५ मिनेटमै सो दुरी पार गर्नेछ। सडक विभागका इन्जिनियर सञ्जय श्रेष्ठका अनुसार सडकको पुल बाहेकको ९५ प्रतिशत काम सकिएको छ। नारायणगढ देखि मुग्लिनसम्मको सडकखण्डमा कालोपत्रे सकिएको छ । ४ वटा पुलको निर्माण सम्पन्न भैसकेको छ । यस्तै १४ वटा पुलको काम भइरहेको श्रेष्ठ जानकारी दिए । “पहिरो भएको क्षेत्रमा भने चारदेखि पाँच बर्षसम्म पहिरो नियन्त्रणका लागि निरन्तर काम गरिरहनुपर्छ’, श्रेष्ठले भने। नारायणगढ मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् । हाल मध्यम साइज अर्थात दुई लेनमा रहेको ३६ किलोमिटर लामो सो सडक छिचोल्न घण्टौं लाग्दै आएको थियो । नारायणगढ(मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३.२ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । खनालका अनुसार दोस्रो तह ३२.७ किलोमिटर र तेस्रो तह १२.७ किलोमिटर कालोपत्र गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ । उच्च स्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो । सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १०.४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १०.६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७.५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शतप्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२.१५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताए । सो खण्डको दोस्रो तह ११.८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मई १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मे र तेस्रो खण्डको ३० मे २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । ससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताए ।  दोस्रो तह ३२.७ किलोमिटर र तेस्रो तह १२.७ किलोमिटर कालोपत्र गरिएको छ । सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो ।