सिटी एक्स्प्रेस मनी ट्रान्सफरद्धारा उत्सव एक्स्प्रेस योजनाको बिजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा शन्ता देवी दाहाल, आशो कुमार राजबन्शी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, बिरेन्द्र धामी, गुलाबी कुमारी देवी मन्डल र मासिनी तामाङ छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादव छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

अछामको साफेबगरमा एयरपोर्ट चलाउन काम सुरु, १८ महिनामै सञ्चालनमा आउँदैछ

अछाम । साफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । २०५८ देखि अवरुद्ध साफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो । १२ करोड रुपैयाँ लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले जानकारी दिए । वर्षाका कारण र दशैँ तिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्रगतिमा काम भइरहेको छ । अछामको मुख्य व्यापारिक केन्द्र मानिने साफेबगर विमानस्थल सञ्चालनका लागि काम शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । स्थानिय व्यापारी पुरन कुँवर लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने भएपछि व्यापारलगायत गतिविधि बढ्ने बताए । “यहाँको पर्यटन प्रवद्र्धनका लागि विमानस्थल सञ्चालनमा आउनुपर्छ,” उनले भने । स्थानीयवासी पशुपति कुँवरले विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने र छिटो छरितो रुपमा बिरामीले उपचार पाउने बताए । साफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँरले पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विमानस्थललाई लिइएकाले पनि छिटो सञ्चालनका लागि काम भइरहेको बताए । विमानस्थल सञ्चालनमा आएपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने छ । अछामको रामारोशन, वैद्यनाथधाम, खप्तडजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्ने छ । विमानस्थल दुई दशकदेखि गौचरन र घाँसेमैदान बनेको थियो । रासस

प्रत्यक्षतर्फको मतपत्रको आजैबाट छपाई सुरु, राजधानीमा दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण कार्यक्रम’

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रको छपाई आजबाट सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको जानकारी दिए । निर्वाचन आयोगले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीयस्तरको दुई दिने ‘निर्वाचन सुरक्षा व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु गरेको छ । प्रमुख आयुक्त यादवले व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट ज्यादै जटिल भए पनि राष्ट्रको आवश्यकता, राजनीतिक दलको सहमति र सरकारको आग्रहमा दुवै निर्वाचनलाई एकैसाथ गर्न आयोगले सहमति जनाएको उल्लेख गरेका छन् । उनले निर्वाचनको बारेमा अन्योलका कुरा पनि आएका छन्, आयोगमा कुनै अन्योल छैन, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । यादवले सम्मानित सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै आयोगले प्राविधिक समिति गठन गरी त्यसले दिएको प्रतिवेदनको आधारमा आयोग अगाडि बढेको बताए । उनले पछिल्लो पटकको सर्वोच्च अदालतको निर्णय आयोगलाई प्राप्त भइनसकेको जानकारी दिए । यादवले निर्धारित मितिमै निर्वाचन गर्न पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान भई प्रचार प्रसारको काम शुरु भइसकेको बताए । माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहले यो वर्ष निर्वाचन वर्ष भएकाले अहिलेको राष्ट्रिय लक्ष्य भनेको नै शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयनका लागि बलियो जग स्थापना गर्नुपर्ने बताए । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको क्रममा छिमेकी मुलुकबाट उम्मेदवारले भाडामा सवारी साधन ल्याई प्रयोग गर्ने कार्य पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिँदै निर्वाचन आयुक्त शाहले भने– ‘‘निर्वाचनका क्रममा कुनै पनि सुरक्षाकर्मीप्रति औंला ठड्याउने अवस्था नआओस्, आ–आफ्नो उच्च व्यावसायिक मर्यादामा रहेर राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस् ।’’ उनले निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालित हुने जानकारीसमेत दिनुभयो । गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले प्रशिक्षणमा सिकेका कुराहरु तल्लो तहसम्म पुर्‍याएर निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।