नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

काठमाडौं । अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरुबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए । आउँदो नोभेम्बर ८, ९ र १० मा हुने सम्मेलनमा तीनै देशका प्राध्यापक, बुद्धिजीवी, लेखक, विद्यार्थी नेतालगायत सहभागी हुनेछन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष मास्केले नेपालमा वाम गठबन्धनले निर्वाचन जितेर आफ्ना प्रतिबद्धता पूरा गरेमा समृद्धिको यात्रा तय हुने बताए । भारतबाट वाम बुद्धिजीवीहरु प्रख्यात पटना, सिपी चन्द्रशेखर, आनन्दस्वरुप वर्मा तथा चीनबाट चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्रतिनिधि सहभागी हुनेछन् । सन् १९१७ नोभेम्बर ७ मा रुसमा तत्कालीन सत्ताको विरोधमा कम्युनिस्टहरुले चलाएको आन्दोलन सफल भएको दिनलाई अक्टोबर क्रान्तिका रुपमा स्मरण गरिन्छ । रासस

भूकम्प अति प्रभावित स्थानीय तहका वडामा प्राविधिक खटाइने

काठमाडौं । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका वडामा कम्तीमा एकजना प्राविधिक खटाउने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बसेको ८९औँ कार्यकारी समितिको बैठकले शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाईबाट निजी आवास पुनः निर्माणका लागि जिल्लामा खटिएका तथा प्राधिकरणबाट नयाँ नियुक्त हुने प्रक्रियामा रहेका इञ्जिनियर, सब-इञ्जिनियर र ओभरसियरमध्येबाट भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय तहको प्रत्येक वडामा कम्तीमा एकजना प्राविधिक पुग्ने गरी खटाउने निर्णय गरेको हो । भूकम्प कम प्रभावित १७ जिल्लामा भने लाभग्राही सङ्ख्याका आधारमा निजी आवास पुनः निर्माण कार्यमा पर्याप्त हुने गरी प्राविधिक खटाउने व्यवस्था मिलाई पुनः निर्माणमा तीव्रता दिने निर्णय पनि प्राधिकरणले गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र सरोकारबाला बीच छलफल गरेर पुनः निर्माणमा देखिएका समस्या पहिचान गर्ने, समस्या समाधानको उपाय खोजी गर्ने र पुनः निर्माणमा स्थानीय तहको साझेदारीको विधि तय गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधि, सम्बद्ध मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक एवं बैंकर्स एशोसिएशन लगायतका सरोकार भएका संस्थासँग शुक्रबार छलफल गर्ने निर्णय पनि भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । पुनः निर्माण गरेका र गर्न चाहने भूकम्पपीडितले स्थानीय तहमा प्राविधिक नभेट्दा समस्या भएको गुनासो गरेपछि कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । रासस

दरबारमार्गका आठ व्यापारीलाई सात दिनसम्म थुनामा राखिने, हिरासतमै अनुसन्धान

काठमाडौं । उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेका दरबारमार्गस्थित आठ पसल सञ्चालकलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ । अत्यधिक मूल्यमा सामान बिक्री गरेको आरोपमा पक्राउ परेका आठ व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप गरिएकोे काठमाडौँका प्रजिअ केदारनाथ शर्माले जानकारी दिए । गत भदौ १९ गते तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा रहेका पसलमा अनुगमनका क्रममा लागतभन्दा १० गुणा बढीसम्म रकम लिएर सामान बेचबिखन गरेको भेटाएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । विदेशी ‘ब्राण्ड’का सामान बेच्ने ती पसल सञ्चालकलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा उपस्थित हुन आग्रह गरे पनि उपस्थित नभएपछि मंगलबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रोशन ओडारी, तुलसीधर भण्डारी, राजेश्वर श्रेष्ठ, नन्दन बिहानी, जीतेन्द्र महर्जन, सुवास महर्जन, श्रीकृष्ण महर्जन, उत्तमकुमार बस्नेत र प्रविन झा रहेका छन् । पक्राउ परेकालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस