नियमविपरित घर बनाउँदै हुनुहुन्छ ? काठमाडौं महानगरपालिका अनुगमनमा आउँदैछ

काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा ल्याएपछि नियमविपरीत घर निर्माण गर्नेको सङ्ख्यामा कमी आएको छ । कामपाका इञ्जिनियर राम थापाका अनुसार गत साउन महिनाबाट महानगरभित्र निर्माण हुने सबै घरमा अनिवार्यरुपमा कामपाका इञ्जिनियरले अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । यसरी अनुगमन नियमित हुन थालेसँगै नक्साविपरीत भवन निर्माण गर्नेको सङ्ख्यामा कमी आएको हो । कामपाको ३५ वटै वडामा गरी दैनिक रुपमा तीस जना इञ्जिनियरले निर्माणाधीन घरको अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । निर्माण धनीले कामपाबाट नक्सा पास गरिसकेपछि निर्माणको समयमा आफ्नो इच्छाअनुसारको इञ्जिनियर राखे पनि नियमअनुसार घर निर्माण नक्साअनुरुप अनिवार्य गराउन यो किसिमको अवधारणा ल्याएको कामपाले बताएको छ । खटिएका इञ्जिनियरले दैनिक १० देखि १५ वटासम्म घरको अनुगमन गर्ने गरेका थापाले जानकारी दिनुभयो । अनुगमनका क्रममा नक्सा विपरीत घर निर्माण भएको पाएमा घरधनीलाई बीचमा नै काम रोक्न लगाई थप कारबाहीको प्रक्रियासमेत कामपाले गर्नेछ । अघिल्लो आर्थिक वर्षमा नियम विपरीत घर बनाउनेको सङ्ख्या अत्यन्तै रहेको पाए पनि अहिले भने २० वटा घर निर्माण हुँदा मुस्किलले एक दुईवटाले मात्र नियम विपरीत कार्य गर्ने गरेको पाइन्छ । यसरी निर्माणको शुरुको समयदेखि नै नियमित अनुगमनले गर्दा नियम विपरीत घर निर्माण कमी आएको कामपाको भनाइ छ । गत साउन महिनाभन्दा पहिले निर्माण हुने घरमध्ये ५० प्रतिशत नियम विपरीत हुने गरेको थियो । रासस

हिमालय एयरलाइन्स ‘एशियाकै प्रभावशाली’ वायु सेवा कम्पनी, १५ विमान थप्ने तयारी

काठमाडौं । नेपालको निजी अन्तराष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्स दक्षिण एशियाकै प्रभावशाली नयाँ अन्तराष्ट्रिय एयरलाइन्स अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले शनिबार मलेशियाको इक्वेटर भिलेजमा आयोजित साटा २०१७ कार्यक्रममा एयरलाइन्सलाई सम्मान गरिएको हो । उक्त समारोहमा गान अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक इब्तिशामा अह्मद साइदले स्वर्ण श्रेणी अन्तरगत ब्राण्ड एण्ड सर्भिस डिपार्टमेन्टका प्रमुख उज्ज्वल डालीलाई सम्मान गरेका थिए । यसले उडानका क्षेत्रमा हिमालयन एयरलाइन्सलाई अघि बढ्न प्रत्साहित बनाएको एयरलाइन्सले बताएको छ । साटा दक्षिण एसियाको पर्यटन क्षेत्रमा पहिलो रिजनल ट्राभल अवार्ड समारोह हो । गत अगष्ट ३१ सम्म अनलाइनमार्फत मतदानको व्यवस्था गरिएको थियो । अवार्ड प्राप्त गर्दै डालीले भनिन्, ‘यो अवार्ड प्राप्त गर्न पाउँदा हामी एकदमै गर्वान्वित भएका छौं । यसले हामीलाई सेवा र सुविधा विकासलाई बढाउन उर्जा प्रदान गरेको छ । हामी यात्रुको सेवाका लागि अहोरात तल्लिन भएर लाग्नेछौं ।’ सन् २०१३ मा स्थापना भएको यो एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको छ । दोहा, कोलालम्पुर, दुबई र दम्माममा सेवा दिइरहेको यो एयरलाइन्सले ढाका, हङकङ र ब्यांकक् मा पनि सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी केही महिनामा यो एयरलाइनले चीनको बेइजीङ र छेङडुलाई पनि अन्य शहरहरुसँग जोड्ने योजना बनाएको छ । हाल तीवटा एयरबस रहेको यो एयरलाइन्सले आगामी दिनमा १५ विमान थप्ने योजना तयारी गरेको छ ।

ग्याँस कमिशन दोब्बरले बढाउन व्यवसायीको माग, माग पूरा नभए वितरण रोक्ने चेतावनी

काठमाडौं । ग्याँस बिक्रेताहरुले ग्याँसको कमिसन दोब्बरले बढाउन माग गर्दै सरकारलाई दबाव दिएका छन् । ग्याँस बिक्रेता महासंघले कमिशन नबढेकोमा आपत्ति प्रकट गर्दै कमिशन बढाउन माग गरेको हो । अहिले ग्याँसको मूल्य प्रति सिलिन्डर १३२५ रुपैयाँ रहेको छ । महासंघले कमिसन प्रति सिलिन्डर ग्याँस मूल्यको ५ प्रतिशत हुने गरी वृद्धि गर्नुपर्ने माग अघि सारेको छ । उनीहरुले अहिले प्रतिसिलिन्डर ३२ रुपैयाँ पाउँदै आएको कमिसनलाई ६५ रुपैयाँ बढाउन माग गरेका हुन् । महासंघले आइतबार आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना विभिन्न ७ बुँदे माग पुरा नभए डिलरहरुले सरकारलाई ग्याँस वितरण नगर्ने चेतावनी दिएको छ । गत साउनमा सरकारले कमिशन नबढाई ग्यासको मूल्य कायम गरेकोमा आपत्ती प्रकट गरेको छ । आफ्नो माग सम्बोधन नभए ग्याँसको बिक्री वितरण रोक्ने चतावनी महासंघले दिएको छ । आयल निगममा बिक्रेताहरुले आफ्ना मागसहित ज्ञापनपत्र पेश गरिसकेका छन् । बढ्दो महंगीका कारण अहिले पाइरहेको कमिसन अपुग भएको बिक्रेताको तर्क छ । दिनदिनै भइरहेको मूल्य वृद्धिलाई थेग्न नसक्दा ग्यास व्यवसायी पलायन हुनुपर्ने अवस्था रहेको महासंघको भनाई छ । नेपाल आयल निगमले ग्यासको भाउ बढाउने तर व्यवसायीले पाउने मूनाफा कहिले वृद्धि नभएको उनिहरुले बताएका छन् । उनीहरुको मागअनुसार डिलर कमिसन बढेमा आयल निगमले ग्यासको मूल्य पनि बढाउने निश्चित छ । महासंघले विगत ५ वर्षदेखि सबै उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहँदा कमिसन बढाउनुपर्ने बताएको छ । यो पटक माग सुनुवाइ नभए ग्यासको वितरण समेत ठप्प पार्ने चेतावनी दिएका छन् । साथै व्यवसायीले बिक्रेताको प्रमाणीकरण प्रक्रिया अगाडी बढाउनुपर्ने माग पनि अघि सारेका छन् । ग्यासमा कायम राखिएको मूल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने महासंघले सरकारसमक्ष माग राखेको छ  । एलपि ग्यास सर्वसाधरणको चुलोमा अतिआवश्यक भएकाले यसमा भ्याट हटाउनुपर्ने उनीहरुको माग छ । देशमा एलपि ग्यासको कुल खपत मध्ये ४० प्रतिशत ठुला घराना र ६० प्रतिशत सर्वसाधारणले प्रयोग गरिरहेको महासंघले जानकारी दिएको छ । ग्यास दुर्घटनालाई न्युनिकरण गर्न डिलरलाई इजाजत दिँदा राम्रो जानकारी भएको र तालिमप्राप्त जनशक्ति राखेरमात्रै दिनुपर्ने, उपभोक्ता सचेतना कार्यक्रम देशभर चलाउनुपर्ने माग अघि सारेका छन् । उपभोक्ताहित प्रतिकुल माग गरेको भन्दै उपभोक्ताकर्मीले ग्यास बिक्रेताको विरोध गरेका छन् । निगम र ग्यास व्यवसायीको आन्तरिक विवादले उपभोक्तालाई प्रतिकुल असर पार्न खोजेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् । उनले भने, ‘अहिले व्यवसायीको कमिशन बढाउँदा र ग्यासको वितरण रोक्ने धम्की दिदाँ त्यसको सिधा असर उपभोक्तालाई पर्छ । सर्वसाधारणलाई असर पार्ने किसिमले कमिसन बढाउने र वितरण रोक्ने धम्कीपूर्ण मागप्रति हाम्रो विरोध छ ।’