प्रधानमन्त्री दाहाल आफ्नै मन्त्रीसँग असन्तुष्ट, गलत छवि निर्माण भइरहनुको कारण गर्दै दाहाल
काठमाडौं २० कात्तिक । माओवादी केन्द्रले सम्हालेका मन्त्रालयको कामकारबाही प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीका मन्त्रीहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको ठीक ३ महिना पुगेको दिन शुक्रबार प्रधानमन्त्री दाहालले पार्टी सम्बद्ध मन्त्रीलाई बालुवाटार निवास बोलाई सोधेका थिए। ‘हाम्रा नेताले सम्हालेका मन्त्रालयबारे जनता र कार्यकर्ताको गुनासो दिनहुँ मकहाँ आइरहेको छ,’ दाहालले मन्त्रीहरूसँग भने, ‘मैले सुरुमै भनेको थिएँ, यो सरकार सिंगो पार्टीका लागि अग्निपरीक्षा हो, तर यस कुरालाई किन गम्भीर रूपमा लिइएन ।’ बैठकमा सहभागी एक नेताका अनुसार दाहालले सन्तोषजनक काम नभए सम्बन्धित मन्त्रालयका मन्त्रीको विकल्प सोच्ने चेतावनी पनि दिए । आफूले सरकारको छवि राम्रो बनाउन अरू समयभन्दा बढी खटेर काम गरिरहेको भन्दै उनले युद्धकालको स्पिरिट सरकारमा देखाउनुपर्ने समेत बताए । सरकार सय दिनमा टेक्न लागिरहेका बेला प्रतिपक्षीहरूले समेत कार्यक्षमतामाथि प्रश्न उठाउन थाल्ने भन्दै दाहालले माओवादीलाई ‘हनिमुन’ मनाउने सुविधा नरहेको स्मरण मन्त्रीहरूलाई गराएका थिए । भेटमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, ऊर्जामन्त्री जनार्दन शर्मा र स्थानीय विकासमन्त्री हितराज पाण्डे भने अनुपस्थित थिए । बिहान ९ बजे आयोजित माओवादी मन्त्री बैठकको सूचना एक घण्टाअघि मात्रै गरिएकाले केही मन्त्री अनुपस्थित रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनायो । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले भने बैठकमा माओवादीका मन्त्रीबारे किटेर कुराकानी नभएको दाबी गरे । ‘कार्यसम्पादन कसरी राम्रो बनाउन सकिन्छ भन्नेमै कुरा भयो,’ उनले भने, ‘मुख्यतस् हालसम्म भएका कामबारे पनि जनतामा राम्ररी कुरा लैजान सकिएन, बरु नकारात्मक प्रचारले बढी ठाउँ पायो भन्नेमा छलफल भएको हो। प्रधानमन्त्रीज्यूले राम्ररी काम गर्न र भएका राम्रा कामको बाहिर प्रभावकारी सञ्चार गर्न आग्रह गर्नुभएको छ ।’ कान्तिपुर दैनिकबाट ।
भारतीय राष्ट्रपति जानु अगाडि नै एमाले जनकपुुरमा, शुभकामना कार्यक्रम लिएर एमाले मधेश प्रवेश
काठमाडौं १९, कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीवार दुई नम्बर प्रदेश कमिटीको आयोजनामा जनकपुरमा दसैं, तिहार र छठसहितको पर्वका अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जानकी मन्दिरमा दर्शन तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन भारतीय राष्ट्रपति प्रणव मुखर्जी जानु एक दिनअघि एमालेले गरेको यो कार्यक्रमलाई धेरैले अर्थपूर्णरुपमा हेरेका छन् । अध्यक्ष केपी शर्मा ओली नपुगेपनि कार्यक्रममा दुई वरिष्ठ नेतासहित दोस्रो र तेस्रो तहका अधिकांश नेताहरु उपस्थित भएका थिए । मधेस आन्दोलनका क्रममा मधेसवादी दलहरुले जनकपुरस्थित कांग्रेस तथा एमाले पार्टी कार्यालयमा पटक पटक आक्रमण समेत गरेका थिए । मधेसविरोधी भन्दै एमाले कार्यकर्ताहरु पनि उनीहरुको तारो बन्न पुगेका थिए । एमाले दुई नम्बर प्रदेश कमिटीको आयोजनामा भएको यो कार्यक्रममा करिब १५ हजार एमाले कार्यकर्ता र सर्वसाधरणको उपस्थिति रहेको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले यो कार्यक्रमलाई छठको अवसरमा शुभकामना आदान प्रदान गर्नका लागि आयोजना गरिएको दाबी गरेको छ । तर यो कार्यक्रमको तयारी भने दुई नम्बर प्रदेशले दसैँअघिबाटै थालेको थियो । राजनीतिक नाम नदिई शुभकामना आदानप्रदान कार्यक्रम भनिएपनि एमालेले यो कार्यक्रममार्फत मधेसमा आफ्नो बलियो पकड रहेको सन्देश जनकपुरबाट मधेसी दल र भारतलाई समेत दिन खोजेको छ । राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणको सुरक्षाव्यवस्थासहितको तयारी गर्न भारतबाट आएका अधिकारी र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरु जनकपुरमै रहेका बेला एमालेले यो शुभकामना कार्यक्रममार्फत ‘बुझिने शैली’ मा स्पष्ट सन्देश दिन खोजेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई मधेसविरोधी भन्दै भारतकै डिजाइनमा कांग्रेस र माओवादीले ढालेको आरोप एमालेवृत्तले लगाइरहेका सन्दर्भमा आजको जनकपुरको कार्यक्रममार्फत धेरै भ्रम चिर्न सफल भएको दाबी एकजना एमाले नेताको छ । मिथिला भवन प्राङ्गणमा भएको आजको कार्यक्रममा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र नागेन्द्र चौधरीसहितका नेताहरु सहभागी थिए । कार्यक्रमस्थलबाट सचिव भट्टराईले अब एमाले मधेसकेन्द्रित अभियानमा लागेको जानकारी दिए । ‘भारतीय राष्ट्रपयि आउने कार्यक्रमसँग यसको कुनै साइनो सम्बन्ध छैन । हामीले पार्टीलाई तराई–मधेसमा नेकपा संगठन विस्तारमा केन्द्रित गर्दैछौं’, सचिव भट्टराईले भने, ‘एमालेबारेमा तराई–मधेसमा सिर्जना गरिएका भ्रमलाई तोड्ने काम जनकपुरबाट सुरु भएको छ । कारोबार दैनिकबाट ।
आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै, राडार बिग्रदा उडान व्यवस्थापनमा हम्मेहम्मे
काठमाडौं १९, कात्तिक । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान ९नोटाम० जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ । मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन् । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ । बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो । बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो । बिहीबार राडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार बुधबार बेलुका ८ बजेदेखि बिग्रिएको राडार २१ घण्टापछि आर्थात् बिहिबार बेलुका ५ बजे मात्रै बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट ।