टर्कीसको जहाज कवाडिमा विक्यो, काठमाडौमै जहाजभित्र संग्राहालय संचालन गर्दै बेद उप्रेती

काठमाडौं ८, कात्तिक । उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । ‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ । यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने । काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले भने । कान्तिपुर दैनिकबाट ।

अस्तव्यस्त कलंकी चोक स्वरूप फेरिँदै, कलंकी चोकमा १६ मिटरको सबवे बन्दै

काठमाडौं, ७, कात्तिक । राजधानी भित्रिने र बाहिरिने मुख्य प्रवेशद्वार कलंकीले चाँडै आफ्नो स्वरूप फेर्ने भएको छ । विनाअवरोध काम अघि बढे कलंकी चोकले अबको डेढ वर्षभित्र रूप फेर्नेछ । विनाअवरोध सवारीसाधन आवागमन गर्न सक्नेछन् । यात्रुले घन्टौँ ट्राफिक जामको समस्या झेल्नुपर्ने छैन । यसका लागि सडक विभाग निर्माण कार्यमा जुटिसकेको छ। चिनियाँ सरकारको सहयोगमा विभागले कलंकी चोकको रूप फेर्न लागेको हो । सडक विभागले कलंकी चोकको निर्माण कार्यमा चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपलाई जिम्मेवारी दिएको छ । ठेकेदार कम्पनीको आग्रहपछि विभागले कलंकीस्थित ओभरहेड ब्रिज हटाइसकेको छ । कलंकी चोकलाई अत्याधुनिक बनाउन आसपास रहेका संरचनासमेत हटाइसकिएको छ । काठमाडौं चक्रपथ विकास आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अबको केही वर्षभित्रै कलंकी चोक नयाँ बन्नेछ । ‘कलंकी चोकले डेढ वर्षभित्रै स्वरूप फेर्नेछ । कलंकी चोकलाई अत्याधुनिक बनाइनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन विनाअवरोध आउजाउ गर्न सक्नेछन् । चक्रपथ परिक्रमा गर्ने सवारीसाधन पनि अवरोधविनै चल्न सक्नेछन्,’ उनले भने । चोकमा १६ मिटरको सब–वे थानकोटबाट कालिमाटीतर्फआउने र जाने यातायात साधनका लागि कलंकी चोकमा १६ मिटर फराकिलो सडक हुनेछ । र, त्यसको ठीक तल १६ मिटर लामो सब–वे हुनेछ । जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने आठ सय ४० मिटर लामो हुनेछ। खसीबजार पुलबाट अन्डरपासमा छिरेका गाडी बाफल पुलमा निस्कनेछन्। अन्डरपास र सुरुङ चार लेनको हुनेछ । यो बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् । खसीबजार पुलबाट सुरु हुने अन्डरपासबाहेक दायाँबायाँबाट भने अहिलेको जस्तै स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुग्नेछन् । खसीबजारतिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउ(जाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउ(जाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फआउ(जाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउ(जाउ गर्नेछन् । प्रत्येक लेन चार मिटर चौडा हुनेछन् । कुन सडकमा कसरी सवारीसाधन गुडाउने ? नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विनाअवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् । नयाँ पत्रिकामा दैनिकबाट ।

धरहरा पुनःनिर्माणको काम सुस्त, आफ्नै लागतमा बनाउने अभियानमा उत्साह भएन

काठमाडौं ७, कात्तिक । काठमाडौंको ‘ल्यान्डमार्कको रूपमा धरहरा पुनःनिर्माण गर्न जुन उत्साहका साथ उद्घोष गरिएको थियो सोही उत्साहका साथ काम अगाडि बढ्न भने सकेको छैन । नेपालीको आफ्नै लागतमा धरहरा पुनःनिर्माणका लागि रकम सङ्कलन गरिए पनि ठूलो मात्रामा रकम भने उठेको छैन । प्रस्तावित अत्याधुनिक सुविधासहितको धरहरा पुनःनिर्माणका लागि तयार भएको डिजाइनबारे अझै पनि परिमार्जनकै चरणमा छ । धरहराको डिजाइन बनाएको केज कन्सल्टेन्ट एन्ड एमआरपी एसोसिएट्ससँग संस्कृति मन्त्रालयले अनुमानित लागतसहित विस्तृत स्ट्रक्चरल डिजाइन तयार गर्न लगाएको छ । कम्पनीका प्रवन्ध निर्देशक एवम् आर्किटेक्चर डिजाइनर विष्णु पन्थीले धरहराको स्ट्रक्चरल डिजाइनको काम भइरहेको जानकारी दिनुभयो । अनुमानित लागतसहितको विस्तृत डिजाइन निर्माण गरेर मन्त्रालयमा छिटै बुझाइने जानकारी उहाँले दिनुभयो । ठूलो परियोजना भएका कारण डिजाइन र लागत निकाल्न बढी समय लागेको जानकारी उहाँले दिनुभयो । धरहराको प्रस्तावित डिजाइन अनुसार भूकम्पका कारण भत्किएको धरहरालाई यथावत् रूपमा संरक्षण गरेर भूमिगत पार्किङ, सङ्ग्रहालय, बगैचासहितको क्षेत्र विस्तार गर्ने योजना मन्त्रालयले बनाएको छ । दुईवटा लिफ्ट सुविधासहित ११ तले धरहरा ठड्याउने योजना केपी ओली नेतृत्वको तत्कालीन सरकारले बनाएको थियो । सोही अनुरूपको डिजाइन तयार भए पनि उक्त डिजाइन मन्त्रिपरिषद्बाट भने अझै स्वीकृत भएको छैन । डिजाइनका बारेमा हालका मन्त्री पनि सकारात्मक हुनुभएकाले मन्त्रिपरिषद्बाट पास भएपछि काम सुरु हुने केज कन्सल्टेन्टले जानकारी दिएको छ । गोरखापत्र दैनिकबाट ।