प्रचण्ड देशको खलासी, सबैलाई मिलाएर लैजान खलासीको भूमिका निर्वाह गरिहेको प्रचण्डकै भनाई
काठमाडौं १३, मंसिर । म आफूलाई यो देशको खलासी नै ठानेको छु र खालासी जस्तै सबैलाई मिलाएर लैजान बल गरिरहेको छु । यसमा तपाई सबैको साथ चाहिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार साझा यातायातका अपांगमैत्री बस उद्घाटन गर्दै भने । साझा यातायातले नयाँ ३० वटा बस थप गरेको अवसरमा उद्घाटन गर्न पुगेका प्रचण्डले निकै भावनात्मशैलीमा भने । प्रधानमन्त्री दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताए । नागरिक दैनिक ।
महाअभियोग दर्ता भएको ४० दिन सम्मपनि प्रक्रिया सुस्त, राजनीनितिक खिचातानीमै अल्झियो संसद
काठमाडौं, १३, मंसिर । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको ४० दिन पुग्यो । तर, संसद् भने महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउन सुस्त देखिएको छ । एमाले र माओवादीका १ सय ५७ सांसदले गत कात्तिक ३ मा दर्ता गरेको प्रस्ताव कात्तिक ९ मा संसद्मा पेस भएको थियो । कात्तिक ९ देखि मंसिर ५ सम्म भएका संसदका ६ बैठकमा प्रस्तावमाथिको छलफलमा ५१ सांसदले भाग लिएका छन् । | छलफलमा भाग लिन नाम टिपाएका सांसद बाँकी रहेकै बेला मंसिर ५ मा स्थगित संसद् मंगलबार बस्दैछ । छलफल सकिएपछि महाअभियोगका आरोपीविरुद्धको अनुसन्धान तहकिकातका लागि सदनले महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गर्नुपर्छ । कान्तिपुर दैनिकबाट ।
गैरआवासीय नेपालीलाई परराष्ट्र मन्त्रीको आग्रहःविदेशमा प्राप्त गरेको ज्ञान नेपालको विकासमा लगाउनुस्
सिड्नी, १० मङ्सिर । परराष्टमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नविर्सिन आग्रह गरेका हुन् । उनले भने, “तपाइँहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हरसमय लाग्न मेरो आग्रह छ । ” विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले संबृद्ध र र समुन्नत नेपालको निर्माण गर्न धेरै समय लाग्दैन, उनले भने । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैरआवासीय नेपाली नागरिकलाई आग्रह गरेको मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ्यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातावरण अब राम्रो भएको वास्तविकता बुझ्न आफू रहेको देशमा पनि यो सन्देश प्रवाह गर्न संसारमा रहेका गैरआवसीय नेपाली समक्ष विशेष जोड दिए । गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आफूले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाँडै हुने जानकारी पनि दिए । मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कुटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राखे । सो कार्यक्रममा मन्त्री डा महतले गैरआवासीय नेपाली सङ्घद्वारा प्रकाशित स्मारिकाको विमोचन गरे । यसैगरी मन्त्री महतले शुक्रबार बिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरेका थिए । मन्त्री डा महतले भोलि शनिबार सिड्नीमा गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र यहाँस्थित नेपाली दुतावासद्धारा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ । रासस