राजधानीवासीलाई तिहारपछि मात्रै अनुदान, सरकारी प्रक्रियामै ढिलाई

काठमाडौं १६, असोज । भूकम्पले भत्किएका निजी घरहरुको निर्माणका लागि भदौ मसान्तभित्र दिने भनिएको अनुदान रकम काठमाडौं उपत्यकाको हकमा भने तिहार पछि पुग्ने भएको छ । फाइल तस्बिर राष्ट्रिय पुर्निर्माण प्राधिकरणले विशेष अभियानअन्तर्गत काठमाडौं उपत्यकामा भदौ१५ भित्र लगत संकलन गरिसक्ने भने पनि सो काम बल्लतल्ल असोजको दोस्रो साता सकिएकाले आवास अनुदान पाउने कार्यमा मपहिनौं ढिलाइ भएको हो । राष्ट्रिय योजना आयोगबाट खटिएका जिल्ला लगत संकलन व्यवस्थापन कार्यालयले शुक्रबार तंथ्याक संकलन कार्य पूरा गरेको छ । नगरपालिका र उपमहानगरपालिकाको हकमा यसअघिको तथ्याकंको पुनः परीक्षण र गाविसको हकमा पुनः गणना गरेर तथ्यांक संकलन कार्य सम्पन्न भएको ललितपुरमा तथ्यांक विभागबाट खटिएका राजेश त्रितालले जानकारी दिए । समाचार स्रोतः समाचारपत्र दैनिकबाट ।

२२ लाखले अवलोकन गरे नारायणहिटी संग्रहालय, १९ करोड रुपैयाँ राजश्व संकलन

काठमाडौं १६, असोज । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ । सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको छ । स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटेत्तरी भएको थियो । जसको कारण भूकम्प र भारतीय नाकाबन्दी भएको छ । २०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन् । उनीहरुलागि गत साल ४ करोड रुपैयाँ खर्च भएको थियो । पहिलेको राजदरबारको क्षेत्रफल ७५४ रोपनी आठ पैसा तीन दाम छ । यसलाई व्ययवस्था परिवर्तनपछि नारायाणहिटी संग्रहालय बनाइएको हो । समाचार स्रोत कारोबार दैनिकबाट ।

दसैँको उपहार लिएमा लिनेदिने दुबैलाई कारबाही, चाडवाडका नाममा उपहार लिनेदिने बन्द

काठमाडौं १६, असोज । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको समाचार आइतबारको गोरखापत्रमा छापिएको छ। यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनुरदिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताए। प्रहरीले यस्तो कुरा लिनै मिल्दैन । उनले भने, “यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ । ” उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन्। महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको छ । महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो । यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए। यसैबीच, गोङ्गबु नयाँबसपार्कबाट सुदूरपश्चिम क्षेत्रमा चल्ने बसको टिकट सकिएको हल्ला फैलिएपछि त्यसको समाधान गर्न प्रहरी निरीक्षक पूर्णिमा चन्द आफै खटिएका छन्। महानगरीय प्रहरी प्रभाग बसपार्क प्रमुख चन्दले टिकट सकिएको हल्ला निराधार भएको बताए। अन्य क्षेत्रको भन्दा सुदूरपश्चिम जानेको चाप बाक्लो छ, उनले भने, ‘सीमित यातायातका साधन, यात्रुको बाक्लो चापका कारण टिकटमा सामान्य समस्या देखिए पनि बस थप्नेबित्तिकै सबै समस्या समाधान हुन्छ, बसपार्क क्षेत्र आजसम्म अपराधमुक्त क्षेत्र भएको छ ।’