पहिलो किस्ताको ५० हजारः दसैंखर्च, तिरोभरो अनि थोरै मस्तीमा

काठमाडौं १३, असोज । सिन्धुपाल्चोकको मेलम्चीको सिन्धुविकास बैंकबाट पहिलो किस्ताको ५० हजार रुपैयाँ निकालेपछि ज्यामिरेका दुई लाभग्राही घर निर्माणका लागि पाएको अनुदान जुवाको खालमा स्वाहा पारेर फर्किए । कृषि विकास बेंक चौताराबाट पहिलो किस्तावापत ५० हजार हात पारेपछि बतासेबाट आएका दुई वृद्धा भन्दै थिए, ‘रक्सी पनि खाइयो यहाँ बस्दा र आउँदा ८ हजार खर्च भइसकेको छ , अब दसैं पनि मनाउनुपर्छ बाँकी सेको पैसाले घर निर्माण सुरु गर्नुपर्ला भन्ने समाचार विहिबारको राजधानी दैनिकमा छापिएको छ । खाडीचौरमा रहेको सिन्धुविकास बैंकमा लाभग्राहीको सूचीमा श्रीमतीको नाम थियो । पैसा निकाल्न श्रीमान् श्रीमती दुवै बैंक आएका थिए । जब श्रीमतीले बैंकबाट पैसा निकालिन् तव उनीहरुबीच विवाद सुरु भयो । श्रीमान् भन्दै थिए, ‘ऋण तिर्नु छ, पैसा देऊ न ।’ श्रीमतीको जवाफ थियो, ‘यो पैसा त म मरिगए दिन्न, घर बनाउनुपर्छ ।’ जलविरेस्थित देव विकास बैंकमा पहिलो किस्ताको ५० हजार निकाल्न गोल्चेबाट आएका कामी तामाङसँगै साथ लागेर साहु पनि आए । दुई दिनेको लामो प्रतीक्षापछि तामाङले बैंकबाट पैसा हात पार्नासाथ साहुले नै पैसा लिए । केही महिनाअघि घरासयी काममा तामाङले ६० हजार ऋण लिएका थिए । अनुदान अएपछि दिने शर्तमा ।

सिन्डिकेटको मारमा दसैंका यात्रु, सिटभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने माग

काठमाडौं १३, असोज । यातायात व्यवसायी समितिहरूको सिन्डिकेट रहेको क्षेत्रमा नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था नगरिँदा दसैंमा घर जाने यात्रुहरूले टिकट पाउन सकेका छैनन् । सरकारले सिटभन्दा बढी यात्रु ओसार्न कडाइ गरेपछि यातायात व्यवसायीले ‘दबाब सिर्जना गर्न’ भन्दै अतिरिक्त बस थप नगरेका हुन् । सबैजसो रुटमा नियमित सञ्चालन हुने बसको घटस्थापनादेखि २३ असोजसम्मका टिकट बिकिसकेका छन् । तर व्यवसायीहरूले अतिरिक्त बस थपेका छैनन् । सरकारी अधिकारीसँगको बैठकमा उनीहरूले सिटभन्दा बढी यात्रु ओसार्न पाउनुपर्ने माग गरेका छन् । यातायात व्यवसायीहरूले सुरु गरेको कार्टेलिङप्रति यातायात व्यवस्था विभागका अधिकारीहरूले कुनै प्रतिवाद गरेका छैनन् । ‘दसैंका बेलामा यात्रुहरूको चाप हुने भएकाले सिटबाहेक पनि यात्रु ओसार्न पाउनुपर्ने र त्यसमा प्रहरीले कुनै कारबाही गर्न नहुने माग व्यवसायीहरूको छ ।’ यातायात व्यवस्था विभागसम्बद्ध स्रोतले भन्यो, ‘होइन भने यात्रु ओसारेपछि रित्तो बस फर्किंदा लाग्ने इन्धन खर्च सरकारले व्यहोर्नुपर्ने तर्क गरिरहेका छन् ।’ माग सम्बोधन नगरिए नियमितबाहेक अतिरिक्त बसहरूको व्यवस्था गर्न नसकिने व्यवसायीको अडानका कारण यात्रुहरूले सहजै टिकट पाएका छैनन् । बुधबार बिहान गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका देवराज भण्डारीले चार पटक धाउँदा पनि टिकट नपाएको गुनासो गरे । ‘बुकिङ खुलेकै दिन टिकट सकियो भनेर फर्काए,’ अर्घाखाँची सदरमुकाम जान टिकट खोजेका उनले भने, ‘हरेक दिन बोलाउँछन्, बुधबारबस थपेको खबर छैन भन्दै फर्काउँछन् ।’ यातायात व्यवस्था विभागसँगको समन्वयमा व्यवसायीहरूले असोज ९ गतेदेखि दसैंको टिकट बुकिङ सुरु गरेका थिए । तर अधिकांश ठाउँमा नियमितबाहेक अतिरिक्त बस नथपेका कारण एकै दिनमा टिकट सकिएको हो । सिट संख्याभन्दा बढी यात्रु बोक्न नपाउने नियममा सरकारले गरेको कडाइप्रति यातायात व्यवसायीहरू रुष्ट छन् । उनीहरूले दसैंका यात्रुहरूलाई देखाएर सिट संख्यामा गरिएको कडाइमा मोलमोलाई गरिरहेको विभाग स्रोतले बतायो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइबाट पनि यही आशय झल्किन्छ । कान्तिपुर दैनिकबाट ।

सरकारी कार्यालयबाटै खैरो हेरोइनको धन्दा, औषधि व्यवस्था विभाग परिसरभित्र स्टिलको दराजमा २२ ग्राम खैरो हेरोइन

काठमाडौं १३, असोज । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्मास्युटिकल्स प्रालि लेखेको स्टिलको दराजभित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजिटल तराजु फेला परेको समाचार विहिबारको राजधानीमा छापिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । ‘विभागकै परिसरमा रहेको दराजभित्र लागूऔषध फेला परेको यो पहिलोपटक हो’, ब्युरोका प्रहरी नायब महानिरीक्षक  जयबहादुर चन्दले भने । उनका अनुसार औषधि कम्पनीहरूले विभाग परिसरमा औषधि परीक्षणका लागि राख्ने छुट्टै लकरसहितको दराजमा गुप्ताले चरेस रहेका बताएका थिए । गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन् । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो । गुप्ताले बताएअनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो। ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा सूर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षीय गुप्तासँग हेरोइन किनेको खुलेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् । गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेस्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरूका साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । विभाग परिसरमै लागूऔषध फेला परेको विषयमा प्रहरीले विभागका कर्मचारीलाई पनि अनुसन्धानमा राख्ने जनाएको छ । यसअघि, ब्युरोको ध्यान विभागतिर गएको थिएन । औषधि व्यवस्था विभागमा औषधि कम्पनीले आफनो लकर राख्न पाउने व्यवस्थाका बारेमा पनि जानकारी नभएको ब्युरोले जनाएको छ । विभाग आफैं औषधि कम्पनीहरूको नियामक निकाय भएकाले लागूऔषधजस्तो पदार्थका बारेमा जिम्मेवार हुनुपर्ने प्रहरीको दाबी छ ।