कैदी बन्दीको दसैं खर्च तीन सय रूपैयाँ, तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भनाइ

काठमाडौं १५, असोज । नेपालीको महान पर्व बडादसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त छन्। परिवारसँगै मिठो मसिनो खाएर दसैं मनाउने तयारीमा छन्। तर जिल्ला कारागार सिन्धुलीका कैदी बन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा हुने गरेको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । दसैं मान्न सरकारले दिएको प्रतिकैदी तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भएपछि उनीहरू कसैले सहयोग गरे मिठो खाने र आपसमा दसैं मान्ने तरखरमा छन्।

फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी, विदेशी युवकद्वारा नेपाली युवती ठगिए

काठमाडौं १५, असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ। फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ। उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।

वन्यजन्तु चोरीसिकार नियन्त्रणमा नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने

काठमाडौं १५, असोज । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको छ । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्युटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिएको समाचार शनिबारको राजधानी दैनिकमा छापिएको छ ।