राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने, परिचयपत्र खरिदमा साढे १० अर्ब खर्च
काठमाडौं १२, असोज । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ। तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले स्मार्ट कार्ड निः शुल्क पाउने भएका समाचार बुधबारको कारोबारमा छापिएको छ। परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिए। करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दा बढी रकम खर्च हुनेछ। एउटा स्मार्ट कार्डलाई ३ देखि ४ डलरसम्म पर्छ। यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ। जसका २५ वटा फिचर समावेश गरिनेछ। कार्यकारी निर्देशक भट्टराईका अनुसार २०७४ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।
ठग्न नपाएपछि आन्दोलन, मिटर विगारेर ठग्नेलाई कारवाहि गरिएको विरोधमा ट्याक्सी जाम
काठमाडौं १२, असोज । बैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए। एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्यो । बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारवाही गर्यो । वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारवाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारवाहीमा पर्ने गरेका छन् । तर मंगलबार भने कुनै पनि ट्याक्सी चालक कारवाहीमा परेनन् । किनभने मंगलबार ट्याक्सी चालकहरुले ट्राफिक प्रहरीले चलाएको कारवाही अभियानको विरोधमा ट्याक्सी चलाएनन् । यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारवाहीका विरोध गर्दै ट्याक्सी जाम गरिएको समाचार बुधबारको कान्तिपुरमा छापिएको छ। उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्याल यात्रुलाई सहज तरिकाले गन्तब्यमा पुर्याउन अनुरोध गर्दा नमानेपछि कारवाही अभियान चलाएको बताउँछन् । ‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दुःख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊ भन्दा आन्दोलन गर्ने कस्तो अचम्म रु’ जति आन्दोलन गरे पनि यात्रु ठग्नेलाई कडा कारबाही गरेरै छोड्ने उनले चेतावनी दिए।
साल्ट ट्रेडिङले ९ रुपैयाँमा बेच्ने नुन तिव्बती सीमाका दुर्गम गाँउमा १ सय ७० रुपैयाँसम्म, नुन पनि सुन जस्तै महंगो
काठमाडौं १२, असोज । तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर्गममा पुग्दा महँगिएको हो । ढुवानी भाडाले आयोडिनयुक्त नुन महँगो पर्ने भएकाले यहाँका अधिकांशले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छन । ‘नुन पनि सुनजस्तै महँगो भयो, आयो नुन त अब हुनेखानेले मात्र प्रयोग गर्छन्,’ काँडा धुली गाउँका लालसिंह बोहराले भने, ‘महँगो भएकाले सबैले त्यो नुन खान सक्ने अवस्था छैन ।’ गाउँका केही परिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गरिरहेको र अरू बाँकी तिब्बती ढिके नुनकै भरमा बाँचिरहेको उनले बताए । तिब्बतबाट भेडामा ल्याएको नुनको मूल्य धुलीमा प्रतिकिलो ६० रुपैयाँ छ । आयोडिनयुक्त नुन १ सय १० रुपैयाँ पर्छ । खच्चरबाट ल्याउँदा सदरमुकामदेखि धुलीसम्मको भाडा प्रतिकिलो ९० रुपैयाँ पर्ने भएकाले नुनको मूल्य महँगो भएको यहाँका व्यापारी जयपाल लामाले बताए । चैतदेखि असारसम्म र भदौदेखि मंसिरसम्म खच्चर चल्ने र अन्य महिनामा वर्षा र हिउँका कारणले बाटो बिग्रने भएकाले भरियालाई बोकाएर ढुवानी गर्नुपर्दा मूल्य झन्डै दोब्बर परिरहेको उनको भनाइ छ । ‘भरीयाद्वारा ल्याउँदा एक किलोको १ सय ७० रुपैयाँ पर्न जान्छ,’ उनले भने, ‘भाडा नै त्यति तिरेपछि हामीले कतिमा बेच्नु रु यहाँ पोकाको नुन खान सक्ने परिवार नै कम छन् ।’ खच्चरबाट ढुवानी गरेको नुन पनि बलौडीमा किलोको १ सय २० र त्यसभन्दा माथि रहेका अस्थायी होटलहरूमा १ सय ५० सम्म पर्ने गरेको समाचार बुधबारको कान्तिपुरले छापेको छ ।