कम गुणस्तरका कारण जहाजको टायर पन्चर, मिचेलियनका टायर प्रतिबन्धित

काठमाडौं २९, भदौ । कमजोर गुणस्तरका कारण टायर पन्चर आशंकामा अबदेखि वायुसेवा निगमले रिप्रिट (मर्मत) गरेको टायर जहाजमा प्रयोग नगर्ने निर्णय मंगलबार नै गरेको छ । निगमको ए३२०–२२ सिरिजको ९एन एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज अवतरण क्रममा धावनमार्गमा टायर पन्चर हुँदा ठूलो दुर्घटनाबाट बचेको थियो । एक सय ५० यात्रु सवार यो जहाजको पांग्रा धावनमार्गमा ठोक्किनेबित्तिकै देब्रेतर्फको दुई नम्बरको टायर पन्चर भएको हो । जहाजमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत पनि सवार थिए । पटकपटक टायरमा आएको समस्याले उडान जोखिम बढाएको निष्कर्ष निकल्दै निगमले मर्मतपछि प्रयोग गर्ने गरेको टायर प्रयोग नगर्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अमेरिकी कम्पनी मिसेलिनले बनाएको यो टायर थाइल्यान्डको बैंककमा रिप्रिट(मर्मत)हुने गरेको छ । पटकपटकको समस्याका कारण निगमले रिप्रिट भएको टायर प्रयोग नगर्ने निर्णय गरेको हो ।कंसाकारका अनुसार मंगलबार बसेको निगमको इन्जिनियरिङ, क्वालिटी, मेन्टेनेन्सहितका विभागको निर्णयले कम्पनीबाट आएको नयाँ टायरमात्रै प्रयोग गर्ने निर्णय गरेको छ । मिचेलियनका टायर प्रतिबन्धित नेपालको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्रधिकरणले नेपालमा दर्ता भइ अन्तर्राष्ट्रिय उडान गरिरहेका वायु सेवा कम्पनीका जहाजमा ‘मिचेलियन’कम्पनीका टायर प्रयोगमा रोक लगाएको छ। हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम र निजी क्षेत्रको हिमालयन एयरलाइन्सले काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। ती मध्ये वायु सेवा निगमले डेढ वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएका दुई थान ‘ए ३२०,२००’ सिरिजका जहाजमा मिचेलियनका टायर प्रयोग गरिरहेको छ। निगमको ए ३२० जहाजमा रहेका टायर लगातार तेस्रोपटक पंक्चर भएपछि प्राधिकरणको हवाइ उड्डयान सुरक्षा विभागले अर्को निर्णय नभएसम्म प्रयोगमा रोक लगाएको हो ।  निगमले मर्मतपछि प्रयोग भएको यो टायरका कारण भएको यो घटनाको क्षतिपूर्ति मााग दाबी गर्ने पनि उल्लेख छ ।

पाँच वर्षमा भित्रियो खर्बको सुन, अनुत्पादक क्षेत्रमा पैसा खर्च

काठमाडौं २९, भदौ । पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ। यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको बुधबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ। Gold bars उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। वार्षिक ८० हजार ९ सय २१ रूपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०६८/  ६९ मा ५७ हजार ३ सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अर्ब ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन्। ८० हजार नौ सय २१ रुपैया आय भएका नेपालीले अनुत्पादक सम्पतिका रुपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी रहेको देखिनुले अनुत्पादक क्षेत्रमा खर्च बढेको पनि तथ्यांकले देखाएको छ । केही वर्षयता ठूलो परिणाममा चीनलगायतका देशबाट सुन भित्रिएपनि भने मौन रहेको छ ।

बुद्ध एयरमा स्याल ठोक्कियो, अप्रिय घटना हुनबाट जोगियो

भदौ २९, भदौ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार साँझ स्याल ठोक्एिको छ । जहाज अवतरण गर्न कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वे ( पार्किङ) मा छिर्दै गर्दा स्याल ठोक्किएको हो । स्याल ठाउँको ठाउँ मरेको छ । गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे । बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो । यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुनस् बन्द हुन गयो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘धावनमार्गमा रगतैरगत थियो, ७ बजेर ३१ मिनेटदेछि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ उनले भने । यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो । ‘जहाज होल्ड गर्न प्रयाप्त तेल थिएन, पाइलटले होल्डमा बस्नु भन्दा लखनउतर्फ जहाज फर्काए,’ ओमन एयरका काठमाण्डु एयरपोर्ट सर्भिस म्यानेजर भरत श्रेष्ठले भने । ‘होल्डमा बस्नका लागि आठ मिनेटभन्दा बढीका लागि इन्धन थिएन,’ श्रेष्ठले भने । यहीबेला कतारको राजधानीबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुइटा विमान होल्डमा रहेको समाचार बुधबारको कान्तिपुर दैनिकमा छापिएको छ ।