आयल निगममा जागिर लाइदिने भन्दै साढे २ लाख ठगी

काठमाडौँ, ३ साउन । नेपाल आयल निगममा जागिर लगाई दिने भनी नक्कली नियुक्तिपत्र समेत दिई ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका–६ घर भई रौतहट चन्द्रनिगाहापुर बस्ने २५ बर्षीय दिपक ठाकुर र रौतहट चन्द्रनिगाहपुर बस्ने ३१ बर्षीय दिपेन्द्र साह कानु रहेका छन् । ठाकुरले आफ्नो साथी सुरज अधिकारीसँग मेरो थानकोट डिपोमा जागिर भयो मासिक तलव २७ हजार रुपैयाँ  छ भनी नियुक्तिपत्र देखाई तिम्रा मान्छे कोही भए जागिर लगाइदिन्छु ५ लाख लाग्छ भनी बताएको र आप्mनो पनि फर्म नै नभरी नियुक्ति भएको हो फर्म भर्न पर्दैन भनी आश्वस्त तुल्याएपछि अधिकारीले आफ्नो दिदी श्रृजना अधिकारीलाई जागिर लगाइदिन भनेका थिए । जागिर लगाए बापत ५ लाख चाहिन्छ भनी पटक पटक गरी २ लाख ५६ हजार रुपैयाँ दिपेन्द्र साह कानुको खातामा राख्न लगाएका थिए । उनीहरुले नियुक्ति पत्रको फोटोकपी उपलब्ध गराए पश्चात आयल निगममा गई पीडितले बुझ्दा नक्कली भएको थाहा पाएपछि महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । ठगी कार्यमा संलग्न कानु र ठाकुरको बारम्बार लोकेशन रौतहट चन्द्रनिगाहापुरमा देखिएकोले महाशाखाको पहलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई आवश्यक थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

नागरिकता बनाउँदा १० हजार खर्च

बनेपा, २ साउन । काभ्रेपलाञ्चोकको दुर्गम गाविस मानिने महाभारत शृङ्खलाडाँडापारिका बासिन्दा नागरिकता बनाउन १० हजार रुपैयाँसम्म खर्च गरेर धुलिखेल आउन बाध्य भएका छन् । डाँडापारिका गाविसलाई लक्षित गरी घर्तीछाप गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरे पनि कर्मचारी गाउँ जान नमान्दा स्थानीयलाई नागरिकताका लागि धुलिखेल आउन सास्ती खेप्नुपरेको हो । घर्तीछाप गाविस–५ का नन्दलाल रानामगरले नागरिकता बनाउन सदरमुकाम धुलिखेलसम्म पुग्दा १० हजार ख रुपैयाँसम्म खर्च लाग्ने गरेको दुखेसो पोखेका छन्। उनले गाउँबाट दुई दिनसम्म हिँडेर नागरिकता बनाउनुपर्ने र नागरिकताको लागि दुईजना जानुपर्ने भएकाले पाँच दिनसम्म बस्दा महँगो खर्च गर्न बाध्य भएको बताए । काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले गृह मन्त्रालयले कर्मचारी तोके पनि कार्यालयमा हाजिर हुन नआएको जानकारी दिए। घर्तीछाप गाविसमा रहेको जनकल्याण उमाविका शिक्षक गिरिराज महराले सदरमुकामसम्म जाने रकम कै अभावमा डाँडापारिका धेरै स्थानीयवासीले नागरिकता नै नबनाएको जानकारी दिए । घर्तीछापका गाविस सचिव रेवतीरमण निरौलाले शाखा अधिकृतलाई काजमा खटाए पनि कर्मचारी इलाका प्रशासन कार्यालयमा नगएको बताए । आर्थिक अवस्था कमजोर र सडकको पूर्वाधार समेत नपुगेका घर्तीछाप, बनखुचौर, फोक्सिङटार, गोकुले, बुढाखानी, साल्मेचाकल, साल्धारा, फलामेटार, डाँडागाउँ र मिल्चे गाविसका स्थानीय सरकारी सेवा सुविधा लिन कै लागि ठूलो आर्थिक नोक्सानी व्यहोरेर धुलिखेल आउने गर्दछन् । डाँडापारीका आठ गाविसलाई पायक पर्ने स्थान भन्दै घर्तीछाप गाविसमा तीन वर्ष अगाडि नै इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएको थियो । रासस

पुष्प व्यवसायी माथी ज्यादती भएको आरोप

काठमाडौं, २६ असार । फ्लोरिकल्चर एसोसियसन अफ नेपाल(फ्यान)ले सरकारले पुष्प व्यवसायीमाथी ज्यादती गरेको आरोप लगाएको छ । असार २४ गते घरेलु तथा साना उद्योग विकास समितिले प्रहरीको सहयोगमा बत्तिसपुतलीस्थित जय किसान नर्सरी, रोजमेट गार्डेनीङ्ग तथा पञ्च कुमारी नर्सरीमा प्रहरीले डोजर लगाएर खाली गरेको थियो । आफ्नो जमिनमा भूमाफियाले कब्जा जमाएको भन्दै समितिले प्रहरीको सहयोगमा जग्गा खाली गरेको थियो । फ्यानले भने ठूलो पुँजी, श्रम र समय लगाएर उत्पादन गरिरहेको फूलको बोट बिरुवाहरु तथा भौतिक संरचना पुरै ध्वस्त पारेको आरोप लगाएको हो । समितिले आफुहरुलाई एक घण्टा समय समेत नदिएको उनीहरुको आरोप छ । राज्यको सम्पती हडप्ने पुष्प व्यवसायीहरुको उदेश्य नरहेको र मुद्धा चलिरेको खाली जग्गामा ४ दशक देखि मोहि लक्ष्मण श्रेष्ठ, बिद्या देवी श्रेष्ठ र मैयादेवी श्रेष्ठसंग भाडामा लिई व्यवसाय संचालन गर्दै आएको पनि उनीहरुले दावी गरेका छन् । फ्यानका महासचिव मिन बहादुर तामाङले तीन करोडको क्षति भएको र सो क्षतिको क्षतिपुर्ति दिलाइदिन समेत माग गरे ।