अनलाइन माध्यमलाई अङ्कुश लगाउन नहुने
काठमाडौं, ६ असार । अनलाइन सञ्चार माध्यमलाई अङ्कुश लगाउन नमिल्ने सरोकारवालाले बताएका छन् । ‘लावण्य सन्देश’ साप्ताहिकको छैटौँ वार्षिकोत्सवको अवसरमा साँखुमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले जनताको सूचना पाउने अधिकारबाट कसैले रोक्न नसक्ने बताए । उनले सरकारले अनलाइन सञ्चार माध्यमलाई अङ्कुश लगाउन लागेको भन्ने कुरालाई बचाउ गर्दै अनलाइन सञ्चार माध्यमलाई कानुनको दायरामा ल्याउनका लागि यस्तो गरिएको स्पष्ट पारे । उनले भने, “आफ्नो अधिकार स्थापित गर्न अर्काको अधिकार हनन् गर्न हुँदैन, अर्काको अधिकार हनन् गर्ने सञ्चारमाध्यम समाजप्रति विश्वासिलो बन्न सक्दैन ।” नेपाली काँग्रेसका काठमाडौं क्षेत्र नं २ का सांसद दीपकप्रसाद कुँइकेलले जनताको सूचना पाउने अधिकारमाथि कसैले खेलबाड गर्न नहुने बताए । उनले भने, “सञ्चार क्षेत्र खुला भइसकेको छ, त्यसैले यसलाई अङ्कुश लगाउन खोज्नु अनुचित कार्य हो ।” उनले ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने नारालाई सार्थक बनाउनका लागि साँखुक्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले अनलाइनलाई अङ्कुश लगाउनु भनेको जनताको सूचना पाउने अधिकारमाथिको अङ्कुश हुने बताए । उनले साँखु क्षेत्र पौराणिक र धार्मिक महत्वको धनी क्षेत्र भएको भन्दै साँखु र शालीनदीको सभ्यतालाई जोगाउन लावण्य सन्देशले ठूलो भूमिका खेलेको विश्वास व्यक्त गरे। नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सरकारले ल्याएको अनलाइन निर्देशिका संविधानविपरीत भएको बताए । उनले संविधानको धारा १९ /२० मा कुनै श्रव्य, श्रव्यदृश्य तथा समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न नपाइने व्यवस्था भए पनि सरकारले त्यसको विरुद्धमा काम गर्न खोजेको उल्लेख गरे । नेपाल प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष एवम् ‘गोरखापत्र’ दैनिकका समाचार प्रमुख गोकर्ण अर्यालले अनलाइनलाई अंकुश लगाउने कार्य लोकतान्त्रिक मुलुकमा हुन नसक्ने बताए । सो साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ, नेपाली काँग्रेसका नेता उपेन्द्र कार्की, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता सकीमान वद, नेकपा (एमाले)का नेता एलपी श्रेष्ठलगायतले साँखु क्षेत्रमा लाग्ने स्वस्थानी मेलामा लाखौँ आन्तरिक पर्यटक जाने भएकाले यस ऐतिहासिक क्षेत्रको पुनःनिर्माणमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए। कार्यक्रममा साप्ताहिकलाई लेख, रचना र विज्ञापन सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो । रासस
साना सवारीसाधनले मनपरि भाडा लिँदा यात्रु मारमा
उदयपुर, ६ असार । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै जान थालेको छ । कटारी बजारदेखि घुर्मी, रुपाटार, ओख्लेसम्म क्षेत्रको सवारी भाडादर रु ३५० देखि ४०० सम्म निर्धारण भएको तर, सवारी सञ्चालकले यात्रुअनुसार मनपरि भाडा लिने गरेको यात्रु बताउँछन् । रुपाटारकाका स्थानीय मोहन राउतका अनुसार कटारीदेखि रुपाटार ओख्लेसम्मको यात्राको लागि अहिले एक सवारीसाधनले प्रति यात्रु रु ५५० देखि ७०० सम्म भाडा लिने गरेका छन् । साना यातायातका साधन जिप तथा सुमोको यातायात सङ्घको निर्णयअनुसार रु ४०० सम्म भाडादर लिन सक्ने भए तापनि सवारी चालकले बढी महँगो भाडा लिएर यात्रु ठग्ने गरेको ओख्ले–७ का भुपेन्द्र राई बताउँछन् । यस क्षेत्रमा साना सवारीका साधनमा भाडादर अनुगमन गर्ने निकाय नहुँदा र सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु बढी मारमा पर्नुपरेको रुपाटरकै अर्का स्थानीय पदम खड्का बताउँछन् । तर कटारी बेतेनी, रुपाटारसम्मका एक जिप सञ्चालक होमबहादुर मगर भने आफूहरूले समयअनुसार सवारी भाडा बढाउन बाध्य भएको बताउँछन् । साना सवारीका साधन यातायात व्यवसायी सङ्घको समेत निश्चित सवारी भाडादर निर्धारण गरेको भए तापनि यस्ता भाडादर बाहिर देखाउनको लागिमात्र निर्धारण भएको सवारी सञ्चालक नै बताउँछन् । एकातिर एउटा सवारी भाडादर निर्धारण गर्ने र अर्कातिर यात्रुबाट महँगो भाडा लिने कार्य बढ्दै गए पनि सम्बन्धित निकायको यसतर्फ उचित ध्यान नगएको यात्रुको गुनासो रहेको छ । रासस
चितवन निकुञ्जमा ८२ हजार पर्यटक, १२ करोड राजस्व सङ्कलन
चितवन, ६ असार । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सबैभन्दा बढी प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्याङ्कअनुसार निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट रु ११ करोड ९३ लाख ६७ हजार २७३ राजस्व सङ्कलन भएको छ । निकुञ्ज घुम्नेमा ४२ हजार १५१ जना पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन् । सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गरेको पाइएको ढकालले जानकारी दिए । रु आठ करोडभन्दा बढी राजस्व प्रवेश शुल्कबाट मात्रै उठेको छ । चैत महिनामा सबैभन्दा बढी रु एक करोड ८६ लाख ४४ हजार बढी राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष भूकम्पपछिको समयमा निकुञ्जमा पर्यटक शून्य जस्तै भए पनि यो आवमा भने बढेको पाइएको निकुञ्जले जनाएको छ । रासस