बिहीबार इदुल्ल फित्रको अवसरमा सार्वजनिक बिदा, कार्यालय तथा शिक्षण संस्थाहरु बन्द हुने

काठमाडौं, २२ असार । भोलि असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । सो अबसरमा सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन् । गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।

एक साता भित्र १५ लाख उपभोक्ताको सिलिण्डर साटिने

काठमाडौं, २२ असार । भारतीय नाका बन्दीका समयमा बिभिन्न कम्पनीका सिलिण्डरसहितको ग्यास खरिद गरेका उपभोक्ताहरुको त्यस्ता सिलिण्डर साटिने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले एक साता भित्र उपभोक्ताले चाहेको कम्पनीको सिलिण्डर साट्ने व्यवस्था गर्न लागेको हो । ‘एक साता भित्र सार्वजनिक सूचना प्रकाशित गरेर सिलिण्डर साट्ने व्यवस्था गर्दैछौं, सबै उपभोक्ताले आफुसँग भएको सिलिण्डर बुझाएर आफुले चाहेको सिलिण्डर लिन सक्नेछन्’ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । नाका बन्दीका समयमा १५ लाख उपभोक्ताले सिलिण्डरसहितको ग्यास खरिद गरेका थिए । यसैबिच व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिकाले एचपी र सुगम ग्यासलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले दुबै कम्पनीको सिलिण्डर बिस्फोटनको छानबिन गरि कारवाही गर्न निर्देशन दिएको हो । त्यसै गरि समितिले सिलिण्डरको मापदण्ड तोक्दै अन्तराष्ट्रिय स्तरको गुणस्तर कायम गराउन समेत निर्देशन दिएको छ ।

नेपालगन्जमा फोटो बैंक स्थापना, दैनिक जीवनसँग सम्बन्धित तस्बिर राखिने

नेपालगन्ज, २१ असार । समाज विकासमा महत्वपूर्ण योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिको तस्बिर सङ्ग्रहालयका रुपमा यहाँ ‘नेपाल फोटो बैंक’ स्थापना गरिएको छ । राजनीति, समाजसेवा, पत्रकारिता, चिकित्सा सेवा, वाइल्ड लाइभ, प्रकृति संरक्षण, खेलकूद, संस्कृतिलगायतका विधामा योगदान पु¥याउने व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित तस्बिर सो बैंकमा राखिने छ । अन्तराल संस्थाद्वारा स्थापित सो फोटो बैंकको मंगलबार यहाँ आयोजित समारोहमा फोटो पत्रकार क्लबका केन्द्रीय अध्यक्ष विकास कार्कीले शुभारम्भ गरे । समारोहमा राजनीति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका नेपाली कांग्रेसका त्यागी नेता, पूर्व पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र पार्टीका जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइरालाका अति दुर्लभ फोटो बैंकमा राखेर शुभारम्भ गरिएको हो । उक्त अवसरमा नेपाली कांग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले बैंकको कोष सञ्चालनका लागि पाँच हजार रुपैयाँ नगद उपलब्ध गराएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । रासस