पुननिर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन : सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भूकम्पबाट भएको क्षतिलाई पुनःस्थापित र पुननिर्माण गर्ने मात्र नभई मुलुकको नवनिर्माणका लागि पनि सबै एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले आवश्यक ऐन कानुन, कार्यविधि, भौतिक पूर्वाधार र आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरे । विगतका तुलनामा सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्रमा झन्डै ८० प्रतिशत रकम वृद्धि गरेको र यो रकम साना तथा लघुउद्यमको विकासमा विनियोजन गरिने मन्त्री पाण्डेले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै सामाजिक एकीकरण र आर्थिक उन्नतिका कार्यक्रममा जोड दिए । नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पुननिर्माणसँगै जीवनस्तरको पुनः स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै यसमा अस्ट्रेलियन सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा युएनडिपीका राष्ट्रिय निर्देशक रेनाउड मेयरले पुनर्निर्माणसँगै जनताको जीवनस्तर सुधार ल्याउन अस्ट्रेलियन सरकारको सहयोगमा १४ हजार लघुउद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि गरिएको जानकारी दिए । सो अवसरमा युएनडिपीका सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले जीविकोपार्जन पुनःस्थापना परियोजनामार्फत २० हजार घरपरिवारमा सामुदायिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिएको बताए । सम्मेलनमा पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णु भण्डारी, युएनडिपीका अर्थी पटेललगायतका वक्ताहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा विभिन्न जिल्लाका लघुउद्यमीद्वारा निर्मित हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । रासस
एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक ’, अब मात्र ८ रुपैयाँमा ३० मिनेट टक टाइम
काठमाडौं, असार ७ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र ८ रुपैयाँमा खरिद गर्न सक्छन् । यो भ्वाइस प्याक योजना यहि बुधबार (असार ०८) बाट लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र ८ रुपैयाँमा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याकको सुविधा बिहान ५ बजे देखि बेलुका ५ बजेसम्ममा लागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ र ग्राहकले बिहान ५ बजेदेखि बेलुका ५ सम्ममा यो सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।
किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन गर्दै, आयोजना असार १६ र १७ गते काठमाडौंमा हुने
काठमाडौं, ७ जेठ । किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलन असार १६ र १७ गते हायात रेजेन्सी काठमाडौंमा हुने कलेजले बताएको छ । कलेजले सामाजिक उद्यम मार्फत नेपालमा पुननिर्माण भन्ने विषयमा केन्द्रित गरेर उक्त सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा गत साल वैशाख १२ गते गएको भूकम्पपछिको पुनस् निर्माणमा सामाजिक उद्यमशीलताको भूमिकाबारे छलफल हुने कलेजले बताएको छ । कलेजका अनुसार कार्यक्रममा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरुको कथा प्रस्तुत हुनेछ । कार्यक्रममा विश्वभरीका सात विख्यात वक्ताहरुले प्रस्तुती गर्ने आयोजकले जानकारी दिएका छन् । किङ्गस् कलेजका प्रिन्सिपल नरोत्तम अर्यालका अनुसार नेपालमा र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकासमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई एकै छानामा ल्याउनु कार्यक्रमको मुख्य उद्येश्य रहेको हो । नेपालको परिपेक्षमा सामाजिक उद्यमशीलता नौलो विषय भएकाले सम्मेलनले यसलाई परिभाषित गर्नमा सहयोग र्पुयाउने एप्पल इन्कका सिद्धार्थ राझन्सले विश्वास व्यक्त गरेका छन् । साथै यसले सामाजिक उद्यमशीलताको सफलता र असफलता दुवै पक्षबाट मुल्याकंन गर्नमा मद्दत र्पुयाउने राझन्सले बताए । सम्मलेनमा तीन सय भन्दा बढी मानिसहरुको सहभागीता रहने आयोजकले अपेक्षा गरेका छन् ।