गोर्खाज फाइनान्सको व्यवस्थापन स्तरीय तालिम तथा कार्यक्रम सम्पन्न

काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक बर्ष २०७३/७४ को प्रगति समिक्षा तथा चालु आ.व.२०७४/७५ को बजेट प्रक्षेपन सम्बन्धी भेला सम्पन्न गरेको छ । उक्त भेलामा १६ शाखाका प्रमुख,बिभागीय प्रमुख तथा संचालक समितिका सदस्य गरी जम्मा ३७ जनाको उपस्थिती थियो । उक्त कार्यक्रममा विभिन्न शाखा तथा विभागीय प्रमुखहरुले आ-आफ्ना शाखाका योजना बारेमा प्रस्तुतीकरण गरेका थिए भने समग्र बजेटको बारेमा सहायक महाप्रबन्धक प्रेम सागर नापितले प्रस्तुतिकरण गरेका थिए । फाइनान्सको वर्तमान अवस्था तथा भावी रणनीतिको बारेमा प्रमुख कार्यकारी अधिकृत राजकुमार राईले प्रकाश पारेका थिए भने संचालक समितीका अध्यक्ष महेन्द्रलाल राईले ग्राहकहरुलाई केन्द्रमा राखेर अन्तराष्ट्रीय स्तरको सेवा दिन तयार रहन निर्देशन दिएका थिए । साथै,उक्त कार्यक्रममा बि.आई.एम.का प्रमुख बि.एन. घर्ती, पूर्व बैंकर कपिल शर्मा र प्रेरक वक्ता अजय रेग्मीले व्यवसाय विस्तार, नेतृत्व विकाश तथा वास्तविक सफलता जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । फाइनान्सको आर्थिक बर्ष २०७३/७४मा ४ अर्ब ६ करोड रुपैयाँनिक्षेप संकलन गरी ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने चुक्ताँ पुँजी ७६ करोड २५ लाख रुपैयाँ रहेको छ । फाइनान्सको केन्द्रीय कार्यालय काठमाण्डौको चारखाल डिल्लिबजारमा रहेको छ भने देशका विभिन्न भागमा रहेका १६ शाखा तथा ४ एटीएम मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गररिरहेको छ ।  

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको बुधबार स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए । “यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ,” उनले भने, “सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ ।” प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएका थिए। आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए । दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरे। सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे उहाँलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुग्नुभएका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । “अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुपर्यो,” उनले भने । निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । रासस

तीन हस्पिटल र विमानस्थलमा १५ मिनेटसम्मको नि:शुल्क वाइफाइ, एक बर्षभित्र सबै सार्वजनिक स्थानमा पुर्याइने

काठमाडौं । मुलुकभरको सार्वजनिक स्थलमा निशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ । धेरै भिडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उदेश्य अनुरुप टेलिकमले यो थालनी गरेको खबर आजको नागरिकमा छ । टेलिकमले हाल अन्तराष्ट्रिय विमानस्थल, बीर अस्पताल, शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निशुल्क वाइफाइ उपलब्ध गराएको छ । वाइफाइको सुविधा लिन नेपाल टेलिकमकै सिम प्रयोग गर्नुपर्छ । टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको सेवा प्रयोग गरिरहेका उपभोक्तालाई वाइफाईको सुविधा दिएको बताईन । उनका अनुसार टेलिकमको मोवाइल एप डाउनलोड गरी निशुल्कका स्थानमा १५ मिनेट अवधिको निशुल्क हटस्पट वाइफाई प्रयोग गर्न सनिको उल्लेख छ । नागरिक दैनिकबाट ।