द व्रिटिश कलेज र सिस्कोबीच सहकार्य

काठमाडौं, ७ असार । द ब्रिटिस कलेजले सिस्कोसँग मिलेर नेटवर्क स्कील ट्रेनिङ एकेडेमी सञ्चालन गर्ने भएको छ । विश्वभर नेटवर्किङको नेतृत्व लिइरहेको सिस्कोले मानिसहरुलाई सञ्चार मार्फत जोडिरहेको छ । सिस्कोसँगको सहकार्यले द व्रिटिश कलेजमा अध्ययनरत विद्यार्थीको सूचना प्रविधि क्षेत्रका करिअर बनाउन सहयोग गर्ने कलेजले बताएको छ । ‘यो एउटा विश्वव्यापी शैक्षिक कार्यक्रम हो । जसमा नेटवर्क सेक्युरिटी तथा प्रशासन, प्राविधि सहयोग, हेल्थकेयर आइटीः प्रोफेशनल सर्टिफिकेट, इन्जिनियरिङमा उच्च शिक्षा, कम्प्युटर साइन्स तथा अन्य क्षेत्रगत विषयहरु रहेका छन्’, कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कलेजले लगातारको अध्ययन र केही अग्रेजहरुसँगको छलफल पछि सूचना प्रविधि क्षेत्रमा नयाँ कार्यक्रम सुरु गरेको बताएको छ । त्यसैगरी, औद्योगिक क्षेत्रमा हुने गरेको प्राविधिक जनशक्तिलाई ध्यान दिएर पनि यस्तो शैक्षिक कार्यक्रम सुरु गरिएको कलेजले बताएको छ । उक्त एकेडमीले द व्रिटिश कलेजमा ‘सिसिएनए राउटिङ’ र ‘स्वीचिङ’ जस्ता कोर्सहरु अफर गरेको छ । यी कोर्सहरु सिस्को नेट स्पेस, नेटवर्किङ एकेडमीको मातहतमा रहेर प्रदान गरिनेछ । सिस्को तथा ग्लोबल एजुकेटर टिमले अनलाइन कोर्सहरु पनि विकास गरिसकेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न ल्याब, नेटवर्क सिमुलेसन अभ्यास, एसिसमेन्ट जस्ता विशेषताहरु अफर गरिएका छन् । सर्टिफाइड इन्सट्रकटरहरुले विभिन्न तहमा रहेर विद्यार्थीहरुको प्रगति हेर्ने तथा सेवा प्रदान गर्ने काम गर्नेछन् । सिस्को नेटवर्किङ एकेडमीले विश्वभरका १६५ राष्ट्रहरुमा ४० लाख विद्यार्थीहरुलाई सूचना प्रविधि र नेटवर्किङ विषयमा जानकारी प्रदान गरिरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनलाई टोकियोको सहयोग, करिब ११ लाखभन्दा बढी नगद

टोकियो, ७ असार । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार गत वर्षको भूकम्पबाट अतिप्रभावितमध्येको सिन्धुपाल्चोकको गिरान्चौर नमुना बस्ती निर्माणकर्ता फाउन्डेसनको सहयोगार्थ त्रिपुरेश्वरको कृषि विकास बैंकमा रहेको फाउन्डेसनको खातामा पठाइएको संयोजक तण्डुकारले जानकारी गराए । रासस

काबुलमा भएको घटनाप्रति आयोगको दुःख व्यक्त, नेपाली कामदारको सुरक्षामा गम्भीर हुन आग्रह

काठमाडौं, ७ असार । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा परी १४ नेपाली नागरिकको मृत्यु र पाँच घाइते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ । आयोगका सचिव बेदप्रसाद भट्टराईले सोमबार जारी गरेका प्रेस विज्ञप्तिमा वैदेशिक रोजगारीको सिलसिलामा गएका भनिएका ती नागरिकको अवस्थाको बारेमा नेपालका तर्फबाट नियमित र प्रभावकारी अनुगमन हुन नसक्दा तथा सुरक्षाको प्रत्याभूति नभएका देशमा गैरकानूनी तबरबाट उनीहरुलाई पु¥याइँदा जीवनको अधिकार गुम्न गएको देखिएको उल्लेख छ । आयोगले आजै अफगानस्तानस्थित अफगानिस्तान स्वतन्त्र मानव अधिकार आयोगलाई सहयोगको लागि अनुरोधसमेत गरेको छ । अनुरोधमा घटनामा परी मृत्यु भएका व्यक्तिका बारेमा आवश्यक सहयोगसहित जानकारी उपलब्ध गराउन, मृतकको विवरण, शव स–सम्मान परिवारलाई उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, मृतक परिवारलाई पर्याप्त राहत तथा क्षतिपूर्ति दिलाई घाइतेको प्रभावकारी उपचारका लागि आवश्यक पहल गरिदिनका साथै त्यहाँ रहेका नेपाली नागरिकको मानवअधिकार रक्षार्थ आवश्यक सहयोग गर्न पनि आयोगले अनुरोध गरेको छ । सुरक्षाको प्रत्याभूति नभएका कुनै पनि देशमा नेपाली नागरिकलाई आप्रवासी कामदारका रुपमा पठाउने कार्यलाई व्यवस्थित गर्न तथा रोजगारीका लागि गएका नेपाली नागरिकको शान्ति सुरक्षाको प्रत्याभूतिका लागि कूटनीतिक पहलमार्फत तत्काल प्रभावकारी व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । रासस