यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला

बैतडी, १२ साउन । दार्चुलामा एक यार्सा व्यापारीको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन् । प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेला परेको हो । यसअघि मङ्गलबार प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली, रगतले लत्पतिएको अवस्थामा चक्कु, एक तोला यार्सा, सतुवा एक किलोग्राम रु नौ लाख ९९ हजारलगायतका सामग्री फेला पारेको थियो । मङ्गलबार खण्डेश्वरीका स्थानीय कमल रोकायाले दिएको जानकारीका आधारमा प्रहरीले उक्त स्थानबाट सामग्री बरामद भएको बताएको छ । यस्तै मङ्गलबार घटनास्थलबाटै हत्या गरिएका सिप्टी–३ होपरीका जमनसिंह महताको नाममा जारी भएको यार्सा सङ्कलन परिचयपत्रसमेत फेला परेको थियो । परिचयपत्र फेला परेपछि तथा चक्कुमा रगत लत्पतिएको अवस्थामा प्रहरीले महताको हत्या भएको हुनसक्छ भनेर खोजी कार्य गरेको थियो । प्रहरीले महताको खोजबिन गर्दा मङ्गलबार बरामद गरिएको सामग्रीबाट ५०० मिटर तल चमेलिया नदी किनारमा आज हत्या गरिएको अवस्थामा शव भेट्टिएको हो । प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौर नेतृत्वको एक टोली अहिले घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपश्चात मात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक राठौरले बताए । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्दछ । रासस

नारायणीको बाढीले २८ घर डुबानमा, दुई घरमा क्षति

काठमाडौं, १२ साउन । नारायणी नदीमा आएको उच्च बहावसहितको बाढीले पश्चिम चितवनको मङ्गलपुर क्षेत्रका २८ घर डुबानमा परेको छ । यस्तै दुई घरमा क्षति पुगेका छ भने सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ । गएराति विपद् समितिका पदाधिकारीसहित नेपाली सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर उनीहरुलाई उद्धार गरिएको हो । विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलका अनुसार मङ्गलबार राति नारायणी नदीमा बाढीको सतह खतराको तहभन्दा माथि पुगेर १०.३ मिटर भएको थियो । यहाँ ८.४ मिटर बाढीको सतहलाई खतराको सङ्केत मानिन्छ तर अहिले खतराको सङ्केत समेत नाघेर बाढी उच्च भएपछि बनदी वरपरका धेरै ठाउँमा डुबान भएको हो । चितवनका प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पश्चिम चितवनको मङ्गलपुरस्थित शरणपुर र झनझनेको डुबानमा परेका २८ घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै सोही क्षेत्रमा रहेको मदरसामा समेत बाढी पसेपछि ६० जना बालबालिकालाई समेत अन्यत्र सारिएको कुँवरले बताए । मङ्गलपुरकै दुई घरमा बाढीले क्षति पु¥याएको छ । उनका अनुसार भरतपुर बाह्रघरेमा रहेको हाम्रो घरमा समेत बाढी पसेकाले त्यहाँ आश्रित बालकलाई समेत सुरक्षित स्थानमा सारिएको समितिले जनाएको छ । यसैगरी पश्चिम क्षेत्रमा पर्ने गाँजीपुर, भुवन बस्ती, मेघौलीको स्यालबास, लौखुरी, गोलाघाट क्षेत्रमा समेत बाढी पसेको र कटान सुरु भएको विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए। गोलाघाटमा ड्याममा क्षति पु¥याएकाले अस्थायी मर्मत गरिएको छ । बाढी अवलोकनका लागि नारायणीपुलमा मानिसको भीड बढेपछि प्रहरी परिचालन गरेर चितवनको नारायणी पुलमा बसेर हेर्न समेत रोक लगाएको छ । बुधबार बिहान भने बाढीको सतह घढ्दो क्रममा छ । अहिले बाढी घटेर आठ मिटरमा आएको जनाइएको छ । रासस

भूकम्पपीडितलाई राँगो तथा बोका वितरण रोकियो, २३ लाख रुपैयाँको अभाव

भक्तपुर, ११ साउन । भूकम्पपीडित राहत कोष पुनःस्थापना कार्यक्रममार्फत भूकम्पले पशु मरेका पीडितका लागि उन्नत जातको राँगो र बोका वितरण गर्ने कार्यक्रम रोकिएको छ । जिल्ला पशुसेवा कार्यालयमा जेठ २७ गते आएको २३ लाख रुपैयाँ समय अभावका कारण देखाउँदै राँगो, बोका वितरण गर्न नसकेपछि कार्यक्रम नै रोकिएको हो । कार्यालयका पशु चिकित्सक एवम् सूचना अधिकृत उमेशलाल प्रधानले ढिलो गरी बजेट आएको र प्रक्रिया पु¥याएर वितरण गर्न ढिलो भएकाले बजेट आएपनि वितरण गर्न नसकिएको बताए । उनका अनुसार बजेट आएलगत्तै वितरण गर्न सात दिने सूचना सार्वजनिक गरेपनि भूकम्प प्रभावितबाट प्रक्रिया पु¥याएर पर्याप्त मात्रामा निवेदन आउन नसक्दा थप समस्या परेको हो । उन्नत जातको राँगो र बोका किनेर वितरण गर्न तथा त्यसको सम्पूर्ण बिल भर्पाइ कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने भएकाले प्रक्रियाबाट जाँदा आव नै सकिने भएकाले वितरण गर्न नसकेको उनले बताए । भूकम्पमा पशु मरेका, भूकम्प प्रभावितको रातो परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई आवदेन परेअनुसार छनोट गरेर पाँचजनालाई उन्नत जातको पाँचवटा राँगो र १०० जनालाई उन्नत जातको १०० वटा बोका वितरण गर्ने कार्यक्रम आएपनि ढिलो भएका कारण वितरण गर्न नसकेको हो । रासस