नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीईओमा सन्तोष भण्डारी नियुक्त
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनले नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको अनुभव सम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व हुन् । नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।
वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त
काठमाडौं । वैकल्पिक उर्जा विकास समिति सदस्यमा सन्तोष कोइराला नियुक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट समितिको सदस्यमा बैंकर कोइराला नियुक्त भएका हुन् । उनी २ वर्षका लागि विज्ञ सदस्यका रुपमा नियुक्त भएका हुन् । वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका कोइराला माछापुच्छ्रे बैंकका सीईओ समेत हुन् । कोइरालाको रणनीतिक योगदानले राष्ट्रिय महत्वका योजनाहरूमा नयाँ ऊर्जा भर्ने विश्वास लिएको छ ।
उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध निर्वाचित
काठमाडौं । उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । राठी यसअघि संगठनको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए । शनिबार सम्पन्न साधारण सभाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई निर्विरोध चयन गरेको हो । संगठनको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्वितीय उपाध्यक्षमा विपिन कावरा, तृतीय उपाध्यक्षमा सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यका रूपमा सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सौरभ सारडा, दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोष भगत, सृजन प्याकुरेल र उकेश अग्रवाल चयन भएका छन् । नयाँ कार्यसमितिले शनिबार नै महिला प्रतिनिधि किरण व्याससहित प्रतिक राउत र पारस गोल्छालाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।