सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालिदास धौवजीले जानकारी दिए । ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कनलगायतलाई प्राथमिकतामा राखी रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको वृत्तिविकास, सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास गरिएको उनले बताए ।   सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु छन्भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु तेस्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरु नवौँ ब्याचका छ्न् । मुख्यालयले बढुवा हुनका लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो । बढुवा मूल्याङ्कन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।  

एपोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी  निर्वाचित भएका छन् । अध्यक्षका अर्का दाबेदार  दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत निवार्चित भएका हुन् ।  आइतबारदेखि काठमाडौंमा जारी एपोनको वार्षिक साधारणसभाले १३ सदस्यीय समिती गठन गर्ने छ । अध्यक्षमा सर्वसम्मत भएपनि  सदस्यमा पनि सहमतिको प्रयास भइरहेको छ । सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।  

प्रधानमन्त्रीले ईश्वरलाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए । उनका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्किने छन् ।