सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ, बैंकिङ क्षेत्रमा १४ वर्षको अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् । डिजिटल बैंकिङ लाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने २,५०,००० रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् । साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ को पनि सुरुवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउने बैंकले जनाएको छ ।

सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी

काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त भएका छन् । मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बेठकले जिसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी बैंकका कायम मुकायम नायव प्रबन्धक पनि हुन् । ‘यस विकास बैंकको सञ्चालक समितिको मंसिर ३ गते सम्पन्न ४४१औं बैठकको निर्णय बमोजिम बैंकका कामु नायब प्रबन्धक पुष्कर जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको छ,’ नेप्सेको सुचनमा उल्लेख छ ।

नाडेप लघुवित्तको कामु सीईओमा आचार्य

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद आचार्य नियुक्त भएका छन् । कात्तिक ३० गते बसेको संस्था सञ्चालक समितिको बैठकले आचार्यलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभए सम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । उनी हाल संस्थामा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् ।