नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा चयन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शुक्रबारको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । विश्रुत थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ । सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । जेठ १७ बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बिहीबारदेखिनै लागू हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव सुभाष जम्मकटेलले बताए । कम्पनीका अनुुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको हो ।