बाराही हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् ।
प्रभु महालक्ष्मीको निमित्त सीईओमा सन्तोष प्रसाई, माघ १६ गतेदेखि लागू हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । माघ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सीईओ रमेश कुमार भट्टराई स्वीकृत बिदामा बस्ने भएकाले सञ्चालक समितिले निमित्त सीईओमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार सीईओ भट्टराई माघ १६ गतेदेखि माघ २९ गतेसम्म स्वीकृत बिदामा बस्दै छन् । यससँगै प्रसाईले माघ १६ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । साथै, कम्पनीका अनुसार सीईओ भट्टराईले फागुन १ गतेदेखि अवकाश लिँदैछन् ।
गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका रुपमा कार्यरमत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो । यसअघि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । उनको नियसक्तिसँथै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ ।