लोप हुँदै नेपाली मौलिक गहना (फोटो फिचर)

काठमाडौं । समाजमा गहनाको ठूलो महत्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्व धेरै छ । गहना श्रृंगारमात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेरसमूहका आधारमा पनि फरकफरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक-फरक प्रकारका गहना लगाइन्छ । तर, अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहनाहरू लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै पौराणिक गहनाहरू लोपमात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ । महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बाला, ढुंग्री, चाँदजस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन् । जिल्लाका शहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभइ अधिकांस ग्रामिण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन् । महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका गहना लगाउन थालेसँगै पुराना गहना लोप हुँदै गएका छन्। माङ्गलिक र सांस्कृतिक कार्यहरूमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरूप्रतिको अभिरुचीमा कमी हुन थालेसँगै गहना बिस्तारै लोप हुँदैछन् । वाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले परम्परादेखि लगाउँदै आएका गहना लगाउने चाहनामा कमी आई आयातित संस्कृतिले प्रवेश पाएको छ । जसले नेपाली समुदायका गरगहना लोपोन्मुख प्रायः छन् । पहिला आम जीवनमा प्रयोग हुँदै आउने गरगहनाहरू अहिले चाडपर्व विशेष अवसरमा मात्रै प्रयोग हुने गरेको छ । लोप हुँदै गएका गहना विशेष तस्बिरहरू । न्युज एजेन्सी

विद्युतीय ट्याक्सीमा भन्सार छुट हुनुपर्ने माग गर्दै व्यवसायी (फोटो फिचर)

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको विरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्यालीसहितको विरोधसभा आयोजना गरेका हुन् । १० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय ट्याक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले बिरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय ट्याक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएकाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । संघर्ष समितिले विद्युतीय ट्याक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।  

देशभरि सडक बनाउने विभागकै अगाडि धुलाम्य बाटो, अर्बौंको भवन फोहोरिँदै

काठमाडौं । सरकारको प्रशासनिक केन्द सिंहदरबारको बाहिरी परिसरमा ऐतिहासिक मोडेलको एउटा सुन्दर र भव्य संरचना मध्ये पर्छ सडक विभागको भवन । ठूलो क्षेत्रफलमा फैलिएको विभागको विशाल सुन्दर भवन आँफैमा मान्छेलाई चकित पार्ने प्रकारको मोडेलमा बनेको छ । सयौं कोठाहरु भएको यो सुन्दर भवन राणाकालीन समयमा निर्माण भएको हो । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि विभागले सो भवन छाडेर ललितपुर पुल्चोकबाट आफ्नो काम गर्दै आएको थियो । पुनर्निमाणको काम सकिएपछि ०८० भदौबाट विभाग फर्किएर सोही भवनबाट कार्यसञ्चालन गर्दै आएको छ । तर, दुःख लाग्दो विषय के छ भने विभागले मालको मूल्य बुझेन वा बुझ्न चाहेन पुनर्निमाण गरेर सुन्दर बनाइएको भवन धुलाम्य बनाउन शुरु भएको छ । सिंहदरबारको दक्षिणी गेटबाट बबरमहलतर्फ जाँदा र बबरमहलबाट सिंहदरबातर्फ छोटो बाटो प्रयोग गरेर जाने सवारी साधन वा पैदल यात्री जो सुकैले देख्न सक्ने यो चित्रले जोसुकैको मनलाई पक्कै पनि कटक्क बनाउँछ । पुनर्निमाण सम्पन्न भएर सेतो रंगले पोतिएको भवनको मुख्य प्रवेशद्वार देखि पश्चिम तर्फको मोहडा आफ्नै प्राङ्गणबाट उडेको धुलोले मैलो हुँदै गएको छ । प्राङ्गणकै धुलो भित्र छिरेर भवनको भित्री भागका गल्लीहरु पनि धुलोमय भएका छन् । एतिहासिक महत्व बोकेको पुरानो संरचना त्यसमाथि पनि अरबौं खर्च गरेर पुनर्निमाण गरिएको विभागको भवनको सही व्यवस्थापन विभागको नेतृत्वले गर्न नचाहेको देख्दा जो सुकैलाई पनि उदेक लाग्छ । विभागको प्राङ्गण फोहोर हुँदा सुन्दर भवन मात्रै मैलिएको छैन प्राङ्गणको बाटो भएर सिंहदरबार र बबरमहल क्षेत्र वारपार गर्ने पैदल यात्रु र सवारी साधन चालकलाई समेत सास्तीको अवस्था सिर्जना भएको देख्न सकिन्छ । देशैभरी हजारौं किलोमिटर सडक निर्मााणको जिम्मेवारी लिएको विभागले आफ्नै प्राङ्गण अगाडिको १५/२० मिटर क्षेत्रलाई किन ढलान वा प्लस्टर गरेन ? के विभागसँग यसकै लागि पैसा भएन वा नेतृत्वको इच्छा भएन ? के नेतृत्वले आफ्नो निजी सम्पत्तिको अवस्था पनि यस्तै राख्छन् ? विभाग परिसरको अवस्था देख्ने जो सुकैले पनि यो प्रश्न गर्छ । विभागका सहप्रवक्ता तथा सिनियर इन्जिनियर अमितकुमार शर्माले विभाग भवन बनिसकेपछि हतारमा सरेको कारण अगाडिको सडक निर्माणको काम सम्पन्न भइनसकेको बताए । उनले चालु आर्थिक वर्षभित्र विभागको प्राङ्गणको काम सम्पन्न हुनेगरी काठमाडौं सडक डिभिजन कार्यालयको तर्फबाट ठेक्का आह्वान गरेर अगाडि बढेको उनले बताए ।