आइआइएमएस कलेजद्वारा चाँगुनारायणको बागेश्वरीमा वृक्षारोपण (फोटोफिचर)

काठमाडौं । आइआइएमएस कलेजले चाँगुनारायण नगरपालिकाको बागेश्वरीमा वृक्षारोपण कार्य गरेको छ । आइआइएमएस कलेज र चाँगुनारायण नगरपालिका वडा नम्बर ७ को सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्य भएको हो । कलेजले ४५ र वडाले १२ वटा गरी ५७ वटा समी, धुपी लगायत विभिन्न जातका बिरुवा रोपेको कलेजका डाइरेक्टर बृहत वाेश्वा बताए । वृक्षारोपण कार्यक्रममा कलेजबाट १५ जना भन्दा धेरै विद्यार्थीहरु साइक्लिङको माध्यमबाट सहभागी भएका थिए भने शिक्षक र विद्यार्थी गरी झण्डै ५० जनाको सहभागिता समेत रहेको थियो । चाँगुनारायणको सडक हरियाली गर्ने कार्यक्रममा कलेजको वृक्षारोपण कार्यक्रमले सहयोग पुगेको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए । उनले आफ्नो वडालाई हरियाली वडाको रुपमा विकास गर्ने उद्देश्य राखेकोले सो वृक्षारोपण अभियानलाई निरन्तर अगाडि बढाउने उनले बताए । कलेजले पढाइको अलावा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, वातावरण तथा सहयोगको क्षेत्रमा कार्य गर्दै आएको छ । सोही सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नै सो कार्यक्रम गरेको एकेडेमिक डाइरेक्टर विश्वाले बताए ।

वातावरण दिवसको अवसर बीवाइडीद्वारा वृक्षारोपण (फोटोफिचर)

काठमाडौं । बीवाइडीका लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले १५ सय रूखका बिरुवा रोप्ने भएको छ । जस अन्तर्गत आज वातावरण दिवसको अवसर पारेर कम्पनीले २ सय बिरुवा रोपेको छ । साइमेक्स इंक कम्पनीका अनुसार बाँकी १३०० बिरुवा आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ । बीवाइडीले चखण्डो सामुदायिक वनमा सो बिरुवा रोपेको हो । साइमेक्स इंकले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत वृक्षारोपण गरिएको हो । यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ । विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गरेर याेगदान पुर्याउने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ । साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वन क्षेत्रको पुनर्स्थापना गर्ने गरी मिलेर काम गर्न पाउँदा आफूहरू हर्षित भएको कुरा व्यक्त गरिन् ।  ‘दिगो अभ्यास र सामुदायिक संलग्नताको लाभ उठाएर हामी काठमाडौंका जनताका लागि हरियाली र स्वस्थ वातावरण सिर्जना गर्ने लक्ष्य राख्छौं,’ उनले भनिन् । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतो तथा कलाकार हरिवंश आचार्यको पनि वृक्षारोपणमा सहभागिता रहेको थियो ।

बजेटको पर्खाइमा साना व्यवसायी (फोटोफिचर)

काठमाडौं । सरकारले प्रस्तुत गर्ने बजेटले ठूला व्यवसायीलाई मात्रै होइन स–साना व्यवसायीलाई पनि प्रभाव पर्छ । विशेषतः सरकारले सार्वजनिक गर्ने राजश्वका नीतिहरुले साना व्यवसायीलाई पनि प्रभाव पार्छ । व्यवसायीहरुले बिक्री गर्ने वस्तुको मूल्यलाई बजेटले दिशा निर्देश गर्छ । ती व्यवसायीले बिक्री गर्ने वस्तुको करलाई बजेटले तय गर्छ । त्यसैले पनि साना व्यवसायीहरुले बजेटलाई चासो दिने गरेका छन् । हामीले बजेट सार्वजनिक हुनु पूर्व काठमाडौंका विभिन्न ठाउँ पुगेर साना व्यवसायीहरुको तस्वीर लिएका छौं । उनीहरुले आफुहरुले बजेटलाई चासो दिने गरेको बताएका छन् । उसो त पछिल्लो समय अर्थतन्त्र एक किसिमको सकसमा छ । अर्थतन्त्रमा देखिएको सकसले ठूलासँगै साना व्यवसायीलाई पनि समस्या सिर्जना गरिरहेको छ । व्यापार व्यवसाय चलेको छैन । परिणाम स्वरुप व्यवसायीहरु दिनभर हाई काढेर बस्ने गरेका छन् भने मोबाइलमा अनेकन गेम खेल्दै दिन बिताउने गरेका छन् । कुनै बेला व्यवसाय गर्नका लागि सटर पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले जताततै टु लेट लेखिएका सटरहरु भेटिन्छन् । यसले पनि व्यवसायमा समस्या आएको बुझ्न सकिन्छ । किनमेलका लागि दैनिक सयौंको भीड लाग्ने असन, न्यूरोड, बसन्तपूर लगायतका ठाउँहरु अहिले सुनसान देखिन्छन् । व्यवसायीहरुले ग्राहक नआउँदा घरभाडा तिर्न पनि समस्या भइरहेको बताएका छन् ।