टेक्सास् कलेजमा ८ सय विद्यार्थी बिदा भए, ९ सय भित्रिए [फोटोफिचर]

काठमाडौं । टेक्सास् इन्टरनेशनल कलेजले फेरवेल कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र १२ सक्ने विद्यार्थीको लागि फेरवेल अर्थात बिधाई गरेको हो । टेक्सास् नेटवर्कका निर्देशक नारायण पोखरेलले कार्यक्रम कक्षा ११ का करिब ९ सय विद्यार्थीलाई स्वागत गरेको र करिब ८ सय विद्यार्थीलाई बिधाई गरेको बताए । ‘पढाइ कक्षामा मात्रै हैन, बाहिर पनि हुन्छ जसलाई सँगसँगै लिएर जान सकिन्छ र पढाई यसको सहयात्री बनाउन सकिन्छ भन्ने सन्देश दिने उद्देयका साथ कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने ।  

भृकुटीमण्डपमा देखिन थाल्यो नाडा अटो शोको रौनक (फोटोफिचर)

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो मंगलबार अर्थात भदौ २६ गतेबाट सुरु भएको हो । भदौको ३१ गतेसम्म सञ्चालन हुने शोमा विभिन्न कम्पनीहरुका दुईदेखि चार पाँग्रे विद्युतीयदेखि पेट्रोलबाट चल्नेसम्मका साना ठूला गाडी प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता छ । अटो शो लक्षित गर्दै धेरै कम्पनीले नयाँ गाडी लन्च पनि गरेको छन् । अटो शोमा भ्रमण गर्न आउने ग्राहकका लागि अफरको पनि व्यवस्था गरिएको कम्पनीहरु बताउँछन् । अटो शो अगावै केही कम्पनीहरूले शोमा आएर आफ्नो गाडी खरिद वा बुकिङ गरेको खण्डमा विभिन्न अफर सार्वजनिक गरेका थिए । सुस्ताएको नेपाली अटाे बजारलाई चलायमान बनाउन अटो शोले मद्दत पुर्याउने नाडा अध्यक्ष डा. ध्रुव थापाले बताए ।  प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने पनि थापाले बताए । अर्थमन्त्री डा. प्रकाश शरण महतले मंगलबार दिउँसो उक्त अटो शोको उद्घाटन गरेका हुन् । नाडा शोको पहिलो दिनमै सयौं संख्यामा मानिसको उपस्थिति रहेको छ । शोमा बीवाईडी, टाटा, महेन्द्रा, एमजी लगायतका कम्पनीहरूको गाडी पनि देख्न पाइन्छ । नाडाका अनुसार अटो शोमा १२० भन्दा बढी स्टल राखिएको छ । उक्त शो हेर्न आउनेले प्रवेश शुल्क तोकिएको छ । सो अनुसार विद्यार्थीले १५० र अरुले भने २०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो [फाेटाे फिचर]

काठमाडौँ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ । राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिएका छन् ।