यति पैसा तिरेसी त खरर पढ्न सक्ने होला नि बाबु ? (फोटोफिचर)

काठमाडौं । नेपाल कला परिषद् बबर महलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै कार्टुन प्रदर्शनी शुरु भएको हो । रुपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरुलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतीलाई ब्यंग्य गरेका छन् । प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरु राखिएको छ । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरुको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ । साथै कार्टुनमा नेपालका शहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दै, दैनिक ५०० बिरामी अस्पतालमा

बेइजिङ । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् । चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको छ किनकि देशमा यी बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका साथै अन्य गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्नुपर्छ । जिओले भने, ‘आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ । चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । तिनीहरूसँग सबैभन्दा बढी अस्पताल बेडहरू छन् र उनीहरूले व्यापक चिकित्सा सेवा प्रदान गर्छन् ।’

फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं (फोटोफिचर)

टुडिखेलमा राखिएको निर्माण सामाग्री । काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन् । तीनकुनेस्थित ढल मिसिएको वागमती नदि । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ । गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ । जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन् । मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ । सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई भmुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ । फोटो : न्युज एजेन्सी नेपाल ।