सनराइज बैंकको इलाम शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको उद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गरेका छन् । बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरण संगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गते देखि फागुन १७ गते सम्म लकर सेवाको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकका मुलुकभरे ६७ वटा शाखा र ७२ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

४० रोपनीको हनुमान ढोका दरबार क्षेत्र निर्माणमा ७ वटा एजेन्सी, ७३ संरचनाको पुर्ननिर्माण एकैसाथ (फोटो फिचरसहित)

काठमाडौं, १० माघ । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको हनुमानढोका दरबार स्क्वायरमा रहेका सम्पदाहरुको पुर्ननिर्माणमा ७ वटा एजेन्सीहरुले हात हालेका छन् । २०७२ सालको बैशाख १२ गतेको महाभूकम्पले हनुमानढोका दरबार परिसरका ७३ वटा सरंचनामा क्षति पुर्याएको थियो । ती पुरातात्विक महत्वका सम्पदाहरुको निर्माणमा स्वदेशी तथा विदेशी गरि ७ वटा निकायले काम गरिरहेका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समिति, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका संरक्षण कोष, जापानिज फण्ड इन ट्रस्ट, एम्बेसडर्स फण्ड फर कल्चरल प्रिजर्भेशन र चीन सरकार रहेका छन् । चीन सरकार बाहेक अन्य सबै एजेन्सीहरुले काम सुरु गरिसकेको हनुमानढोका दरबार परिसर पुर्ननिर्माणमा खटिएका पुरातत्व विभागका इञ्जिनियर गोपाल झाले बताए । च्यासी देग बंशगोपाल मन्दिरको पुर्ननिर्माण आधा सम्पन्न भैसकेको छ ।  त्यस बाहेक शिव मन्दिरमा रेट्रो फिटिङको कार्य सम्पन्न भैसकेको छ । कागेश्वरी मन्दिरको पुर्ननिर्माण कार्य धमाधम अघि बढिरहेको छ । जगन्नाथ र गोपीनाथको मन्दिर युनेस्कोले बनाउने तयारी गरिरहेको छ । मसान चौकको नाटेश्वर मन्दिरको पुर्ननिर्माण २८ लाख खर्चेर सम्पन्न भैसकेको छ । काष्ठमण्डप र माजुदेगः मन्दिर काठमाडौं महानगरपालिकाले बनाउँदैछ । गद्धी बैठक निर्माणको जिम्मा अमेरिकन एम्बेसडर्स फण्ड इन कल्चरल प्रिजर्भेशनले लिएको छ । नौ तले दरबारको निर्माण चीन सरकारले गरिदिने भनेर अध्ययन सम्पन्न गरिसकेको छ । त्यस्तै, पुरतत्व विभागले २५ लाख रुपैंयाँ खर्चेर श्वेत भैरवको मन्दिर पुर्ननिर्माण गरिरहेको छ ।(फोटो-अलिना ताम्राकार, पुरातत्व विभाग)

ओखलढुङ्गामा हेलिकप्टरबाट पैसा लगि बाँढियो, ७०० परिवारले ३ करोड ५० लाख रूपैयाँ पाए

ओखलढुङ्गा, ८ माघ । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाउँदा हर्षित भएका छन् । गाम्नाङ्गटार र टार केरावारीका झण्डै सात सय घरपरिवारलाई करिव तीन करोड ५० लाख रुपैया गाउँमै लगेर वितरण गरिएपछि गाउँले हर्षित भएका हुन् । पहिलो किस्ता वापत प्रतिपरिवारले ५० हजार रुपैया पाउँछन् । सदरमुकाम देखि सो स्थल करिव दुई दिनको पैदल दुरीमा पर्दछ । स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्र लगायतका एकिकृत घुम्ती शिविर सेवा उक्त स्थानमा सञ्चालन गरेको छ । सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कवोल राईले श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि गाम्नाङ्गटारमा आज आयोजित कार्यक्रममा सरस्वती वस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ता वापतको अनुदान रकम प्रदान गरेका थिए । यस्तै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनीक सेवाको शुरुवात गरे । “अहिलेसम्म टहरामै ऋण काँढेर कष्टले वसेका छौ, अव पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौ,” टारकेरावारीका ६२ वर्षिय यज्ञबहादुर अछामीले भने । जिल्लाका ५० मध्ये पकली, टार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन “दुर्गम वस्तीका भूकम्पपीडित परिवारलाई आवास निर्माणको लागि  पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँवस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो,” सांसद खतिवडाले भने । सांसद खतिवडाले आफ्नो पहलमा हेलिकप्टरबाट सो स्थलमा आवतजावतको प्रवन्ध मिलाएका थिए । सांसद यज्ञराज सुनवारले सरकारले ढिलो भएपनि अनुदान रकम उपलब्ध गराउनु सह्रानीय काम भएको बताए  । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८ सय प्रभावित परिवार मध्ये अधिकांशसँग अनुदान सम्झौता भएको भएपनि जम्मा सात सय ६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले अनुदान रकमसँगै स्थानीय प्रशासनले दिने कृषि, स्वास्थ्य, नागरिकता, राहदानी, ज्येष्ठ नागरिक परिचय पत्र सहितको सेवा एकैचोटि गाउँघरमै उपलब्ध गराइएकोले दुर्गम वस्तीका नागरिकले यसबाट लाभ लिन पाएको उनले बताए  । स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्रीले दोस्रो किस्ताको रकम पनि छिटो उपलब्ध गराएर सरकारी र सार्वजनिक भौतिक पुर्वाधार निर्माणको कामलाई तिव्रता दिन विशेषत पुननिर्माण प्राधिकरणले तदारुकता देखाउनुपर्ने बताए  ।