नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म, बिरगञ्ज-रसुवागढी रेल वे भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्ग
काठमाडौं, २९ मंसिर । यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ । नेपालले पूर्व काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म निर्माण गर्ने ९४५ किलोमिटर लामो रेल मार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग तथा काठमाडौं हुँदै बिरगञ्ज जोडिने रेल मार्गको परिकल्पनाले सिंगो संसारसँग नेपालको रेल वे सञ्जाल जाेड्ने छ । काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल वेले नेपालाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । अर्कातिर नेपालले बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनको प्रारम्भिक सम्भाव्यता अध्ययनको तयारी गरिरहेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ । यसरी दुई तिरबाट युरोपसम्म जोडिने रेल सञ्जालले नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा स्थापित गराउन सक्नेछ । नेपालमा औद्योगीकरण, पर्यटन प्रवद्र्धनका साथै कृषिमा आधुनिकीकरणको सम्भावनालाई पनि बढाउँछ । बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हर्ने गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । ‘बिरगञ्जबाट काठमाडौं हुँदै चीन भएर रसिया पुग्ने रेल लाइनले भारत र रसियालाई जोड्छ जसले नेपालमा लगानीको सम्भावनालाई पनि बढाउँछ’, उपाध्यायले भने । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने । ९ हजार २ सय ८९ किलोमिटर लामो ट्रान्स एसियन रेल वे लाइनले पनि नेपाललाई विकासको मार्गमा संसारसँगै कुदाउने उप महानिर्देशक उपाध्याय बताउँछन् । पानी जहाजबाट समान ढुवानी गर्दा दुई महिना लाग्ने दुरी रेल मार्गबाट एक हप्तामै पार गर्न सकिने उनले दावी गरे । उनका अनुसार नेपालले निर्माण सुरु गरेको पुर्व पश्चिम रेल वेको क्षमता प्रति घण्टा २०० किलोमिटरको हुनेछ । ‘हामीले सिंगल लेनको रेल वे निर्माण गरिरहेका छौं, त्यसमा प्रति घण्टा २०० किलोमिटर स्पिड कायम हुन्छ, जुन अन्तराष्ट्रिय स्तरकै हो’, उपाध्यायले भने । विभागले हाल बर्दिबास–बुटवल खण्डको २०० किलोमिटरमध्ये बर्दिबास–सिमराको १०८ किलोमिटर क्षेत्रमा २५ किलोमिटरको काम अघि बढाएको छ । सो रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर औसत लागत ४५ करोड लाग्ने प्रक्षेपण अनुसार काम भैरहेको छ ।
विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि खुला, निर्माण लागत करिब १२ अर्ब अमेरिकी डलर
स्वीट्जरल्यान्ड, २७ मंसिर । विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस/एएफपी
हुण्डाईको नयाँ थ्री एस सेन्टर नेपालगञ्जमा, प्राविधिक सहितको स्टेट-अप-आर्ट सुविधा
काठमाडौं, २७ मंसिर । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज स्थित नयाँ थ्री एस सेन्टर उद्घाटन गरेको छ । कम्पनीले आफ्नो डिलर हिम अटो डिस्ट्रिब्युटरको संयोजकतोमा एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित सो स्थानमा नयाँ सेन्टर खोलेको हो । नेपालगञ्ज र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ । थ्री एस सेन्टरको उद्घाटन श्रेष्ठ परिवारका सदस्य, हिमप्रसाद श्रेष्ठ तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.लि. का कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । नेपालगञ्जको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरमा ५ वटा सम्म गाडिको सोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यस उत्कृष्ट सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।