जो जनताले दिएको जिम्मेवारी छोडेर संघीय निर्वाचनमा होमिए

काठमाडौं । स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर ‘जनताकै सेवा गर्छु’ भनेर जिम्मेवारी लिएका जनप्रतिनिधिहरू आफ्नो कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । ५ वर्ष कार्यकालको जिम्मेवारी पाएका जनप्रतिनिधिले कार्यकाल समाप्त हुनुअघि नै राजीनामा दिएपछि स्थानीय शासनको स्थायित्व, विकासप्रति प्रश्न खडा भएको छ ।  प्रतिनिधिसभा निर्वाचनको लागि राजीनामा दिएसँगै केही पालिकाहरूमा प्रमुख पद रिक्त भएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा लडेका छन् । महानगरका निवर्तमान प्रमुख शाहले झापा–५ बाट मनोनयन दर्ता गरेका छन् । झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको इपिसेन्टरको रूपमा लिइन्छ । चितवन महानगरको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी र जनताको विश्वास जित्न सफल मेयर रेणु दाहालले पदबाट राजीनामा दिएर चितवन ३ बाट उठेकी छिन् । उनको प्रतिस्पर्धीको रूपमा चितवन ३ बाटै रास्वपाबाट सोविता गौतमले मनोनयन दर्ता गरेकी छिन् । त्यस्तै, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नै पार्टी श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उमेदवार मनोनयन दर्ता गराएका छन् । धरानबासीलाई पानी खुवाएर छाड्छु भनेर प्रतिबद्धतासहित मेयरमा उठेका साम्पाङले कार्यकल अवधिभरि त्यही काममै निरन्तर लागिरहे । यद्यपि उनी विवादरहित हुन सकेनन् । समयमै बजेटसमेत ल्याउन सकेनन् । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि राजीनामा दिएर बाँके २ बाट चुनावमा लड्दैछन् । उनले जनता समाजवादी पार्टी नेपाल (जसपा)  बाट मनोनयन दर्ता गराएका छन् ।  धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले पदबाट राजीनामा दिएर नेकपा एमालेबाट काभ्रे–२ बाट लड्दैछन् । यस क्षेत्रमा यसअघि २०७४ र २०७९ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा उम्मेदवार रहेका थिए ।  कैलालीको टिकापुर नगरपालिका प्रमुखविहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पदबाट राजीनामा दिएका हुन् । उनले २०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेका हुन् । इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नेकपाबाट इलाम क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका छन् । स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयर जितेका राई पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए ।  यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राईले एमालेका काजीमान कागतेसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि राई र कागतेबीच नै प्रतिस्पर्धा भएको थियो । मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवालले पदबाट राजीनामा दिएर चुनावमा उठेका छन् । उनले एमालेको तर्फबाट मोरङ २ बाट उम्मेदवारी दिएका छन् । दुई कार्यकालसम्म रंगेली नगरपालिकाको मेयर रहेका अग्रवाल हालै सम्पन्न एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएपछि लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी एमाले केन्द्रीय सदस्य अस्मिता थापाले ओखलढुंगाबाट चुनावमा उठ्दैछिन् । उनी हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत निर्वाचित भएकी थिइन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई नेकपा एमालेले स्याङ्जा–२ बाट निर्वाचनमा उठाएको छ । स्याङ्जा–२ मा दुईपटक पालिका जितेका थापालाई उम्मेदवार बनाएसँगै पालिका अध्यक्षविहीन भएको छ । उनी २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । थापाले गत निर्वाचनमा स्थानीय तहको अध्यक्ष पदमा ६७ सय मत ल्याएर निर्वाचित भएका थिए ।

चुनावमा होमिए व्यवसायी पनि, को कुन ठाउँबाट लड्दैछन् ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका नेताहरूसँगै देशका कहलिएका ठूला व्यावसायिक घराना र उद्यमीहरूको सहभागिता देखिएको छ ।  नेपालका एक मात्र डलर अर्बपति तथा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट पुनः उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका चौधरी यसपटक पनि आफ्नो विरासत जोगाउने दाउमा छन् ।  त्यस्तै, मेडिकल क्षेत्रका चर्चित व्यवसायी डा. सुनिलकुमार शर्माले मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसकै उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । यसैगरी, यसपटक स्याङ्जा क्षेत्र नम्बर १ मा भने रोचक भीडन्त हुने देखिएको छ । यहाँ मुख्य तीन दलले नै व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई मैदानमा उतारेका छन् ।  नेपाली कांग्रेसबाट मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकालले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङले मनोनयन दर्ता गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्यटन बोर्डका पूर्वसीईओ तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले मनोनयन दर्ता गरेका छन् ।  रास्वपाले पनि व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिएको छ । बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की भण्डारी सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी छिन् भने काठमाडौं क्षेत्र नम्बर ९ बाट मेनपावर व्यवसायी डीपी अर्याल चुनावी मैदानमा छन् । अर्यालको सहकारीदेखि ट्राभल्स र स्कुलसम्म लगानी छ ।  यस्तै, सबैभन्दा रोचक त काठमाडौं क्षेत्र नम्बर १ मा देखिएको छ, जहाँ राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर युवाहरूको ध्यान खिचेका छन् । उनीसँग रास्वपाबाट रञ्जु दर्शना, नेपाली कांग्रेसबाट प्रबल थापा र नेकपा एमालेबाट विनोद श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।  गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले पर्यटन तथा घरजग्गा व्यवसायी प्रेम खत्री (पिके भेन्चर्सका प्रबन्ध निर्देशक) लाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा यसअघि प्रमेश खत्रीको नाम चर्चामा रहे पनि कांग्रेसले खत्रीलाई टिकट दिएर व्यावसायिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तै, सिरहा क्षेत्र नम्बर ४ मा जनमत पार्टीबाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रकुमार महतो उम्मेदवार बनेका छन् । नवलपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा चुनावी मैदानमा छन् ।  रुपन्देही क्षेत्र नम्बर २ मा यशोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्मा नेपाली कांग्रेसबाट मैदानमा छन् । कपिलवस्तु ३ मा लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन् ।  यस्तै, धादिङका दुवै क्षेत्रमा कांग्रेसले पर्यटन व्यवसायीलाई उठाएको छ । धादिङ क्षेत्र नम्बर २ बाट टानका पूर्वअध्यक्ष रमेश धमला र क्षेत्र नम्बर १ बाट कृष्ण रिजाल चुनावी मैदानमा छन् । रसुवामा चर्चित निर्माण व्यवसायी मोहन आचार्यले कांग्रेसबाट पुनः उम्मेदवारी दिएका छन् भने मनाङमा एमालेले पर्यटन व्यवसायी पोल्देन छोपाङलाई अघि सारेको छ । त्यस्तै, भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाले उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ भने सोलुखुम्बुमा कांग्रेसले एफएनसीसीआईका पूर्वसदस्य प्रकाशसिंह कार्कीलाई टिकट दिएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ बाट दीपक गिरीलाई उम्मेदवार बनाएको छ । व्यवसायी पृष्ठभूमिका गिरी निवर्तमान सांसदसमेत हुन् । सोलुखुम्बुबाट कांग्रेसको टिकट पाएका प्रकाशसिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।  कार्कीको कार्गो, कुरियरलगायतका व्यवसाय सञ्चालनमा छन् । पर्सा क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बनेका अनिल रुङ्गटा सेयर बजारका चर्चित व्यवसायी हुन् । विभिन्न इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनीमा लगानी गरेका उनी बेलाबेलामा विवादमा समेत आउने गरेका छन् । मनाङमा कांग्रेसले व्यवसायी उम्मेदवारलाई प्राथमिकता दिएको देखिन्छ । यहाँबाट टेकबहादुर गुरुङ र युवा पर्यटन व्यवसायी योगेश गौचन थकाली कांग्रेसका उम्मेदवार हुन् । थकाली निवर्तमान सांसदसमेत हुन् । बाराको क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार बनेका कृष्णकुमार (किसान) श्रेष्ठको सिमरामा होटल, अपार्टमेन्ट, निर्माण सामग्री उद्योगसँगै विभिन्न व्यवसाय सञ्चालनमा छन् । उनले सौर्य ऊर्जा, जलविद्युत तथा वैदेशिक रोजगार क्षेत्रमा समेत लगानी गरेका छन् । झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका लालप्रसाद लिम्बु साँवा (एलपी साँवा) ऊर्जा, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनी तथा वैदेशिक रोजगार व्यवसायसँग जोडिएका छन् । काभ्रे क्षेत्र नम्बर १ बाट उम्मेदवार अमित लामा झम्सिखेलस्थित पार्टी प्यालेस, दरबारमार्गको क्लब प्लाटिनम (नाइट क्लब) र कमलपोखरीको गजल रेस्टुरेन्टका सञ्चालक हुन् । बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार हिराबहादुर केसी ऊर्जा व्यवसायी हुन् । उनको दरमखोला जलविद्युत आयोजनामा लगानी छ । सुनसरी ३ बाट एमाले उम्मेदवार भगवती चौधरी लघुवित्त संस्थाकी लगानीकर्ता तथा पूर्वा कम्युनिटी लघुवित्तकी पूर्व अध्यक्ष हुन् । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् । उनी सहकारी सञ्चालनसँगै मनमोहन मेमोरियल अस्पतालमा समेत लगानीकर्ता हुन् । भुक्तानी सेवा प्रदायक खल्तीका सह-संस्थापक अरविन्द साहले बारा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका सुमन सायमी पार्टी प्यालेस र होटल व्यवसायमा संलग्न छन् । कालीमाटीस्थित ‘स्वीटकेभ’ होटल उनको स्वामित्वमा छ ।

रास्वपाले मनोनयन दर्ता गर्न पुगेका उम्मेदवारको टिकट खोस्यो, कैलाली-४ मा खेमराज बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली–४ मा खेमराज कोइरालालाई टिकट दिएको छ । यसअघि हरि रेग्मीलाई दिएको टिकट खोसेर रास्वपाले कोइरालालाई दिने निर्णय गरेको हो ।  मंगलबार रेग्मी मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगिसकेका थिए । तर, एकाएक रास्वपाले कोइरालालाई टिकट पठाउँदै मनोनयन दर्ता गर्न निर्देशन दिएको हो ।  रास्वपाले जिल्ला निर्वाचन कार्यालय कैलालीलाई लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा जारी गरिएको उम्मेदवारको नाम परिवर्तन गर्नुपर्ने आन्तरिक निर्णय भएको हुँदा निज उम्मेदवार हरि रेग्मीको नाम खारेज गरी खेमराज कोइरालालाई राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवार कायम गरिदिन हुन अनुरोध गर्दछु ।’