‘मारुनी’ अब डिशहोमको सिनेमाघरमै, यसरी हेर्न सकिन्छ
काठमाडौं । चलचित्र ‘मारुनी’ अब डिशहोमको सिनेमाघर बाटै हेर्न पाइने भएको छ । कम्पनीका अनुसार वैशाख ३१ गतेबाट डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा उक्त चलचित्र हेर्न पाइने छ । पुनम गौतमले निर्माण गरेकी यो चलचित्र हरेक दिन १० शो हेर्न पाइने कम्पनीले जनाएको छ । उक्त शो हेर्नको लागि वा चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गर्नुपर्ने छ । त्यसपछि, ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाको आवेदन, को कसले दिए ?
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि गत मंगलबारसम्मका लागि अन्तिम समय तोकेको थियो । उक्त समय भित्रमा अध्यक्ष पदका लागि अभिनेता भुवन केसी, राजेश थापा, अर्जुनकुमार डंगोल, दयाराम दाहाल, ध्यानबहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती, भगवती कुमारी मैनाली र दिपक श्रेष्ठले आवेदन दर्ता गराएका छन् । व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने मन्त्रालयले उक्त सूचनामा प्रकाशित गरे । तर विगतमा भने राजनीतिक चलखेलमा नियुक्ति हुने गरेका छन् । आवेदन दिने निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा छन् । त्यस्तै दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । अहिले नै अध्यक्ष को बन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन । गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि उक्त पदले खाली रहेको छ ।
सिनेमा हल बन्द हुँदा ‘कोपिला’ फिल्म डिशहोमबाट रिलिज
काठमाडौं । कोरोना भाइरसको कारण देशभरी लकडाउन भई सिनेमा हल बन्द हुँदा चलचित्र ‘कोपिला’ डिशहोमबाटै रिलिज हुने भएको छ । लगातारको बन्दका कारण यस फिल्मका निर्माता मणिराज गौतमले डिशहोमबाटै फिल्म रिलिज गर्न लागेको बताएका छन् । उनका अनुसार यो चलचित्र अब डिसहोमको पे च्यानलमार्फत रिलिज गरिने र दर्शकहरूले डिसहोम च्यानल नम्बर १०८ मार्फत पैसा तिरेर हेर्न पाउने जानकारी दिएका छन् । आज (वैशाख ३० गते)बाट दैनिक आठ सोको दरले डिसहोमबाट फिल्म रिलिज हुनेछ । निर्माता गौतमले भने, ‘हलमा सिनेमा रिलिज गर्न सकेनौं र हल कहिले खुल्ने टुंगो पनि भएन,त्यसैले लकडाउनको बेला आफ्नो समयअनुसार सिनेमा टेलिभिजनमा हेर्न पाउनुहुनेछ ।’ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौंडामा विशेष सोमार्फत आएको रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोगसमेत गरिएको चलचित्रका निर्माता गौतमले बताए । चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मला पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले जानकारी गराए । चलचित्रका निर्देशक शिवम अधिकारी हुन् । उनले पनि कोरोना भाइरस त्रासदीका कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाइ हुने भएकाले लकडाउनमा बसेका दर्शकहरूको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत चलचित्र प्रर्दशन गर्न लागेको बताए । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए । दीपक शर्माको संगीत, निर्देशक अधिकारीको लेखन, रामेश्वर कार्कीको छायांकन र समीर मियाको सम्पादन छ । गणेश गिरीको प्रस्तुति रहेको कोपिलाको कार्यकारी निर्मातामा सुवास काफ्ले, निर्मातामा समीर मिया र रामेश्वर कार्की छन् । यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय छ ।