नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । शितलनिवासमा आइतबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले शपथ लिएका हुन् । डा. सुधा गौतम र बब्लु गुप्ताले मन्त्रीको शपथ लिएका हुन् । डा. गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान मन्त्रीमण्डल विस्तारको लागि मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।  मन्त्रीमण्डलमा चार जनाको नाम सिफारिस भएपनि विवादका कारण दुई जनाको मात्रै आइतबार शपथ भएको हो । प्रधानमन्त्री कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेकी थिइन् । उनीहरुको भने शपथ रोकिएको हो । यसअघि प्रधानमन्त्री कार्कीले ७ जना मन्त्री नियुक्त गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री कार्की, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, नेपाल सरकारका मन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको छ । 

कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले लिए सपथ

काठमाडौं । कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गत शुक्रबार सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाबाट आचार्य सञ्चालकमा निर्वाचित भएका थिए । त्यसपछिको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ लिनुपर्ने व्यवस्था अनुसार आचार्यले औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना, साथै कामना सेवा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिती रहेको थियो । उक्त साधारणसभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भीम प्रसाद तुलाचन, चतुराखर अधिकारी, र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्षमा कृष्णकुमारी पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय महिला आयोगको कार्यवाहक अध्यक्षमा आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियक्त भएकी छन् । आयोगकी अध्यक्ष कमला कुमारी पराजुली असोज ५ गतेदेखि अनुपस्थित रहँदै आएकी कारण पाैडेल कार्यवाहक अध्यक्ष बनेकी हुन् । महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० बमोजिम वरिष्ठतम सदस्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था अनुसार पौडेलले पदभार ग्रहण गरेकी हुन् । अध्यक्ष विदेश भ्रमणमा जाँदा, सात दिनभन्दा बढी समयसम्म बिदामा बस्दा वा कुनै कारणवश कार्य सम्पादन गर्न नसक्ने अवस्थामा कार्यवाहक अध्यक्षले जिम्मेवारी निर्वाह गर्ने कानुनी प्रावधान छ । सोही व्यवस्थाअनुसार अध्यक्ष पराजुली आयोगमा उपस्थित नहुँदासम्म पौडेलले आयोगको नेतृत्व गर्नेछिन् ।