नेपाल एसबिआई बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले लिए शपथ
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बसेको बैठकले स्टेट बैंक अफ इण्डियाको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक वेंकट वंसीधर कुंचालाई सर्वसम्मतिले बैंकको नयाँ सञ्चालक समिति अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आइतबार केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए । अध्यक्ष कुंचा हाल भारतको मुम्बईस्थित स्टेट बैंक अफ इण्डिया (एसबीआई) को प्रधान कार्यालयअन्तर्गत अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् । उनले एसबीआईको २९ देशमा फैलिएको अन्तर्राष्ट्रिय व्यवसाय तथा कूटनीतिक वित्तीय सम्बन्धहरू सम्हाल्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, कार्यवाहक कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरू राजेन्द्र भट्टराई, ईश्वरी प्रसाद भट्टराई तथा शरणकुमार अधिकारी उपस्थित थिए । त्यसैगरी, नेपाल एसबिआई बैंकतर्फबाट सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती, डा. गोपाल प्रसाद भट्ट, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति रहेको थियो ।
नेपाल पुनर्बीमाको सञ्चालकमा अर्थमन्त्रालयका उपसचिव निरौला नियुक्त
काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन् । कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी निरौला सञ्चालक पदमा नियुक्त भएका हुन् । उनलाई अर्थमन्त्रालयको असोज २५ गतेको निर्णयअनुसार नेपाल रिको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हिमालयन लाइफ इन्स्योरेन्सको सीईओमा कपिलकुमार दाहाल, को हुन् उनी ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको ईश्वर कुमार सेडाईले जानकारी दिए । उनका अनुसार यसअघि दहाल निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई सीईओको जिम्मेवारी दिएको हो । नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । ४७ वर्षिय दाहाल चार्टर्ड एकाउण्टेन्ट (सीए) समेत हुन् । दाहालले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआईबाट आफ्नो सीए गरेका हुन् । सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका-४ का बासिन्दा दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ । उनले बीमा, कर, सूचना व्यवस्थापन प्रणाली, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न तालिमहरू लिएका छन् ।